छत्रेश्वरीमा खेल गतिविधिलाई संस्थागत गर्दै लैजान पालिका स्तरिय समिति गठन
कार्तिक २०, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले खेलकुद विकास समिति गठन गरेको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले खेलकुद विकास समिति गठन तथा क्रियाकलाप संचालन सम्बन्धी कार्यविधि, २०८० को व्यवस्था अनुसार समिति गठन गरेको हो ।
कार्यविधिको दफा ४ को व्यवस्था अनुसार सुरेन्द्र चन्द अध्यक्ष रहेको १३ सदस्यीय पालिका स्तरिय खेलकुद विकास समिति गठन गरिएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर वस्नेतले जानकारी दिए ।
समितिको सदस्यहरुमा महेश वली, वसन्त भण्डारी, अभिमान विक, यज्ञश्वरी घर्तीमगर, सागर नेपाली, सुरेश घर्ती, गोविन्द पुन, पवित्र बहादुर विष्ट, तिलक बाबु चन्द, झरणदेवी वोहोरा, फौद बहादुर बस्नेत र सदस्य सचिवमा केशर बहादुर वली रहेका छन् । सदस्यहरु मध्येवाट पालिका खेलकुद विकास समितिले उपाध्यक्ष मनोनित गर्ने बताइएको छ ।
छत्रेश्वरी गाउँपालिकाभित्रबाट पनि प्रतिस्पर्धा गर्न सक्ने योग्य खेलाडीहरु उत्पादन गर्नुका साथै खेलकुदको क्षेत्रलाई विकास गर्ने उद्देश्य सहित समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताए । उनले भने, ‘खेलकुदको माध्यमबाट समाजमा अनुशासन र सामाजिक सद्भाव कायम राखी सुसंस्कृत समाजको निर्माण गर्न, स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्न र अनुशासित नागरिक उत्पादनका लागि खेलकुदको निकै महत्व छ ।
खेलकुदका गतिविधीहरुलाई संस्थागत रुपमा विकास गर्दै लैजाने उद्देश्यले कार्यपालिकाबाट कार्यविधि बमोजिम समिति गठन गरिएको हो ।’ पालिका खेलकुद विकास समितिको पदावधि गठन भएको मितिले ५ वर्षको हुने व्यवस्था छ । कार्यविधि अनुसार खेलकुद विकास समितिले गाउँपालिका भित्रका सबै वडाहरुमा वडा स्तरीय खेलकुद विकास समिति पनि गठन गर्न सक्ने छ ।
यसैविच छत्रेश्वरी गाउँपालिकामा वडा अध्यक्ष कप अन्तर्गतका प्रतियोगिताहरु सुरु हुने भएका छन् । वडा नम्बर ५ ले कार्तिक २२ र २३ गते लेखपोखरामा तेश्रो वडा अध्यक्ष कप सञ्चालन गर्न लागेको हो । यस्तै वडा नम्बर ४ ले पनि कार्तिक ५ गतेदेखी वडा अध्यक्ष कपको आयोजना गरेको छ ।
लेखकको सम्वन्धमा