लागूऔषधको दुर्व्यसनले,उजाडिँदै समाजको भविष्य
२९/कात्तिक
✍️ समाज परिवर्तन हुँदै छ मानिसको जीवनशैली, सोच, व्यवहार र आवश्यकता पनि बदलिँदै छन्।
शिक्षा, विज्ञान र प्रविधिको विकाससँगै समाज सभ्य, सचेत र समृद्ध बन्दै जानुपर्ने हो।
तर विडम्बना, हाम्रो समाजमा रक्सी तथा लागूऔषधको दुर्व्यसन एउटा गम्भीर सामाजिक चुनौतीका रूपमा फैलिँदै गएको छ। क्षणिक आनन्द, मनोरञ्जन र गलत संगतबाट सुरु हुने यस्तो लतले कतिपय व्यक्तिको जीवन मात्र होइन, सिङ्गो परिवारको खुसी, शान्ति र भविष्यसमेत उजाडिरहेको छ।
रक्सी र लागूऔषधको सेवनलाई कतिपयले सामान्य मनोरञ्जन वा व्यक्तिगत स्वतन्त्रताका रूपमा लिने गरेका छन्। तर जब सेवन बिस्तारै दुर्व्यसनमा परिणत हुन्छ, त्यसले व्यक्तिको जीवनमा नकारात्मक प्रभाव पार्न थाल्छ जब मानिसको सोच्ने क्षमता, निर्णय गर्ने शक्ति, पारिवारिक जिम्मेवारी र सामाजिक व्यवहार प्रभावित हुन्छन्।
त्यसपछि व्यक्ति आफैँ मात्र समस्यामा पर्दैन, उसको वरिपरि रहेको परिवार र समाजसमेत त्यसको मारमा पर्न पुग्दछ।
परिवार समाजको सबैभन्दा महत्वपूर्ण आधार हो, परिवारमा प्रेम, विश्वास, सद्भाव र जिम्मेवारी हुनुपर्छ,तर जब घरको कुनै सदस्य रक्सी वा लागूऔषधको दुर्व्यसनमा फस्छ, तब परिवारको वातावरण अशान्त बन्न थाल्छ र दैनिक कमाइ नशामा खर्च हुन्छ, घरखर्च चलाउन कठिन हुन्छ, पारिवारिक सम्बन्धमा तिक्तता बढ्छ र सामान्य विवादसमेत ठूलो कलहमा परिणत हुन पुग्छ।
कतिपय अवस्थामा घरेलु हिंसा, आर्थिक संकट, सम्बन्ध विच्छेद र पारिवारिक विखण्डनसम्मका परिस्थिति सिर्जना हुन्छन्।
यसको सबैभन्दा पीडादायी असर निर्दोष बालबालिकामाथि पर्छ। अभिभावकको दुर्व्यसनका कारण बालबालिकाले उचित माया, संरक्षण, शिक्षा र मार्गदर्शन पाउन सक्दैनन्।
उनीहरूको बाल्यकाल भय, तनाव र असुरक्षाबीच बित्न सक्छ।
आज अभिभावकको गलत बानीले प्रभावित भएको बालबालिकाको भविष्य भोलि समाजकै चुनौती बन्न सक्छ। त्यसैले दुर्व्यसनलाई एउटा व्यक्तिको व्यक्तिगत समस्याका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन।
अझ चिन्ताको विषय युवा पुस्तामा बढ्दो दुर्व्यसनको जोखिम हो, देशको विकास, सामाजिक परिवर्तन र समृद्धिको जिम्मेवारी बोकेको युवा शक्ति नै गलत संगत, बेरोजगारी, निराशा, पारिवारिक बेवास्ता र चेतनाको अभावका कारण कुलततर्फ आकर्षित हुनु दुर्भाग्यपूर्ण हो।
युवाको सिर्जनशीलता, क्षमता र सम्भावना नशाको लतमा खेर जानु व्यक्ति, परिवार र राष्ट्र तीनै तहका लागि ठूलो क्षति हो।
यहाँ एउटा गम्भीर प्रश्न उठ्छ हामी कस्तो समाज निर्माण गर्दै छौँ ? आफ्नै परिवारको भविष्य सुरक्षित गर्न नसक्ने, छोराछोरीको जिम्मेवारी बिर्सने र क्षणिक नशाका लागि जीवनको महत्वपूर्ण समय तथा सम्पत्ति खर्च गर्ने प्रवृत्तिले समाजलाई कहाँ पुर्याउँछ?
सभ्य समाजको निर्माण भाषण र नाराले मात्र सम्भव हुँदैन। त्यसका लागि व्यक्तिको आचरण, पारिवारिक जिम्मेवारी र सामाजिक चेतनामा परिवर्तन आवश्यक हुन्छ।
यस समस्याको समाधानका लागि परिवार, समाज, स्थानीय तह र राज्य सबै जिम्मेवार बन्नुपर्छ। अभिभावकले आफ्ना सन्तानको संगत, व्यवहार र गतिविधिप्रति सचेत हुनुपर्छ।
विद्यालय तथा शैक्षिक संस्थाले दुर्व्यसनविरुद्ध चेतनामूलक शिक्षा दिनुपर्छ। स्थानीय तह र सामाजिक सङ्घसंस्थाले जनचेतना अभियान, खेलकुद, सिर्जनात्मक गतिविधि तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। राज्यले लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्दै उपचार तथा पुनःस्थापनाका कार्यक्रम प्रभावकारी बनाउनुपर्छ।
दुर्व्यसनमा फसेका व्यक्तिलाई घृणा, अपमान र सामाजिक बहिष्कार गर्नु समाधान होइन। उनीहरूलाई उचित परामर्श, उपचार, पारिवारिक साथ र पुनःस्थापनाको अवसर दिनु आवश्यक छ। किनकि सही सहयोग, इच्छाशक्ति र सकारात्मक वातावरण पाएमा दुर्व्यसनबाट बाहिर निस्किएर सम्मानजनक जीवन बिताउन सम्भव छ।
हामी सबैले बुझ्नुपर्ने यथार्थ के हो भने, रक्सी र लागूऔषधको दुर्व्यसनले केवल शरीरलाई कमजोर बनाउँदैन, यसले परिवारको आर्थिक अवस्था, सामाजिक सम्बन्ध, बालबालिकाको भविष्य र समाजको नैतिक आधारसमेत कमजोर बनाउँछ। त्यसैले यसविरुद्धको अभियान कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी होइन, यो साझा सामाजिक दायित्व हो।
अन्त्यमा, घर उजाडिएपछि परिवारको मूल्य बुझ्नु र भविष्य बिग्रिएपछि चेतना आउनु कुनै उपलब्धि होइन।
समयमै सचेत हुनु नै सबैभन्दा ठूलो बुद्धिमानी हो,क्षणिक नशाका लागि जीवनभरको खुसी, परिवारको विश्वास र सन्तानको भविष्य गुमाउनु हुँदैन।
आउनुहोस्, दुर्व्यसनलाई सामान्य सामाजिक व्यवहारका रूपमा स्वीकार गर्ने प्रवृत्तिको अन्त्य गरौँ। परिवारलाई प्रेम, विश्वास र जिम्मेवारीले जोडौँ।
युवा पुस्तालाई कुलतबाट जोगाउँदै सिर्जनशीलता, श्रम र सकारात्मक सोचको बाटोमा अघि बढाऔँ।
नशाले मानिसलाई क्षणभर रमाउन देला, तर त्यसको मूल्य परिवारले वर्षौँसम्म आँसु बगाएर चुकाउनुपर्ने हुन सक्छ। त्यसैले घरबार उजाडिनुअघि नै सचेत बनौँ, परिवार बचाऔँ र दुर्व्यसनमुक्त समाज निर्माणमा जुटौँ।
✍️ महेश बुढाथोकी रुकुम पश्चिम


लेखकको सम्वन्धमा