भ्रष्टाचारमा फस्ने भएपछि ‘प्रचण्ड – नेपाल’ले प्रधानमन्त्री विरुद्ध घेरावन्दी गरे : सेन
पौष १३, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सदस्य, कपुरकोट गाउँपालिका सल्यानका अध्यक्ष तथा नेकपा ओली समुहका नेता भिम बहादुर सेनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व एमाले भित्रका २ समुहको अन्तरविरोधमा खेल्न खोजेकाले पार्टीमा समस्या आएको बताएका छन ।
सोमबार खलंगामा भएको ओली समुह निकट अगुवा कार्यकर्ताहरुको सल्यान जिल्ला स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । सरकारले गरेका काम कारवाहि, विकास निर्माण बारे प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि विरोध नगरेको बेला आफ्नै पार्टीको प्रचण्ड – नेपालहरुले विरोध गरेको उनले बताए ।
पार्टी भित्र गुटबन्दी गरेर, प्रचण्ड – नेपालले पार्टी संचालन गर्न र सरकारलाई काम गर्न नदिएको नेता सेनको भनाई छ । ‘भ्रष्टाचार नियन्त्रणको लागी अख्तियार दुरुपयोग आयोग लगाएत, अन्य संवैधानिक अंगहरुका आयुक्तहरु लामो समय देखी खाली हुदा पनि नियुक्त गर्न दिईएन, भागबन्डा खोज्ने काम भयो ।’ उनले भने – ‘ आफुहरु भ्रष्टाचारमा फस्ने भएपछि काम गर्न नदिन प्रधानमन्त्री विरुद्ध घेरावन्दी भयो ।’
त्यस्तै नेकपाको विभाजन राजनितिक नभएको उनले बताएका छन । महाधिवेशनमा विचार , सिद्धान्त नमिलेर यो विभाजन भएको नभई सत्ता प्राप्तीको लागी मात्रै यो विभाजन भएको उनले बताए । प्रचण्ड नेपालले सडक संघर्ष गरेर प्रधानमन्त्री बन्न खोजेको उनको भनाई छ ।
प्रधानमन्त्रीलाई अविस्वासको प्रस्ताव बाट हटाउने र राष्ट्रपातिलाई महाअभियोग लगाएर हटाउने सडेन्त्र भएपछि गलत मान्छेलाई सत्ता दिनु भन्दा ताजा जनादेशको लागी निर्वाचनमा जाने भनेर विशेषाधिकार प्रयोग गरेर प्रधानमन्त्रीले संसद विघटन गरेको उनले दावि गरे ।
पौष ५ गते प्रधानमन्त्रीको सिपारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपा विभाजन उन्मुख भएको छ भने देश द्धन्द्ध तर्फ उन्मुख भएका छन । नेकपाकै प्रचण्ड नेपाल पक्ष सहित सवै राजनितिक दलहरु संसद विघटन र मध्यावधि निर्वाचनको विरोधमा रहेका छन । यसै सन्दर्भमा सोमबार सल्यानमा ओली समुह निकट नेता कार्यकर्ताहरुको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम भएको हो ।
जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा ओली समुहमा हालै मनोनीत गरेका केन्द्रिय सदस्य लोक बहादुर डाँगी, कुल बहादुर गिरी, प्रदेश कमिटी सदस्य भिम बहादुर सेन, जिल्ला कमिटी सदस्यहरु मनाेज सिंह, महेश देवकोटा, दिपेन्द्र डिसी, गनेशमान सिंह, सहनसिल्ता ओलि डिसी, लाेकेन्द्र खडका, पुष्पा बाेहरा, जित बहादुर चलाउने, देवेन्द्र राेका, घनश्याम शर्मा, जनक विक, ज्ञान प्रकाश शर्मा, इन्द्र खडका लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन दान बहादुर केसीले गरेका थिए ।
यसै विच सल्यानमा केपि ओली शर्मा निकट नेकपाको युवा र विद्यार्थी संगठनको जिल्ला भेला हुने भएको छ । सोमबार भएको ओली समुह निकट नेकपाको जिल्ला भेला तथा अगुवा कार्यकर्ता भेलाले दुई वटा जन वर्गिय संगठनको भेलाको मिति र संयोजक तोकेको हो ।
समुहले आफु निकट युवा र विद्यार्थी संगठनको जिल्ला भेलाको लागी पौष २१ गतेको मिति तय गरेको छ । जिल्ला भेला सम्पन्न गर्नको लागी रामबहादुर केसीलाई विद्यार्थी संगठनको संयोजकको जिम्मेवारी तोकीएको छ भने युवा संगठनको भेला सम्पन्न गर्नको लागी रुपक बुढालाई संयोजक तोकेको जानकारी दिईएको छ ।
प्रतिकृया दिनुहोस्