विपदमा राज्य निजिक्षेत्र र समुदायबीच जोखिम बाँडफाँटको संस्कृति आवश्यक

विपदमा राज्य निजिक्षेत्र र समुदायबीच जोखिम बाँडफाँटको संस्कृति आवश्यक

मङ्सिर /८

रसुवाको बाढी एउटा प्राकृतिक विपद्को कथा मात्रै होइन, जलवायु परिवर्तनको निर्मम चेतावनी,र राज्यको तयारी माथिको प्रश्न र अन्तर्राष्ट्रिय जलवायु न्यायको बेवास्ताको हिसाब पनि हो।

हिमालमा खसेको चट्टानसँगै बगेका घर, पुल, सडक र मानवीय जीवनले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेका छन्– विपद्पछि उद्धार गर्ने राज्यले विपद्अघि नागरिकको जीवन जोगाउन किन सकेन ?

२०८३ भदौ १० गते बिहान रसुवाको हिमाली आकाशमुनि एउटा यस्तो विपद् जन्मियो, जसको कम्पन केही मिनेटमै पहाडबाट नदी हुँदै बस्ती र सभ्यतासम्म फैलियो।

लाङटाङ लिरुङ क्षेत्रको चट्टान र बरफ खस्यो त्यसले सिर्जना गरेको गेग्रानसहितको बाढी ल्हेन्दे खोलाबाट भोटेकोशी हुँदै त्रिशूली र नारायणीको बहावमा मिसियो पानीसँगै ढुङ्गा, माटो, हिउँ र हिमालको एउटा ठूलो हिस्सा बग्दै गयो।
किनारका बस्ती, सडक, पुल, व्यापारिक संरचना र मानिसका सपनाहरू पनि त्यसैसँग बगे।
यो सामान्य बाढी थिएन नदीमा पानीको सतह बढेर आएको विपद् मात्रै थिएन,यो हिमालको गर्भमा लामो समयदेखि सञ्चित अस्थिरताको विस्फोट थियो,विचलनको आँधी थियो।

केही मिनेटमा मानिसले जीवनभर कमाएको सम्पत्ति गुमाए कतिपयले परिवार गुमाए कतिपय परिवारका नाममा अब सम्झना मात्रै बाँकी छन्।
सरकारी तथा अन्तर्राष्ट्रिय निकायका विभिन्न मितिका विवरणअनुसार यस विपद्मा एक हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको र पाँच हजारभन्दा बढी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ।

हजारौँ परिवार विस्थापित भए, सडक, पुल, विद्यालय, जलविद्युत् आयोजना र व्यापारिक संरचनामा ठूलो क्षति पुग्यो। प्रारम्भिक मूल्याङ्कनले पुनर्निर्माणका लागि अर्बौं डलर आवश्यक पर्ने देखाएको छ।
तर रसुवाको विपद्लाई मृत्यु, बेपत्ता र भौतिक क्षतिको सूचीमा सीमित गरेर बुझ्नु इतिहासप्रतिको अन्याय हुनेछ।
यो घटना नेपालको विकास मोडल, विपद् व्यवस्थापन, वातावरणीय चेतना र अन्तर्राष्ट्रिय जलवायु राजनीतिसँग जोडिएको गम्भीर प्रश्न पनि हो
हिमाल सधैँ सेतो र स्थिर मात्र रहँदैन त्यो पनि परिवर्तन भइरहेको छ र भइरहन्छ हिमनदी पग्लिरहेका छन् हिउँको तह पातलिँदै छ साँघुरिँदै छ।
उच्च हिमाली क्षेत्रमा जमेर चट्टानलाई बाँधेर राख्ने बरफ पग्लिरहेको छ।
जमिनभित्रको स्थिरता कमजोर हुँदै छ हिमतालको आकार र सङ्ख्यामा परिवर्तन भइरहेको छ जलवायु परिवर्तनले हिमाली भूगोलको पुरानो सन्तुलनलाई बिस्तारै भत्काइरहेको छ।
रसुवाको घटनाबारे वैज्ञानिक अध्ययनले पनि यही गम्भीर यथार्थतर्फ सङ्केत गरेको छ।

चट्टान खस्नुमा भूगर्भीय बनावट, विगतको भूकम्पबाट कमजोर भएको संरचना, पर्माफ्रोस्ट अर्थात् हिमोढको निरन्तरको क्षयीकरण र बढ्दो तापक्रमजस्ता पक्षको भूमिका हुन सक्ने देखाइएको छ।
जलवायु परिवर्तन नै घटनाको एकमात्र कारण प्रमाणित भएको छैन तर त्यसले जोखिम बढाएको हुन सक्ने वैज्ञानिक निष्कर्षलाई बेवास्ता गर्न मिल्दैन।

विकास भनेको सडकको लम्बाइ, पुलको सङ्ख्या र जलविद्युत्को मेगावाट मात्रै होइन ! विकास भनेको त्यही सडकमा यात्रा गर्ने मानिस सुरक्षित हुनु हो ! पुल तरेर विद्यालय जाने बालबालिका सकुशल घर फर्कनु हो।

नदी किनारमा व्यवसाय गर्ने परिवारले भोलिको चिन्ता नगरी जीवन चलाउन पाउनु हो।
राति मस्ता निद्रा पाउनु वा निदाउन सक्नु पनि हो।
यदि विकासका नाममा बनाइएका संरचना एउटा विपद्ले केही मिनेटमै बगाउँछ भने हामीले विकासको परिभाषामाथि पुनर्विचार गर्नैपर्छ।
राज्यको परीक्षा उद्धारपछि सुरु हुन्छ
विपद्पछि सेना, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवकले गरेको उद्धार प्रयास प्रशंसनीय छ।

कठिन भूगोल, अवरुद्ध सडक र निरन्तर जोखिमबीच मानिसको जीवन जोगाउन खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीको योगदानलाई कम आँक्न मिल्दैन।
सरकारले राहत, उद्धार, अस्थायी आवास र पुनःस्थापनाका लागि विभिन्न निर्णय पनि गरेको छ।
तर राज्यको जिम्मेवारी उद्धार टोली पठाएर र राहतको पोका वितरण गरेर पूरा हुँदैन।
राज्यको वास्तविक परीक्षा त त्यसबेला सुरु हुन्छ, जब विपद्मा घर गुमाएको परिवारले फेरि घर बनाउन खोज्छ जब कमाउने सदस्य गुमाएको परिवारले जीविकोपार्जनको बाटो खोज्छ जब विद्यालय बगेका बालबालिकाले पढाइको माध्यम खोज्छन जब व्यवसाय गुमाएका उद्यमीले फेरि लगानी गर्ने साहस खोज्छन्।

जब विस्थापित नागरिकले आफ्नो थातथलो फर्कने कि सुरक्षित ठाउँमा नयाँ जीवन सुरु गर्ने भन्ने निर्णय गर्छन त्यति बेला राज्य पुर्ण अभिभावक भएर अगाडि लाग्छ तब मात्रै
यनागरिकमा त्यो आभास महसुस हुन पुग्दछ।

सरकारले विपद्पछि स्थानीय तहलाई रकम उपलब्ध गरायो क्षति मूल्याङ्कन गर्यो निजी क्षेत्रलाई कर, भन्सार र ऋणमा सहुलियत दिने निर्णय गर्यो सडक तथा पुल पुनःस्थापनाका काम अघि बढायो यी काम आवश्यक छन्। तर यति मात्र पर्याप्त छन् त ?

विपद्पछि सरकारले सार्वजनिक गर्ने तथ्याङ्क र प्रभावित परिवारले भोगिरहेको वास्तविक जीवनबीच ठूलो दूरी हुनु हुँदैन। कागजमा पुनःस्थापित भएको बस्ती व्यवहारमा अझै पालमुनि छ भने त्यो राज्यको सफलता होइन।
राहत पाएको भनिएको परिवारले अझै आयस्रोत गुमाएर बस्नुपरेको छ भने त्यो पुनर्निर्माण होइन।

राज्यले अब प्रत्येक प्रभावित परिवारको अवस्था, क्षतिको विवरण, क्षतिपूर्तिको आधार, पुनर्निर्माणको समयसीमा र बजेटको स्रोत सार्वजनिक गर्नुपर्छ।

राहत वितरणमा राजनीतिक पहुँच होइन, वास्तविक आवश्यकता आधार बन्नुपर्छ। पुनर्निर्माणमा स्थानीय समुदायको सहभागिता सुनिश्चित हुनुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, जहाँ पहिले बाढीले बस्ती बगाएको थियो, त्यहीँ फेरि उही जोखिममा बस्ती र संरचना खडा गरेर राज्यले आफ्नो जिम्मेवारी पूरा गरेको दाबी गर्न मिल्दैन।

नदी किनारका व्यवसाय र संरचनाको सुरक्षा सुनिश्चित गर्नुपर्छ। श्रमिकको सामाजिक सुरक्षा, बीमा र आपत्कालीन उद्धार योजना अनिवार्य बनाउनुपर्छ।
विपद्मा सबै गुमाएका नागरिक,साना व्यवसायी र श्रमिकलाई बजारको प्रतिस्पर्धामा एक्लै छाड्न पनि मिल्दैन।
राज्य, निजी क्षेत्र र समुदायबीच जोखिम बाँडफाँटको नयाँ संस्कृति आवश्यक छ।