September 20, 2026, Sunday
२०८३ आश्विन ४, आईतवार

रोशन परियारको कविता : ” म स्वास्नी “

म स्वास्नी

हेरिरहँदा
लजाउनु पर्ने , डराउनु पर्ने
नरिसाउनु पर्ने , नखुसाउनु पर्ने

बोलिरहँदा
चुपचाप सुन्नु पर्ने , गुनासो नगर्नु पर्ने
बुझ् पचाउनु पर्ने , जवाफ नफर्काउनु पर्ने

खाई रहँदा , पकाई रहनु पर्ने
पिई रहँदा , थपि रहनु पर्ने
बसि रहँदा , ओछ्छिई रहनु पर्ने
हिंडी रहँदा , पछ्याई रहनु पर्ने
सुति रहँदा , ब्यूँझी रहनु पर्ने
थिची रहँदा , लडि रहनु पर्ने

घाम बनेर घोप्टी रहँदा, जमिन बनेर ताती रहनु पर्ने
बतास बनेर घोची रहँदा, पहाड बनेर छेकी रहनु पर्ने
नदि बनेर लुछी रहँदा, किनार बनेर भत्किरहनु पर्ने
छाल बनेर छल्की रहँदा, अचानो बनेर सहिरहनु पर्ने

उचाईमा टेकि रहँदा , गहिराईमा डुबिरहनु पर्ने
टुप्पो बनेर अग्लिरहँदा , जरा बनेर गाडिई रहनु पर्ने

चाहनाका आँखा थुते , रहरका ओठ च्याते
सपनाका छाती टेके , अधिकारका हात काटे
मुक्तीको आवाज खोसे , आजादीको खुट्टा भाँचे

खुकुरी भई रहँदा , दाप बनि रहनु पर्ने
गर्दन काटी रहँदा , रगत लुकाई रहनु पर्ने

चुपचाप “सहनु” पर्ने थियो, सहिरहें
आजीवन “माफ” दिनु पर्ने थियो, दिईरहें
किनकी
यी लोग्नेहरु हुन्
जो मरेर पनि फर्कि रहन्छन् जिउँदोमा
जो बगेर पनि बसि रहन्छन् सिउँदोमा

ए !
म बाँचेको युग
म पनि क्लियोपेट्रा बनुँ ??

रोशन परियार
धनकुटा, नेपाल

वाई वि जिएमको कविता : तिम्रो पहिलो प्रेम

भुपेन्द्र ओलीको कविता – वंश