सल्यानको नेकपामा के भइरहेको छ ?
राजनीति भनेको के हो ? पार्टीको कार्यकर्ता किन हुने ? यी प्रश्नहरु मनमा बोकेर /पालेर कसैसँग सोधेर/जानेर राजनीतिमा लागिएन । पार्टीको कार्यकर्ता भइएन । सायद यी प्रश्नहरुको उत्तर खोज्नपट्टी लागेको भए न राजनीतिमा लागिन्थ्यो न पार्टीको कार्यकर्ता भइन्थ्यो । यो सबैमा लागू हुन्छ पनि होला । राजनीतिमा कति नेता गुरु भए, पथप्रदर्शक भए कति कार्यकर्ता साथी भए, सहकर्मी भए त्यसको लेखाजोखा अन्यकुनै बेला गरौंला । भनिन्छ सिद्धान्त भन्दा व्यवहार जेठो हुन्छ । सामाजिक, पारिवारिक र केही व्यक्तिगत अन्तर्विरोध र परिवेशले यहाँ सम्म डोर्यायो । व्यवहारमा पर्दै गए र अगाडि हिड्दै गए नयाँ कुरा बुझिने हो । नयाँ काममा लागिने हो । सचेत रुपमा समाजलाई बदल्न र अग्रगमनको यात्रामा हिडाउने प्रयत्न गर्नु नै साँचो अर्थमा माक्र्सवादी बन्नु हो । माक्र्सवादले संघर्ष नगरी सफलता मिल्दैन भन्ने कुरा सिकाउँछ र अाज मान्छेले संसारमा जे जस्तो उपलब्धी हासिल गरेको छ त्यो सबै संघर्षको देन हो भन्ने कुरा बुझाउँछ । त्यसैले माक्र्स र एन्जेल्स द्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्रको शुरुको वाक्यमा लेखिएको छ – “अाजसम्मका विद्यमान समाजको इतिहास वर्गसंघर्षको इतिहास हो ।”
वर्गसंघर्षले समाज बदलिने हो अात्मसंघर्षले व्यक्ति । बदलिँदो व्यक्तिले नै परिवर्तनशील समाजको गतिशील पुस्ताको नेतृत्व गर्ने हो । संसारमा नबदलिने केही छैन । प्रकृतिका सबैकुरा गतिशील छन् । जो समयको पदचापमा बदलिदैन, गति कायम राख्दैन त्यसको अन्त्य अवश्यम्भावी छ । व्यक्तिका सोचाइ, बुझाइहरु समयक्रममा बदलिदै/ परिष्कृत हुँदै जान्छन् । अाजको कलिलो मुना भोलि ढक्कमक्क फूल भएर फुल्छ र फेरि पर्सि अोइलाउँछ । अनि फेरि त्यो बिउमा परिणत हुन्छ र फेरि बिरुवाबाट मुना हुँदै रुख, फूलमा बदलिन्छ । त्यसरी नै मान्छेपनि समाजपनि र त्यसलाई प्रतिनिधित्व गर्ने हरेक संघसंगठन/ पार्टी संस्था पनि बदलिदै जान्छन् । केही अन्त्य भएर जान्छन् । हिजोको एमाले र माअोवादी पार्टीको अन्त्यको जगमा भनौं वा एमाले माअोवादी बदलिदैँ, फेरिदै गएर अाजको नेकपा बनेको हो । तसर्थ बदलिनु पनि बन्नु हो । फेरिनु पनि केही हुनु हो । माक्सले भने “संसारको व्याख्या त सबैले गरे मुख्य काम त बदल्नु हो ।” यसको मर्म हामीले बुझ्ने मात्र होइन अात्मसात पनि गर्नुपर्छ ।
हाम्रो हिजोको कम्युनिस्ट पार्टी र अाज अावद्द कम्युनिस्ट पार्टी सिद्धान्त:एउटै भएपनि कार्यनीति र रणनीतिमा केही फरक छ । भनिने केही लक्ष्य उद्देश्य र बुझिने केही बुझाइमा अन्तर छ । काम गराइमा फरकै छ । त्यो पार्टी र यो पार्टीमा काम गर्दै गर्दा मेरा केही उथलपुथलकारी र अनिश्चयका अनुभूतिहरु रहे । त्यो नेकपा संगठनात्मक रुपले सानै थियो र हाम्रो जिम्मेवारी ठूलो हुन्थ्यो । अाजको नेकपा स्वरुपमा भिमकाय छ र जिम्मेवारी पनि सानै भए जस्तो, केही नभए जस्तो छ, भए पनि निकै थोरै भएजस्तो छ । हिजोको पार्टीमा भएको जिम्मेवारीलाई हल्काफुल्का लिए बिग्ररिन्थ्यो । अाजको पार्टीमा अाफ्नो जिम्मेवारीलाई गहन रुपमा लिए बिग्रेला जस्तो पो हुन्छ । तर पनि एउटा कम्युनिस्ट पार्टीको कार्यकर्ताको नाताले परिवर्तनको लागि सचेत र सकृय पहलकदमी गरिराख्नु व्यक्तिगत कर्तव्य हुन अाउँछ । कुनैपनि पार्टीमा अावद्व भइसके पछि त्यो पार्टीको सिद्धान्त, अादर्श र लक्ष्यमा रहेर पार्टीका काम, कार्यक्रमहरुमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्दै अाम जनतामा पार्टीले के गरेको छ ? अागामी दिनमा के गर्छ र अहिले के गरिरहेको छ भन्नेकुराको जानकारी गराउनु, ती विषयमा छलफल/ विश्लेषण गर्नु र पार्टीका नेता कार्यकर्ताको काम व्यवहार र भूमिकामा प्रश्न गर्नु, सहयोग समर्थन गर्नु र अालोचनात्मक चेत सहित गल्तीलाई सच्याउने प्रयत्न गर्नु कुनैपनि कार्यकर्ताको काम र जिम्मेवारी हो ।
एउटा कुनैपनि व्यक्तिको लागि कुनैपनि पार्टी/संगठन निजि हुँदैन । नितान्त अाफ्नो मात्र भन्ने हुँदैन । र उसको व्यक्तिगत चाहनाले पनि त्यो अगाडि बढ्दैन । पार्टी संगठनका अाफ्नै लक्ष्य उद्देश्य हुन्छन् । नियम, तौरतरिका र कार्यशैली हुन्छन् । ती अाफ्नो सिद्धान्तमा अगाडि बढ्छन् । कुनै पनि व्यक्तिले मन पराउने अादर्श, अपनाउने सिद्धान्त र बोक्ने विचारमा अनि राख्ने लक्ष्य उद्देश्यको अाधारमा पार्टी संगठनको छनौट र निमार्ण हुन्छ । सिंगो पार्टीको तुलनामा एउटा व्यक्ति केही पनि होइन तर पार्टी संगठनलाई जीवन्त राख्न र त्यसलाई अाम जनताको हितमा बनाउन भने एउटा एउटा व्यक्तिको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । पार्टी संगठनको प्रतिनिधित्व गर्दै सत्ताको नेतृत्व गर्ने एउटा एउटा नेता कार्यकर्ताको हरेक काम कृयाकलापले अाम जनतामा त्यो पार्टी संगठनले लिएको अादर्श/सिद्धान्त र लक्ष्यको प्रतिनिधित्व गर्छ । पहिचान दिलाउँछ ।
अाज पार्टीको जिल्ला संगठन बनेको छ र गाउँ नगरमा पनि बन्दै छ । तल तलसम्म एकिकरण नटुंगिएको अवस्थामा पार्टी पार्टी जस्तो छैन । जति पनि नेता जति पनि कार्यकर्ता जस्तो । यो भद्रगोलमा को व्यक्ति कस्तो ? को पार्टीको कार्यकर्ता हो समर्थक हो र को विरोधी हो छुट्याउनै मुस्किल जस्तो । जता पनि लुटखसोटको मेला जस्तो, जतापनि छिनाझम्टीको खेल जस्तो । पार्टी व्यक्ति व्यक्तिमा गएर अल्झे जस्तो । समस्या झुन्ड झुन्डमा बल्झिए जस्तो । यस्तो लाग्छ यो कम्युनिस्ट पार्टी हो पनि होइन पनि ।
जिल्लाका स्थानीय सरकारमा तीन चौथाई भन्दा बढी जनप्रतिनिधि कम्युनिस्ट पार्टी बाट प्रतिनिधित्व गर्छन् । कम्युनिस्ट पार्टीको नेता/कार्यकर्ता हुनुको नाताले कम्युनिस्टको अादर्श/सिद्धान्त र लक्ष्यको जिम्मेवारीलाई जनताको घरदैलोमा, विकाश निमार्णमा, समाज परिवर्तनमा र कार्यकर्ताको मनमस्तिष्कमा उनीहरू कति सही सत्य सावित भएका छन् ?
अाज हाम्रा पार्टी संगठन र नेताकार्यकर्ताको काम जिम्मेवारी भनेको जनतामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र क्षमता विकाशको पहुँच कति पुर्याउने भन्ने विषयमा छलफल/विवाद/विश्लेषण हुन्छ कि ? पार्टी कार्यकर्ता र सत्ताको कुर्सीबाट व्यवस्थापन समिति अध्यक्ष बन्न- बनाउनमा, उपभोक्त समितिमा अाफुले भनेको मान्छे सेट गर्नमा बढ्ता तागत प्रयोग हुन्छ ? अाज जिल्लामा भएका क्याम्पसहरुको अवस्था कस्तो छ ? कतै छलफल भएको सुनिदैन । च्याउसरी चलाएका प्राविधिक, कृषि र अन्य विषय पढाइ हुने विद्यालयमा विद्यार्थीले कस्तो शिक्षा पाइरहेका छन् , त्यसको अनुगमन, छलफल भएको कतै देखिदैन । अाज कम्युनिस्ट पार्टीको अावद्दमा विद्यार्थी संगठन त छ तर त्यो चन्दा कमिशन उठाउन, चाकडी गर्न र पद जोगाउनमा ठिक्क छ । कम्युनिस्ट पार्टीमा किसान नेता छन् तर किसानका समस्याको बारेमा कहिले छलफल र सम्बोधन हुन्छ ?
कम्युनिस्ट पार्टीमा अावद्द शिक्षकहरु छन ती जागिरे हुन कि होललटाइमर कार्यकर्ता ? त्यसको बारेमा अनुगमन किन कतै हुँदैन । अाज बाटाघाटा, पुलपुलेसा, संघसंस्था, सहकारी , वनजंगल, उद्योग, शहरबजार साराको नेतृत्वमा कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता छन् तर उनीहरुलाई उचित गाइड गर्ने, नियमन गर्ने, सही निर्देशन दिने, गलत गर्न नदिने काममा पार्टीको नेता नेतृत्वको ध्यान खै ? पार्टीमा अावद्द पत्रकार जिल्लाभर छ्याप छ्याप्ती त छन् तर ती पत्रकारहरुले कस्तो र के समाचार लेखिरहेका छन् ? उनीहरुले अाफ्नो कलम क्यामेरा जनताको हितमा/पक्षमा चलाएका छन् कि कतै पैसाको , योजनाको, जागिरको लागि अवैध बार्गेनिङ गरिरहेका छन् ? त्यसको हेरविचार पार्टीबाट गर्नुपर्छ कि पर्दैन ? पार्टीमा अावद्द यति धेरै युवा छन् तर सामाजिक संजालमा फुस्सा अादर्श फलाक्ने बाहेक विकृति/विसंगतिको विरुद्धमा किन बोल्ने/संघर्ष गर्ने अाँट गर्दैनन् ? त्यसको लागि पार्टीको पहल खै ? जनताको काम गर्न चुनिएका जनप्रतिनिधिको काम किन तामझामपूर्ण कार्यक्रममा मात्र सिमित छ ।
जनताको शोकमा, पिडामा, संकटमा त्यसको गहिरो जिम्मेवारीवोधका साथ काम/ संकट र विपत्तिको समाधान गर्नुको साटो फेसबुकमा फोटो राखेर कस्तो पब्लिसिटि गर्न खोजेको हो ? के हामीले अाम जनताको सुखदुःखको सहयात्री बन्ने भन्दा कताबाट के गर्दा मेरो भोट अाउँछ, म नेता देखिन्छु र पदमा जोगिन्छु भन्ने हल्का सोचाइको विरुद्ध पार्टीको खास योजना र कार्यशैली कस्तो बनाउने भनी किन सोच्दैनौँ ? यसरी हेर्दा अहिलेको जिल्ला पार्टी भित्र अनेक प्रश्न, जिज्ञासा राख्न सकिन्छ । अाशा गरौँ अाउँदा दिनमा यस्ता विभिन्न सवालमा पार्टी र नेतृत्वको टिमले काम र निर्णयबाट जवाफ दिने छ र कार्यकर्ताका यी सवालमा ध्यान दिने छ । नत्र त हात्ती अायो हात्ती अायो फुस्सा भइहाल्छ ।
यो लामो समय अवधिभर जिल्ला कमिटीको बैठक दुई पटक भएको छ । पहिलो बैठकमा जिल्ला सदस्यको लागि सपथ खाइयो भने दोस्रो बैठकबाट गाउँ/नगरका नेतृत्व चुन्ने काम भयो । यस बिचमा दोस्रो बैठकमा अाफ्ना केही कुरा राख्ने देखि जिल्लामा/गाउँ नगरमा हुने विविध कार्यक्रममा पार्टी प्रतिनिधिको रुपमा सहभागी हुने अाफ्ना भनाइ राख्ने अवसर मिलेको छ ।
जिल्ला पार्टी कमिटीको सय सवा सयको भिड देख्दा यस्तो लाग्छ सिंगो सल्यान यही भित्र अटाएको छ । एकसेएक क्षमतावान नेता एकसेएक क्षमतावान कार्यकर्ता । जिल्ला हाँक्ने सम्पूर्ण नेता यही पार्टी भित्र मात्र छन् जस्तो पनि लाग्छ । जनताको लागि भन्दै राजनीतिमा सिंगो जीवन खर्चेका, त्याग/तपस्या र बलिदानका किर्तिमान खडा गर्दै, विभिन्न अारोह अवरोह, उथलपुथल भोग्दै यहाँ सम्म अाएका नेता कार्यकर्ताको यो जमात देख्दा लाग्छ- यो पार्टीको भविष्य र जनताको पक्षमा हुने काम र क्रान्तिकारी परिवर्तनको प्रबल संभावना निकट भविष्यमै छ । तर फेरि व्यवहारको अर्को कसीमा हेर्दा लाग्छ- सारा सल्यानलाई खोर्सेर तहसनहस पार्ने डोजरहरु पनि यहीँ छन् । गाउँ ठाउँको विकास गर्छु भन्दै संघसंस्था खोल्दै र काम गरेको बहाना गर्दै चरम वेथिति भित्र्याएर अाफ्नो वैभव खडा गर्ने जिल्लाका सारा ठगहरु पनि यहीँ छन् । कमिशन बाँड्दै काम छोड्दै गर्ने ठेकेदार पनि यहीँ छन् । घरजग्गा देखि मान्छेको दलाली गर्ने दलाल मात्र होइन हरेक माल बीस रुप्पे हरेक माल बीस रुप्पे भनी—— कराउने झोले व्यापारी पनि यहीँ छन् जस्तो लाग्छ ।
विशेषगरी जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेतातृयको टिमले जिल्लाको यो सिंगो डफ्फालाई यदि घोडालाई लगाम लगाए जसरी कम्युनिस्ट पार्टीको नितिविधि, अादर्श सिद्धान्त र माक्र्सवादको सही लगामबाट मैदानमा दौडाउने हो भने निकट भविष्यमै अाँखै अगाडि परिणाम देखिने छ र सल्यानी जनताको भविष्य सुखी नेपाली समृद्ध नेपालको नारामा साँचो अर्थमा परिणत हुनेछ । विगतको राजनैतिक पृष्ठभूमिले गर्दा होला यो बिचमा धेरै पटक अाफ्ना यिनै जिज्ञासा/ अनुभुतिहरु जिल्ला पार्टी ईञ्चार्ज टेकबहादुर बस्नेतलाई पोख्न पाएको छु । हिजोको पार्टीमा हुँदादेखि नै उहाँसँग राम्रै छलफल र संगतमा रहने अवसर पाएकाले पनि मैले उहाँबाट राजनीतिका धेरै कुरामा जानकारी/शिक्षा पाएको छु । उहाँका सिमा, कमजोरी र क्षमताका बारेमा म धेरै जानकार त छैन तरपनि जनयुद्धको ठूलो अाँधीहुरीबाट अाफूलाई स्पातिलो योद्धाको रुपमा, कम्युनिस्ट पार्टीमा जीवन अर्पेर माक्र्सवादी अादर्शलाई जनताको प्रतिनिधि भएर जीवन व्यवहारमै लागू गर्नुभएको नेतृत्वको हैसियतले जिल्ला पार्टीलाई साँच्चैको कम्युनिस्ट पार्टी र हामी तमाम कार्यकर्तालाई साँच्चैको कम्युनिस्ट बन्नमा प्रेरित गर्न सफल हुनुहोला या नहोला , हेर्न बाँकी नै छ ।
त्यसैगरी अाजसम्म मैले निकै कम छलफल र संगत गरेको नेता जिल्ला सह-इञ्चार्ज गुलाबजंग शाह जसले राजनीतिमा नमिठा हार र पराजय भोग्दै विजय हासिल गर्नुभयो र अहिले कर्णाली प्रदेशको सचेतको जिम्मेवारीबाट अाक्रमक पहल लिन सक्ने नेताको छवि निर्माण गर्न सफल हुनुभएको छ । संभवत सल्यान पार्टीमा सबैभन्दा बढी सांगठनिक पकड भएको उदाउँदो नेताबाट पार्टीलाई गति दिने सवालमा र अाम कार्यकर्तालाई जनताको सेवक बनाउने कार्यमा कति सफल हुनुहुनेछ त्यो पनि धर्यताकै विषय छ ।
पार्टीका अर्का नेता प्रकाश ज्वाला जसले राजनीतिका अनेक उकाली अोरालीमा हन्डर ठक्कर खाँदै राज्यका विभिन्न निकायको प्रतिनिधित्व गर्दै अाफूलाई पटकपटक जनतामाझ प्रमाणीत हुँदै अहिले कर्णाली प्रदेशमा पार्टीको सह-इञ्चार्ज र सरकारको अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्दै अाउनु भएका गतिशील नेताबाट सारा सल्यानबासी र हामी कार्यकर्ताले कस्तो निर्देशन, साथ र हौसला पाउँछौं त्यो पनि समयले देखाउला । जिल्ला पार्टी अध्यक्ष गोविन्द पुन जसले राजनीतिका अनेक सिढी चढेर यहाँ अाउनु भएको छ । उहाँमा धेरै छक्का पञ्जा नगरी जे बोल्ने त्यो गर्ने विशेषता छ जस्तो लाग्छ । अाशा छ अध्यक्षको अडान र स्पष्टताबाटै पार्टीले गति लिने हो । पार्टी सचिव छहारी दाइ उहाँको बारेमा त धेरै के बोल्नु उहाँको नाम लिँदा नै संघर्षशील व्यक्तिको एउटा चित्र अाँखामा अाउँछ ।
सल्यानबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने र अन्य जिल्ला र देशभर संगठनमा काम गर्ने पार्टीका थुप्रो नेता कार्यकर्ता हुनुहुन्छ जसको राजनीतिक योगदानको बारेमा धेरै लेख्न सकिन्छ तर यस लेखको उद्देश्य नेताहरुको बारेमा बढाई चढाई लेख्ने नभएर पार्टीको सामान्य चित्र प्रस्तुत गर्नु हो । प्रंसगवश अन्य लेखमा लेख्ने नै छु । उहाँहरुबाट पनि अागामी दिनमा पार्टीमा कस्तो भूमिका हुन्छ त्यो हेर्न बाँकी नै छ ।
मानवीय सम्बन्धमा व्यक्तिगत सम्बन्धले धेरथोर प्रभाव पार्छ भने राजनीतिमा व्यक्तिगत भन्दा सामूहिक व्यवहारले, निजी भावना भन्दा विचार सिद्धान्तले, संयोग भन्दा सामाजिक, राजनीतिक अन्तर्विरोधले धेरै फरक पार्छ । माक्र्सवादले वस्तु होस् वा व्यक्ति वा अनेक सामाजिकआर्थिक परिवेशमा हुने बदलाव घट्ने घटना र उत्तारचढावको कारण त्यसै भित्र निहित हुन्छ भन्छ । त्यसैले राजनीतिमा सबैभन्दा ठूलो कुरा त्यसमा अावद्द सोही व्यक्तिमा निर्भर हुन्छ । यो भिमकाय पार्टी संगठनमा अागामी दिनमा व्यक्तिगत रुपमा मेरो के कस्तो भूमिका र योगदान होला त्यसको बारेमा त अहिले नै के अाकलन गर्दै बस्नु ! यत्ति हो राजनीतिमा सकृय भएसम्म दिलो ज्यान र इमानजमान रहेर काम गर्ने हो । सधैं अाफ्नो अास्था, विश्वास र प्रतिष्ठालाई कायम राख्दै जोगाउँदै निरन्तर सबैमाझ अाउने प्रतिबद्धता गर्छु । सल्यान नेकपामा के हुन्छ ? हुँदै जान्छ ? त्यसको लागि म अन्य लेखमा अाउने नै छु । प्रिय पाठकवृन्द अर्को भेटमा भेटौँ ल !
गणेशमान सिंह
सल्यान
लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सल्यान का जिल्ला कमिटि सदस्य हुनुहुन्छ।
#गणेशमान सिंह #नयाँ दृष्टि #नेकपा सल्यान







प्रतिकृया दिनुहोस्