सल्यानको कपुरकोट गाउँपालिकामा टाइफाइड विरुद्धको खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
२९ चैत,सल्यान।
सल्यानको कपुरकोट गाउँपालिकामा टाइफाइड विरुद्धको खोप सम्बन्धी पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य संयोजक अरुण दाहालले खोप अभियान, टाइफाईड रोग र यसको न्युनिकरणका सन्दर्भमा अभिमुखिकरण गरेका थिए।
अभिमुखिकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा, प्रमुख प्रशासकीय अधिकृृत भरत कुमार वली, ६ वटै वडाका वडा अध्यक्ष, पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी लगाएत सरोकारवालाको सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन पत्रकार शंकर केसीले गरेका थिए ।
कपुरकोट गाउँपालिकामा २६ वटा खोप केन्द्रबाट टाइफाइड विरुद्धको खोप लगाइने भएको छ।
आगामी बैशाख ४ गते देखि ७ गते सम्म १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम तय भएको छ ।
खोप अभियान अन्तर्गत कपुरकोट गाउँपालिकामा ६ हजार २९० जना वालवालिकालाई खोप लगाउने लक्ष्य रहेको छ। जसकोलागि विद्यालय तथा स्वास्थ्य संस्थामा खोप केन्द्र तोकिएको छ ।
यस अघि टाइफाइड विरुद्धको खोप लिएका नलिएका सबै व्यक्तिहरुलाई यो खोप दिइने छ तर अभियानको समयमा यो खोप दिँदा कोभिड १९ विरुद्धको खोप र यो खोपको अन्तराल कम्तिमा १४ दिन भएको सुनिश्चित गरेर खोप दिनु पर्ने स्वास्थ्य शाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्