सल्यानमा एक पुरुषले गरे आफ्नै श्रीमतीको हत्या
माघ ८ , सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिका ५, लेखपोखराको ढाकुडाँडाका २२ वर्षीय मोहन पुनले २० वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । थप अनुसन्धानका लागि मोहनलाई प्रहरीले पक्राउ गरेको छ ।
पुनले गत मंसिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए । तर सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव भेटिएको थियो ।
स्थानीयले खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले घटना शंकास्पद देखिएपछि श्रीमान मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिएका छ्न । उनका अनुसार मृतक युवतीको शरीरमा नीलडाम रहेकाछ्न उनको नाम सीमा कवर भनिए पनि अहिलेसम्म बास्तविक नामसमेत खुलेको छैन ।
वडाध्यक्ष फौदबहादुर बस्नेतले भने आइतबार राति कुटपिट गरेर मोहनले सीमाको घरमै हत्या गरेको देखिएको जनाए । ‘मृतकको शरीरभरि नीलडाम छन् । प्रहरीले सोधपुछ गर्दा मोहनले प्रारम्भिक बयानमा आफूले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्