गणेशमान सिंहको कविता : प्रिय हुन्छ्न
प्रिय हुन्छन् !
प्रिय हुन्छन् –
लेख्दालेख्दै छुटेका कविताका पंक्तिहरु
हिड्दा हिड्दै मोडिएका कर्मका बाटाहरु
प्रिय हुन्छन् –
बिर्सन खोजेर पनि नबिर्सिएका प्रियसीहरु
खोल्छु भनी नखोलिएका मन मस्तिष्कका चाहहरु
प्रिय हुन्छन् –
निद्राले छुन नसकेका अनिँदा रातहरु
पोखिन पोखिनै लागेका बैँसका ठुन्काहरु
प्रिय हुन्छन् –
हात समाई कपुरी क लेख्न सिकाएका
फेरिफेरि नभेटिएका गुरुहरु,
खाँदा खाँदै नअघाउँदा अाफ्नो थालीबाट
अलिकति रोटीको टुक्रा दिने साथीहरू ।
प्रिय हुन्छन् –
देख्दादेख्दै हराएका सपनाहरु
र सम्झन खोज्दाखोज्दै बिर्सिएका सम्झनाहरु
प्रिय हुन्छन् –
गर्छु भन्दाभन्दै गर्न नसकिरहेका कामहरु
भेट्छु भनी पछ्याउँदा पछ्याउँदै नभेटिएका सहयोद्दाहरु।
हो साथी, प्रिय हुन्छन् –
भोग्नै नपाएका पलहरु
चुम्न नसकेका सफलताहरु
त्याग्न भुलेका अादतहरु
सुधार्न चाहेका सम्बन्धहरु
प्रिय हुन्छन् जीवनका सबै सबै अपुगताहरु ।
©गणेशमान सिंह
सल्यान
रोशन परियारको कविता : ” म स्वास्नी “
वाई वि जिएमको कविता : तिम्रो पहिलो प्रेम
#गणेशमान सिंह
प्रतिकृया दिनुहोस्