मणि दाइ के इतिहासले माफी देला ?
मणि दाइ के इतिहासले माफी देला ?
मणि दाइ
हाम्रो आलुका डल्ला
धानका बाला, तरकारी बारी
स्याउ-आँपका बोट,
भेडाका बथान र युवाका श्रममा
तपाई लाइक गर्नु हुन्छ
कमेन्ट गर्नु हुन्छ
सेयर गर्नु हन्छ
तपाई कविता लेख्नु हुन्छ
र हौसला भर्नु हुन्छ
तपाईंका हरेक कमेन्ट
युबाहरू पढीरहेका हुन्छन्
देखाउछन,हौसिन्छन
र उत्साहित हुन्छन्
यो साच्चै बेजोड लाग्छ
मणि कमरेड
तपाईलाई
माया छ,चासो छ
सहानुभूति छ,आशा छ
केही चिन्ता पनि छ
लाग्दो हो
विप्लवहरू नहराइदिए हुन्थ्यो
कतै हराउँछन कि
विप्लवहरू नअलमलिए हुन्थ्यो
अलमलिन्छन कि
केही गरिरहेका छन
सफल भए हुन्थ्यो आदि
यस्तो मनचाहा
सायद तपाईंको मात्र होइन
धेरैको छ
मित्रको,आफन्तको
किसान-मजदुरको,बुद्धिजीवीको
समाजवादीको,देशभक्तको
सहिद परिवारको
वेपत्ता योद्धा परिवारको
धेरैको
किनकि देश
पीडामा छ, घेरामा छ
चेपुवामा छ, लूटपाटमा छ
भयग्रस्त र संकटमा छ
मणि कमरेड
तपाइलाई पक्कै स्मरण होला
जतिवेला कीर्तिपुरको क्यान्टिनमा
५ रूपियाँको भात खाँदै
आकाश छेडिनेगरी जुलस उराल्थ्यौ
भित्ता कोर्थ्यौ, मशाल बाल्थ्यौ
जुलुसको भोक मेटाउन
चिउरा दालमोटसँग पानी पिएर
भेडासिङमा ब्यानरओडेर सुत्थ्यौ
र त क्रान्ति देख्थ्यौ
झोलामा केवल किताब कोचेर
सहरका गल्ली-गल्ली
गाँउका कुना-कुना
पहाडका टुप्पा-टुप्पा
नदि-खोलाका खोचखोच कुददा
क्रान्ति देखिरह्यौ,हिडिरह्यौ
युद्धको आँधीमा
राइफलका गोली खाएर
जेलका यातना भोगेर
हेलीका बममा परेर
प्रिय कमरेडहरू ढले,वेपत्ता भए
ढलेका कमरेड सामु उभिएर
आँसु झार्दै,रगत पुछ्दै,
उनिहरूलाई दफनाउँदै
क्रान्ति देखिरह्यौ र हिडिरह्यौ
काठमाण्डु फर्किदा
हामीसँग गाडि भए,पैसा भयो
सुट मिल्यो,खानकी मिल्यो
स्टार होटल र रिसोर्ट उपलब्ध भए
रम र हुस्की मिल्यो
मन्त्री ,सांसद,हाकिमहरू मिले
तर हामीले क्रान्ति नै देखिरहयौ !
मणि कमरेड
हाम्रो मुटुमा सियो रोप्दै
मनहरूलाई छियाछिया पार्दै
हाम्रा कम्युन,स्कुल,अस्पताल,उध्योग
सहकारी,बैंक र अदालत भङ्ग गरिए
जनसेना विसर्जन गर्दै हतियार बुझाइयो
र पनि हामीले क्रान्ति देखिरह्यौ
हामीले क्रान्ति देखेबापत
क्रान्तिमा पाइला चाले भनेर
बिद्रोहको नगरा बजाए बापत
पूर्व कमरेड सहभागी सत्ताले प्रतिबन्ध लगायो
उग्रवादी र आतंककारी भन्दै
वारेन्ट गर्यो,गिरफ्तार गर्यो र
कमरेडहरूलाई गोलीले ढाल्यो
र पनि हामीले
क्रान्ति देखिरह्यौ र हिडिरह्यौ
मणि दाइ
आज धेरै चीज छ हामीसँग
पार्टी छ,जनता छन्
कम्युन छ,उत्पादन छ
अलिकति भए पनि प्रविधिको ज्ञान छ
हिमाल चढने ,आँधी थेग्ने
कमरेडहरू छन
तपाई जस्ताको माया छ
क्रान्तिको मौलिक मार्ग छ
सयौं बर्ष नडगने आत्म विश्वास छ
यस्तो वेलामा पनि
हामीले क्रान्ति देखेनौ भने
मैले क्रान्ति देखेन भने
के होला ?
के ठान्लान नव युगका नव पुस्ताले ?
के इतिहासले माफी देला?
म यस्तै यस्तै सोच्दै
प्रिय कमरेडहरूसँग बसेर
क्रान्ति पढिरहेको छु
क्रान्ति खोजीहेको छु र
निरन्तर क्रान्तिको खाका कोरीरहेको छु !
मंसिर,२०८३ ✍️ नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव ) हुनुहुन्छ !


लेखकको सम्वन्धमा