July 16, 2026, Thursday
२०८३ असार ३२, बिहीबार
केपी ओली, प्रचण्ड – माधव र ऋषि कटेल मध्ये कस्ले पाउलान आधिकारिक नेकपा ?

केपी ओली, प्रचण्ड – माधव र ऋषि कटेल मध्ये कस्ले पाउलान आधिकारिक नेकपा ?

फागुन १३, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कसको हो भन्नेबारे निर्णय सुनाउने भएको छ ।

ऋषिराम कट्टेलले नेकपा नाममा दावी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने निर्णय गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले बताउनु भयो ।

 

नेकपा कसको भन्नेबारे सर्वोच्चले फागुन २० गते फैसला सुनाउने सर्वोच्च अदालतको वेबसाइटमा राखिएको मुद्दाको बिवरण कट्टेलले २०७५ मंसिर २१ गते नेपाल कम्युनिष्ट पार्टीमाथि दावी गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्नुभएको थियो । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहालले एकता गरेको पार्टीलाई आफ्नो पार्टीको नाम दिएपछि कट्टेलले मुद्दा दर्ता गराउनुभएको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा आफूहरू आधिकारिक भएको दाबी गर्दै आएका छन् । ओलीले पनि नक्कलीहरूले मात्र आधिकारिकता दाबी गर्ने भन्दै आफ्नो समूह नै आधिकारिक भएको बताउँदै आउनुभएको छ ।

ओली र दाहाल–नेपालबीच पार्टीको आधिकारिकताको बहस चलिरहँदा सर्वोच्चले नेकपाको विषयमा फैसला गर्न लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।