March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
सल्यानको एक पालिका  जहाँ पालिका केन्द्र जान स्थानीयलाई ३ पालिका पार गर्नुपर्छ

सल्यानको एक पालिका जहाँ पालिका केन्द्र जान स्थानीयलाई ३ पालिका पार गर्नुपर्छ

साउन ०६, सल्यान। स्थानीय सरकार भनेकाे घर नजिककाे सरकार भन्ने बुझिन्छ । स्थानीय पालिका एक भौगोलिक तथा शासकीय तह हो जसको कार्यकारिणी अङ्ग गाउँ तथा नगर कार्यपालिका हुन्छ।

नेपालमा संघीय संरचना हुनुपुर्व तत्कालिन जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरू यतिबेला स्थानीय तहले गर्ने गरेका छन् । जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यका लागि जिल्ला सदरमुकामसम्म धाउनुपर्ने नागरिकहरु यतिबेला आफ्नै स्थानीय पालिकाबाट गर्दै आएका छन् ।

तर सल्यान दमाचाैरका नागरिक भने आफ्नै गाउँपालिकाकाे केन्द्र जान पनि जिल्ला सदरमुकामभन्दा टाढाकाे बाटाे धाउने गरेका छन् । २०७२ मा स्थानीय तहकाे सिमांकन गर्दा तत्कालिन दमाचाैर गाविस सहित लेखपाेखरा, झिम्पे र छाँयाछेत्रलाइ मिलाएर छत्रेश्वरी गाउँपालिका बनाइएकाे हाे ।

गाउँपालिकाकाे केन्द्र भाेटेचाैरमा राखियाे । भुगाेलकाे हिसाबले दमाचाैरबाट भाेटेचाैर जानलाइ जिल्ला भित्रका अन्य ३ वटा पालिका पार गर्नुपर्छ । दमाचाैरबासी भाेटेचाैर जानलाइ बागचाैर नगरपालिका हुँदै, सिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिकाकाे बाटाे भएर भाेटेचाैर पुग्ने गर्दछ ।

तत्कालिन दमाचाैर गाविसलाइ अहिले छत्रेश्वरी गाउँपालिकाकाे वडा नम्बर १ र २ मा खण्डित गरिएकाे छ । गाउँपालिकाकाे केन्द्र जानलाइ सबैभन्दा धेरै कष्ट वडा नम्बर १ बासीलाइ हुने गरेकाे स्थानीय लाल बहादुर चन्द बताउँछन् । ‘हामीले आफ्नै गाउँपालिकाकाे केन्द्र जानलाइ ३ वटा पालिका पार गर्नुपर्छ, याे कस्ताे खालकाे संरचना हाे ?’, उनले प्रश्न गरे ।

त्यतिबेला ठुला नेताहरुले आफ्नाे राजनीति अस्तित्वकाे लागि दमाचाैरलाइ छत्रेश्वरीमा मिसाएर दुख दिएकाे उनकाे भनाइ छ । उनले भने, ‘हामीलाइ भाैगाेलिक दुरीकाे हिसाबले बागचाैर धेरै नजिक पर्छ । तर दमाचाैरमा नेताकाे पहुँच नहुँदा छत्रेश्वरीमा मिसाएर गाउँपालिका बनाइएकाे हाे ।’

वृद्धाभत्ता ल्याउनकै लागि दुइतिनदिन लगाएर भाेटेचाैर जानुपरेकाे स्थानीय त्रिभावन खत्री बताउँछन् । ‘हामी बृद्धाभत्ता ल्याउन बागचाैर नगरपालिका हुँदै भाेटेचाैर जान्छाैं । एकदिनमा काम सकिदैन । बास बसेर अर्काे दिन फर्किनुपर्छ ।’, उनले भने, ‘बागचाैर नगरपालिका भएकाे भए उसैदिन काम गरेर फर्किन सकिन्थ्याे ।’

दमाचाैरमा पहिला नेतृत्वकाे पहुँच नहुँदा छत्रेश्वरीमा राखेकाेले अन्याय भएकाे भन्दै स्थानीय केपी शर्माले अब दमाचाैरलाइ बागचाैरमा गाभ्नुपर्ने बताउँछन् । उनले भने, ‘हामी अब दमाचाैरलाइ बागचाैरमा मिसाउनु पर्छ । त्यसका लागि सबै निकायसम्म पुग्छाैं ।’ दमाचाैरलाइ बागचाैरमा मिलान गर्नकाे लागि दमाचाैरबासीले छिट्टै संघर्ष समिति बनाएर अघि बढ्नुपर्ने उनकाे भनाइ छ ।

अर्का स्थानीय क्षेत्र केसी भन्छन्, ‘हामी बागचाैर नगरपालिकाबासी भएकाे भए बिहान पालिका गएर काम नसकिएपनि साँझ घर फर्किन सकिन्छ । तर भाेटेचाैर हुँदा काम नसकिदाँ उतै बास बस्नुपर्छ ।’

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज