April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
यसकारण लगाउनुपर्छ बालबालिकालाई टाइफाइड विरुद्धको खोप

यसकारण लगाउनुपर्छ बालबालिकालाई टाइफाइड विरुद्धको खोप

काठमाडौं । सरकारले भोलिदेखि देशभरका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ।

अभियानको औपचारिक सुरुवात आज नै प्रधानमन्त्री शेरबहादुर देउवाबाट भइसकेको छ। यो उमेर समूहका करिब ७५ लाख बालबालिकालाई लक्षित गर्दै सरकारले गाभी, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदार संस्थाहरूसँगको सहकार्यमा यो अभियान चलाउँदै छ।

यसअघि टाइफाइडविरुद्धको खोप स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको भएपनि अभियानकै रूपमा भने पहिलोपटक सरकारले बृहत अभियान सञ्चालन गर्न लागेको हो।

किन लगाउने टाइफाइडविरुद्धको खोप ? 
टाइफाइड/म्यादे ज्वरो ज्यानै जोखिममा पार्नसक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।

यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता लक्षण देखिन्छन् । कसै–कसैलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण पनि देखिन सक्छन् । यो रोगको संक्रमणपश्चात केही व्यक्तिहरूमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिस्क सम्बन्धी समस्याजस्ता जटिलता देखा पर्नसक्छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष १ लाख ५ हजार जनामा टाइफाइड संक्रमण देखिने गरेको छ भने १ हजार ४२ जनाको मृत्यु हुने गरेको छ । तीमध्ये ५९ प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् । त्यसैले पनि टाइफाइडविरुद्धको खोप अभियानलाई सरकारले महत्वपूर्ण अभियानका रूपमा अघि बढाएको छ । 

कहाँ र कहिले पाइन्छ खोप ? 
टाइफाइडविरुद्धको खोप अभियान देशभर भोलि आर्थत् चैत २५ गतेदेखि सञ्चालन हुँदै छ । स्थानीय तहहरूले तोकेअनुसार ५० हजार केन्द्रबाट खोप दिइने छ । लक्षित वर्गमा विद्यालय उमेरका बालबालिका रहेका हुनले विद्यालयबाटै खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अभियान वैशाख १८ गतेसम्म चल्ने छ ।

खोप लगाएपछि कस्ता असर देखिन सक्छन् ?
टाइफाइड विरुद्धको खोप एक डोज लगाउनुपर्दछ ।
यो खोप लगाइसकेपछि खोप लगाएको भागमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने आदि असर देखिनसक्छन् ।  यस्ता सामान्य असरहरू बिस्तारै आफैं ठिक भएर जान्छन् । यीबाहेक अन्य लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
 
कस्तो अवस्थामा नलगाउने खोप ?
विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा टाइफाइडविरुद्धको खोप लगाउनु हुँदैन । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ। तर साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कूपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज