February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
सुशासन प्रबर्द्धनकोलागि सल्यानको कपुरकोट गाउँपालिका द्वारा सार्वजनिक सुनुवाइ

सुशासन प्रबर्द्धनकोलागि सल्यानको कपुरकोट गाउँपालिका द्वारा सार्वजनिक सुनुवाइ

असार ७, सल्यान।

सल्यानको  कपुरकोट गाउँपालिकाले आफ्ना ६ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिकाको आयोजना तथा गाउँवेशी सूचना केन्द्र सल्यानको सहजिकरणमा स्थानीय सरकार र जनतालाई प्रत्यक्ष जोड्न र पालिकाका काम कर्तव्यलाई पारदर्शी ,जवाफदेही बनाउन तथा सुशासन प्रबर्द्धनका लागि सार्वजनिक सुनुवाई तथा कार्यक्रम सम्पन्न भएको हो।

उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही नागरिकहरुले कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका सेवाप्रति गुनासो, प्रश्न र सुझावहरु प्रस्तुत गरेका थिए।

पालिकाले सेवाग्राहीलाई सुविधा उपलब्ध गराउने प्रक्रियामा भेदभाव गरिएको, प्रभावकारी सेवा प्रदान नगरेको, सुचना प्रवाह व्यवस्थीत नभएको तथा पालिकाभित्रका बजारहरुको व्यवस्थापन गर्नमा चुकेको, नागरिकहरुको गुनासा सम्बोधन गर्न तथा सुझावहरु ग्रहण गर्नका लागि नियमित रुपमा सार्वजनिक सुनुवाई नभएको, योजना कार्यान्वयन गर्दा विभिन्न समस्या झेल्नुपरेको, महिला, जेष्ठ नागरिक, वालवालिका लगाएत लक्षित वर्गका लागि प्रभावकारी कार्यक्रम सञ्चालन नभएको लगाएतका गुनासो गरेका थिए।

कार्यक्रममा सबै वडामा वडा कार्यालय संगै स्वास्थ्य, कृषि, पशु, पूर्वाधार विकासका क्षेत्रमा सञ्चालन भएका कार्यक्रम, प्रदान गरिने सेवा, सुविधाका बारेमा जानकारी गराइएको थियो।

सम्बन्धित सवालमा उठेका प्रश्नको जवाफदेही वक्ताको रुपमा रहेका गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले विगतको कमजोरीहरु दोहोरिन नदिएर विकास निर्माण तथा सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्दै सुशासनयुक्त गाउँपालिका निर्माणमा सबैसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए।

यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले विगतका नकारात्मक क्रियाकलाप र कामलाई हटाउदै अब उपलब्धीमूलक काम गर्ने बताए।

उनले अवको पाँच वर्ष किसानको हितको लागि उपयोग गरिने भन्दै नयाँ आर्थिक वर्ष देखि एकिकृत किसान विकास कार्यक्रम लागू गरिने समेत जानकारि गराए।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले स्तरिय सार्वजनिक सेवाका लागि कर्मचारिहरुलाई दक्ष र थप जिम्मेवार बनाईने बताए।

कार्यक्रममा वडाका नवनिर्वाचित तथा निवर्तमान जनप्रतिनिधी, सेवा प्रदायक निकायका कर्मचारीले सेवाग्राही नागरिक स्तरबाट उठेका प्रश्नको जवाफ दिएका थिए।

गाउँपालिका कार्यालय, वडा कार्यालय तथा पालिका मातहतका विभिन्न कार्यालयबाट सञ्चालित विकास कार्यक्रम, प्रदान गरिने सेवा, सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने तथा नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गरेर जिम्मेवार संस्कार बसाल्ने उद्देश्य अनुरुप सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाले जनाएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज