May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
यात्रा अनन्त साहसले मात्रै हुन्छ

यात्रा अनन्त साहसले मात्रै हुन्छ

“यात्रा अनन्त साहसले मात्रै हुन्छ”

झसङ्ग भएँ । ध्यान जति मार्कसिटमा । मन फुरुङ्गै । कारण, कक्षा १२ को ‘रिजल्ट’ । सपना सुन्दर थिएँ, बच्चैदेखि । त्यसमध्येकै अझै उत्कृष्ट सपना बोकेर घरभन्दा अलिक टाढा छु । करिब तीन वर्ष पुग्न थालेछ । जहाँ संस्कार फरक छ । म सानैदेखि रेडियो सुन्न रुचाउथेँ रे, आमाले भन्नुभएको । मुखले सबै अभिव्यक्ति दिन नसक्ने मेरो अनुहारको भाषाप्रति विज्ञ आमा हुनुहुन्थ्यो । र अहिले पनि उहाँ नै हुनुहुन्छ ।

हिजो रेडियो सुन्ने म आज रेडियोमा सामाचार भन्छु । सल्यानबाट दाङ पढ्न झरेँ । २ घण्टा क्लास हुन्थ्यो । दिनभर फुर्सद । बेकामे भएर मरिगए बस्न सकिएन । फेरि रेडियोमा नै समाचार पढ्छु भन्ने सोच बनाएँ । सुरु भयो दैनिकी– बिहान ६ देखि क्लास, १० देखि अफिस ।

बेकारमा बस्नु भन्दा ठीकै लाग्यो । दिनहरु पनि राम्रै बिते । बेलाबेलामा समस्याहरुले खुब सिकाउछन् । कुनैले आशा जन्माउँछन् । कुनैले निराशा । खै कति समस्यासँग जुधेँ आजसम्म र  देश संघीय संरचनामा गएपछि प्रदेश नम्बर ५ मा पर्ने दाङ मेरो छिमेकी जिल्ला अहिले कार्य क्षेत्र बनेको छ ।

जिन्दगीका दुरुस्त गतिबिधिहरु । रिजल्ट त आयो तर मेरो पक्षमा आएन । सुरुमा त नामै नहेरी अंक हेरेँ पास भएछु । मेहनत अनुसारको उपलब्धी ठीकै लाग्यो । तर जब नाम हेरे । मार्कसिट हेरे मन खङग्रङ् भयो । आजसम्म गरिएको मेहनत खै भन्ने लाग्यो । केही क्षणमै मन मन रहेन । चिच्याइ–चिच्याइ रुन मन लाग्यो । सबै बिग्रियो भन्ने लाग्यो । त्यतिबेला नै हो जीवनमा पहिलोपटक जीवनका यथार्थहरुबाट भाग्नु हुदैन सँघर्षसँग लड्नैपर्छ भन्ने लागेको ।

जीवनमा कतिपय समस्याहरु परीक्षा लिनकै लागि आउँछन् भन्ने लाग्यो । बुझ्दै गए । केही संघर्ष गर्न राष्ट्रिय परीक्षा बोर्डको कार्यालय भक्तपुर जानुपर्ने भयो । उता गाउँमा हल्लै हल्ला मिनाको त रिजल्ट बिग्रियो रे अब नबन्ने भएछ । अर्को वर्ष फेरि परीक्षा दिनुपर्ने भयो । यस्तै यस्तै । मेरा सपना र मेरा प्रगतिको मेहनतको माया मलाई भन्दा बढी मेरी आमालाई लाग्छ । उहाँले कसरी मन बुझाउनु भयो कुन्नी, त्यो बखत । छोरीलाई घरभन्दा बाहिर जान दिनु हुँदैन भन्ने सोच भएको समाजमा जन्मिएकी मलाई बाहिर पढ्न पठाउने मेरी आमाको सहास म आफैलाई गर्व महसुस हुन्छ ।

सबै बुझेँ । विद्यालयका सरहरुले सहयोग गर्नुभयो । रजिष्ट्रेसन नम्बर बिग्रिएको रहेछ । सच्याउन काठमाडौं जानुपर्ने भयो । योभन्दा पहिला कहिले पनि काठमाडौं नगएकी मलाई एक्लै त्यती काम गरेर आउन सहज त कहाँ थियो र ? तर आटँ गरे ।सक्छु भन्ने लाग्यो । अनेकन आरोह अवरोह छिचोल्न सक्नु नै सफलता हो भन्ने भान भयो । यो यात्रामा उतार-चढाव, आरोह-अवरोह पनि कत्ति धेरै आएका ?काठमाडौँ जानैपर्ने भयो । राष्ट्रिय परीक्षा बोर्ड घोराहिमा एउटा सिफारिस लेख्न लगाए । घोराहिबाटै टिकट काटेर लागे काठमाडौँ । ५ बजेको हुँदो हो, साझँको । एउटी दिदी रहिछन् मसँगैको अर्को सिटमा । छोरालाई भेट्न जान लागेकी रे । यात्रा रमाइलो थिएन । दिदीले कैयौँ प्रश्न सोधिन उसैगरी सोधेँ मैले पनि । म जस्तै रहिछन् पहिलो पटक काठमाडौँ जाने । जटिलताको पनि आफ्नै सौन्दर्य  हुने रहेछ । खोइ त्यो रात कतिपटक निदाए, कति पटक ब्युझिँए ?

भर्खर भदौ महिना लागेको थियो । भदौको ३ गते । मनमा शान्ति थिएन । ओहो रातभर पानि पर्यो । आमाले त्यस्तै ४ पटक जति फोन गर्नुभयो । कहाँ पुगिस्, खाना खाइस कि नाइ ? यस्तै, यस्तै । खाना खानै मन लागेको थिएन । खाना खाइन तर खाए भनिदिएँ । रातभर हिडिँयो गाडिमा । जिन्दगीमा पहिलो पटक होला यसरी गाडिमा लामो यात्रा गरेको । कुन्नीके के सोच्न भ्याए त्यो रात । निरन्तरका जिज्ञाशा, कयौँ प्रश्न उब्जिए मनमा । कतिको उत्तर त यहीँ मनले दियो । धेरै प्रश्न त बिना जवाफ विलिन भएर हराए ।

पूरा रात बित्यो । अगाडि बसका चालक घुम्ती अनि कति खाल्डाहरु छिचोल्ँदै बस कुदाइरहेका थिए । त्रिसुलीको बहाव आहा लाग्यो । मुग्लिनको जाम । नौबिसेको उकालो, बिभिन्न ठाउँमा हुने प्रहरी चेकिङ सबै छिचोलियो । रातभर यात्रा । अझै भेटिएन काठमाडौँ । शरीर खत्रक्क परेको थियो । गाडी मोटरका धुँवा । मनमा छुट्टै हुटहुटी । बिहानको ७ बजेर ४७ मिनेट गएको थियो । मन आफ्नै बसमा मरिगए राख्न सकिन डुलिरहयो मन पर–परसम्म ।

दिदीको फोन आयो -कहाँ आइपुग्यौ ? कलंकी रे मैले भने । केही समयमा नै पुगियो बसपार्क । बल्ल झर्न खोज्दै थिए गाडिबाट जतापनि मान्छे नै मान्छे । फोन गर्न मोवाइल खोज्दै थिए दिदीलाई देखिहाले । गयौँ- दिदिको कोठामा । अगाडि बसपार्क आएर पर्खिनु भएको रहेछ । कौतुहलता र विगत अनि भविष्यका परिदृष्यहरु मन मष्तिष्कमा नाचे बेस्सरी । बसपार्कको त्यो चहलपहल सबै आफ्नै लयमा आफनै तालमा । ओहो कुनै कुनै बेलाका भोगाइहरु त सिनेमा घरका पर्दाहरुमा जस्तै स्मृतिमा झुल्किन हुनेरहेछन् ।

मान्छेहरु के हुन्थे होला दुःख सधैँ दुख भइरहने भए । प्रश्न सधै प्रश्न भइरहने भए । म अझै घोत्लिदै थिए । निकै प्रदूषित । बिहानको ११ बजेको थियो भत्तपुरका लागि हिँडे। मामाले बाइकमा लगेर छोड्दिनु भयो । धुलो धुवाँ खादैँ केहीबेरमा परीक्षा बोर्डको गेटमा पुगे । म जस्ता त कति रहेछन कति सच्याउन गएका विद्यार्थी । कार्यलयको गेटभित्र छिरेपछि भने मन अलिक सामान्य भयो । सामान्य लागे पनि मेरो र अरुको समस्याको प्रकृतिको बोध भने म गर्थे । मेरो त्यो दिन काम भएन । फेरि अर्को दिन जानुपर्ने भयो ।

भोलिपल्ट कसैलाई दुःख दिनै मन लागेन एक्लै बसमा चढे । त्यो जाम फेरि उसै गरी पुगे परीक्षा बोर्डको कार्यालयमा । आज चाहिँ काम भयो फाराम भरे र सबै डकुमेन्ट्र बुझाएर फर्किए दिदिको कोठमा । टाढा थिएन दिदी कोठा । शरीर लर्थक्कै भको हुँदा होला गएर सुते । शरीरलाई आराम नभएको त करिब करिब १४ दिन भन्दा बढी भइसकेको थियो । रिजल्टकै पिर ले न राम्रोसँग खाना खाएकी थिए । न त निदाएकी नै थिए । त्यो रात चाहिँ आनन्दसँग निदाएँ । ओहा, कतिधेरै अवरोध । कतिधेरै समस्या । तनाव र अवरोधहरुको ब्यवस्थापन जवर्जस्त गरिन्छ कुनै बेला । जसरी त्यो बेला गरियो । म हरेक अनभिज्ञता अनि अप्ठेरोमा बढी आत्तिन्छु । हर दुःखमा मान्छेले पहिला सम्झने शब्द हो आमा बाबा । मैले आमालाई फोन गरे । काम बन्यो । अब दाङ फर्किन्छु भोलि भने । म भन्दा बढी खुसी आमा । मार्कसिट सच्चिने निश्चित भएपछि २ हप्तापछि ल्याउन जाने रे। दिदीले ल्याइदिने कुरा भयो ।

लाग्यो -समस्या त हल हुने त रहेछन नि। मन शान्त भएको अनुभूति भयो । फेरि यात्रा । यात्रा अनन्त साहसले मात्रै हुन्छ भन्ने लाग्यो । बिग्री त गयो अब दुःख गर्दिन भनेको भए ? तर मैले त्यसै गरेको भए । कहिल्यै सच्चिने थिएन त्यो मार्कसिट । तर मैले त्यसो गरिन । जस्का लागि मेहनतत गरे त्यो अहिले यसै थन्किएको छ । पाएको छैन जे पाउनुपर्थ्यो । ५ गते साँझ दाङका लागि गाडि चढेँ, काठमाडौँबाट । गाडी नम्बर ना६ख २५६५ । गाडिमा बसेँ । मान्छेका आआफनै व्यापार । एकजना दाई पोष्टकारी ल्याएर गाडिभित्रै आए। सुरुमा २०० मा एक पाकेट पोष्टकारी बेच्न खोजेका उनले अन्तमा २ सयमा २ पाकेट पोष्टकारी र पानीको बोतलसम्म दिए,सँगैको सिटमा बसेकी एउटी महिलालाई । तीदाइको व्यापार पनि अचम्मको लाग्यो मलाई । मान्छेहरु आइरहन्थे अनेक सामान लिएर गाडिभित्र । बेच्थे जान्थे । यस्तै चलिरहयो । केही अगाडि आयौँ । फेरि सुरु भयो जाम । पहिलाको जस्तै त्यो रात पनि बित्यो । बिहानको ७ः३० जति भएको हुदोँ हो- तुलसीपुर झरियो। शिब मन्दिर नजिकै ।

कति भएभए अनुभुतिहरु केही तिता केही मिठा अनुभुति । त्यो बेलाको सिकाइले मनको डायरी भरियो । जिब्रोमा परेको महको चाकाजस्तै, तिर्खाएको बेलामा एक गिलास चिसो पानी पाएजस्तै । म ढुक्क भएँ ।

मिना खड्का 

दार्मा सल्यान 

(हाल तुल्सीपुर दाङ्)
 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज