विवाहित हुँदाहुँदै आफूसँग सम्बन्ध राखेको थाहा पाएपछि पार्वतीको हत्या
माघ ९, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय मोहन पुनले झन्डै दुई महिनादेखि आफूसँगै बस्दै आएकी २८ वर्षीया सीमा कवर भनिने पार्वती कवरलाई विवाहित भएको थाहा पाएपछि हत्या गरेको खुलेको छ ।
विवाहित हुँदाहुँदै आफूसँग सम्बन्ध राखेको भन्ने थाहा पाएपछि उनले कुटीकुटी हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । झारफुक गराउन जान्छु भन्दै घरबाट निस्किएकी पार्वती गत मंसिर १० गते यता मोहनसँग गुपचुप बस्दै आएकी थिइन् ।
उनको मोहनकै घरमा हत्या भएको थियो । घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक रमेश पौडेलका अनुसार उनका श्रीमान् कामको सिलसिलामा पोखरामा छन् ।
उनले श्रीमानलाई झारफुक गर्न जाने बताएकी थिइन् । निःसन्तान भएकाले केही उपाय लाग्छ कि भनेर श्रीमानले पनि पत्याएका थिए ।
पार्वतीको घर शारदा नगरपालिका वडा नम्बर १२ मा पर्ने प्रहरीले जानकारी दिएको छ ।
‘श्रीमानसँग पैसा मागेर झारफुक गराउन माइती जान्छु र झारफुक गराइ ठीक भएपछि मात्रै घर फर्किन्छु भनेर सल्लाहमा गएको खुलेको छ । उनी गुपचुप मोहनसँग बस्दै आएकी रहिछन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।
पार्वतीको माइती गाउँ त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा पर्छ ।
उनीहरू निसन्तान रहेको बुझिएको छ । सन्तान नभएकाले झारफुक तथा उपचार गर्न माइत जान्छु भनेर घरबाट निस्किएकी पार्वती मोहनसँग बस्ने रहिछन् । उनीहरूबीच अनैतिक सम्बन्ध रहेको खुलेको छ,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘मोहनलाई पार्वती अर्कैकी श्रीमती हुन् भन्ने थाहा रहेनछ । त्यही खुलेपछि हत्या भएको देखिन आउँछ, यसबारे विस्तृत अनुसन्धान जारी छ ।’
एक्लै रहेका बेला सीमाले पोखरामा रहेका श्रीमानलाई फोन गरेर आफू माइतीमा झारफुक र उपचार गराइरहेको बताउने गरेको प्रहरीको भनाइ छ ।
गत माघ ७ गते त्यसैगरी पार्वतीले फोन गरिरहँदा मोहनले उनी विवाहित रहेको थाहा पाए । मोहनले सोधीखोजी गर्ने क्रममा पार्वतीको श्रीमान् रहेको पत्ता लागेको अनुसन्धानबाट खुलेको छ । आवेशमा आएका मोहनले कुटीकुटी पार्वतीको हत्या गरेको प्रहरी बताउँछ ।
‘माघ ७ गते बिहान १० बजेतिर पोखरामा रहेका पार्वतीका श्रीमानले उनलाई मोबाइलमा फोन गर्छन् । त्यतिबेला मोहन आफैंले फोन उठाउँछन् । त्यतिबेला पार्वती विवाहित रहेको खुलेको हो,’ पौडेलले भने ।
माघ ७ गते मोहन र पार्वतीका श्रीमानबीच फोनमै विवाद भएको र आवेशमा आएर पार्वतीको हत्या गरेको अनुसन्धानबाट देखिएको उनले बताए ।
मोहन र पार्वती मात्रै घरमा बस्दै आएका थिए । मोहनका बुवा-आमा चार किलोमिटर जति टाढा बस्दै आएको पनि उनले बताए । ‘रिसले आगो भएका मोहनले मलाई किन ढाँटिस् भन्दै सुरूमा हातमा प्रहार गरेको देखिन्छ। त्यसपछि उनले घुँडामुनि प्रहार गरेका रहेछन् । अन्तिममा टाउकामा प्रहार गरेर हत्या गरेको खुल्न आउँछ,’ पौडेलले भने ।
पार्वतीलाई अचेत बनाएपछि पनि उनले कुटपिट गरेको बयान दिएका छन् । ‘पार्वती चल्न चटपटाउन छाडेपछि मोहनले मदिरा सेवन गरेर आएको र त्यसपछि घरभित्र लगेर पनि कुटपिट गरेको देखिन्छ,’ पौडेलले बताए ।
त्यसरी लगातारको कुटपिटबाट बेलुकी ५ बजेतिर पार्वतीको मृत्यु भएको बयान मोहनले प्रहरी समक्ष दिएको लुहामका प्रहरी निरीक्षक रेशम पौडेलले बताए । पार्वतीको हत्या गरिसकेपछि मोहनले गाउँमा पैसा सापटी मागेर भाग्ने तयारी गरेका थिए ।
पार्वतीको मृत्यु भइसकेको यकिन भइसकेपछि मोहन गाउँमा थप मदिरा सेवन गर्न गएको र फर्किएर घरको तल्लो कोठामै सुतेको प्रहरी निरीक्षक पौडेलले बताए । घरमा ताला लागेको र सुनसान देखेपछि स्थानीयले वडाध्यक्षलाई खबर गरेका थिए ।
वडाध्यक्षले प्रहरीलाई खबर गरेकोर घरको ताल्चा फुटाएर हेर्दा पार्वतीलाई मृत अवस्थामा भेटिएकी थिइन्। हत्यापछि फरार रहेका मोहन घर नजिकैको जंगलमा लुकिरहेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पार्वतीले पहिले पनि अन्यत्र बिहे गरेको खुलेको छ। त्यो घरजम बिग्रिएपछि उनले अहिलेका श्रीमानसँग विवाह गरेकी थिइन्। मोहनको पनि विगतमा अन्य महिलासँग सम्बन्ध रहेको खुलेको प्रहरीको दाबी छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
यो पनि पढ्नुहोस ।
लेखकको सम्वन्धमा