April 26, 2024, Friday
२०८१ बैशाख १५, शनिबार
सल्यान छत्रेश्वरी ३ का ६ बस्ती खानेपानीको समस्यामा : बनेको आयोजना लथालिङ्ग

सल्यान छत्रेश्वरी ३ का ६ बस्ती खानेपानीको समस्यामा : बनेको आयोजना लथालिङ्ग

माघ १७, सल्यान । पानी लिन जाँदा २ घण्टा लाग्छ भन्दा अचम्म लाग्न सक्छ । सल्यानको छ्त्रेश्वरी गाउँपालिका – ३ खमेउलीका स्थानीयले पुस्तौँदेखि खानेपानीका लागि २ घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् ।

देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, धेरै परिवर्तन भयो तर १५ घर रहेको उक्त   बस्तीमा भने कुनै तन्त्रले छोएको छैन । व्यवस्थामा परिवर्तन आए पनि यो गाउँका स्थानीयवासीले डोकोमा पानी बोकेरै दैनिकी चलाइरहेका छन् ।

डोकोमा पानीको गाग्री बोकेर घरतर्फ आउँदै गरेकी ४० वर्षीया भुमा विकले भनिन्, ‘एक गाग्री पानी ल्याउन घन्टौं लाग्छ, बिहान उठेर पानी लिन जानुपर्छ । पानी बोक्दा बिहानको धेरै समय खर्च हुने भएकाले दैनिकी नै पानीको जोहो गर्न मै जान्छ ।’

गाउँमा खानेपानी नहुँदा घण्टौं हिँडेर पानी बोक्नुपर्ने बाध्यता रहेको अर्का स्थानिय परबिर बिकले बताउनुभयो । ‘वर्षौंदेखि आधा राति उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेका छन् ।’ खानेपानीको अभावले कतिले बसाइसराई गरेको र शौचालय प्रयोग गर्न तथा पशु चौपायालाई खुवाउन समस्या भएको उहाँको भनाइ छ ।

बर्षायामको समयमा मुहान तथा खोल्साका पानीका स्रोतहरु दुषित हुने र गर्मी समयमा मुहान सुक्ने भएकाले काकाकुल जिवनयापन गर्न बाध्य भएको स्थानियहरुको भनाइ छ ।

खानेपानी समस्याका कारण बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको स्थानिय गायत्री पुनले बताउनुभयो । घण्टौ हिडेर विद्यार्थी स्कुल जानुपर्ने एउटा समस्या त छदै छ त्यसमापनि ‘सधैं पानीकै चिन्ता हुन्छ, पानीको समस्याले घरको कामकाज समेत दैनिक प्रभावित भइरहेको छ’ उहाँले भन्नुभयो ।

उक्त टोलमा मात्र हैन वडा ३ का अन्य ४ टोलले खानेपानीको समस्या जेल्दै आएका छ्न । वडाका कोर्बाङ कोट, टुनिबोट, सिमपानी र नुवागाउँ  गरेर ४ टोलले पनि खानेपानीको समस्या जेल्दै आएका हुन ।

उच्च बस्ती भएको र गर्मी समय आउन लाग्दा  पानीको मुहान घट्दै गएको हुनाले स्थानीयलाई खानेपानीको जोहो गर्न समस्या हुन थालेको हो ।

खानेपानीको समस्या हल गर्न ३ बर्षअघि ज्यामिरे खानेपानी आयोजना शुरु गरेर काम गरेपनी अहिले लथालिङ्ग अवस्थामा छ । २ करोड ६२ लाखमा सम्पन्न गर्ने गरि ३ बर्ष अघि काम शुरु भएको थियो । करिव ८०% काम सम्पन्न भएको  खानेपानी योजनाको काम अहिले लथालिङ्ग अवस्थामा छ । काम गर्दा गर्दै बिचमै लथालिङ्ग बनाएर छोडेर ठेकेदार गयो अब यो आर्थिक बर्षको अन्तिमसम्म उक्त ठेकेदारलाई दिएको समयावधि सकिन्छ । काम सम्पन्न नगरे कालोसूचीमा राखी अर्को ठेक्का प्रक्रिया अघि बढाइने वडाध्यक्ष तिर्थराज दहालले बताउनुभयो ।

उक्त योजना सम्पन्न भएपछी यहाँका खमेउली, ज्यामिरे, टुनिबोट, सिमपानी, कोर्बाङकोट र नुवागाउँगरि ६ टोलका करिव ४०० भन्दा बढी घरधुरी लाभान्वित हुनेछ्न ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज