February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
संघियता फाल्ने, हिन्दुराष्ट्र राख्ने एजेण्डाले जित्दैछ तर राप्रपाले….?

संघियता फाल्ने, हिन्दुराष्ट्र राख्ने एजेण्डाले जित्दैछ तर राप्रपाले….?

राजेन्द्र बीर राय
२४ असार २०७८ ।

विवादै विवादको भूमरीमा पिल्सिएको सत्तारुढ दल एमालेको केन्द्रीय समिति बैठक सरकारी निवास बालुवाटारमा केहि दिनअघि सकियो । तर बैठकको तरंग नागरिक बहसमा केन्द्रीत हुन पुगेको छ । धर्मनिरपेक्षता र संघियताको हिमायती एमाले बैठकमै समिक्षाको प्रस्ताव आउनु चानचुने बिषय पक्कै होइन । गणतन्त्रको काँधमा चढेर बालुवाटार पुगेका प्रधानमन्त्रीको निवासमै धर्मनिरेपक्षता र संघियता खारेजीको बहस चल्नु पक्कैपनि दमरहित आत्मसन्तुष्टीका लागि होइन ।

एमाले युवा नेताको प्रस्ताव यतिबेला नागरिक छलफलमा मात्र छैन, दलका इजलासमा पनि प्रवेश गरेको छ । तर यी एजेण्डा एमालेका आफ्ना एजेण्डा होइनन्, न्वारणकालदेखि राप्रपाले बोक्दै आएका राजनीतिक एजेण्डा हुन् । राप्रपाका तीन जलगैडे रथले बोकेका एजेण्डा महेश बस्नेतले टपक्क टिपेर बालुवाटार पुरयाएका छन् ।

हिन्दूराष्ट्रका पक्षमा र संघियता खारेजीको एजेण्डा बोक्ने राप्रपा यतिबेला अरवी घोडा बन्नु पर्दथ्यो । तर जलगैडा बन्यो । तीन पैया र पाउबाट चलेको जलगैडाभन्दा एक काँधबाट तानिएको अरवी घोडाको रथ निकै तेज हुन्छ । अरवी घोडामा पनि ब्रेक लाग्यो भने किंम्बदन्ती र उपमा बदलिन्छ ।

जनताप्रति उत्तरदायी पार्टीहरु पनि तेज रफ्तारमा चल्ने अरवी घोडा बन्नुपर्दछ । यसमा ब्रेक लाग्यो भने पार्टी लुलो हुन्छ, एजेण्डा धुलो हुन्छ । राप्रपालाई जलगैडाबाट निकालेर अरवी घोडा बनाउन कार्तिकमा महाधिबेशन हुँदैछ । महाधिबेशनले राप्रपाका एजेण्डा तेज रफ्तारमा वोक्ने बायुयानको पाइलट तयार गर्नेछ ।

सत्तारुढ दल, प्रतिपक्ष र जनतामा राप्रपाका एजेण्डा जागेका छन् । विस्तारै राप्रपाका एजेण्डाहरुले जित्दै गएका छन् । तर राप्रपा जित्ने ठाउँमा पुग्यो ? पक्कैपनि छैन । एजेण्डा र राप्रपालाई संगसँगै जिताउन बायुयानको पाइलट छान्नमा ढिलो गर्नुहुँदैन । संघियता खारेज र पहिचानसहितको हिन्दूराष्ट्रका पक्षमा सत्तारुढ र प्रतिपक्षले बहस गरेपनि उनीहरुसँग राप्रपाको आधा यात्रा मात्र हो ।

उनीहरु केवल चुनाव जित्न लोकप्रिय नारा हिन्दूराष्ट्र चाहन्छन् तर राप्रपाको संस्थापनदेखि कै यात्रा संबैधानिक राजतन्त्रसहितको हिन्दूराष्ट्र हो । यो एजेण्डामा पनि ढिलो चाँडो सत्ता पक्ष र प्रतिपक्ष दुवै आउने निश्चित छ । यी एजेन्डा चुनाव जित्नका लागि मात्र प्रयोग गरिएको छ । चुनाव जितेपछि यी एजेण्डा लागु गराउन र जनमत संग्रहमा जाने आँट अझै एमालेमा पलाइसकेको छैन ।

धर्मनिरपेक्षताको सट्टा पहिचानसहितको हिन्दूराष्ट्र, संघियताको सट्टा अधिकारमा सम्पन्न विकेन्द्रीकरण प्रणाली जसले पनि चुनावी नारा र एजेण्डा बनाउन सक्छन् तर कार्यान्वयन गर्ने आँट अझै पलाएको छैन । जवसम्म राप्रपाको हलोले जित्दैन तवसम्म जनताको भलो हुँदैन ।

हलो जिताउने एउटा मात्र सर्त छ, त्यो हो एक ढिक्का राप्रपा, एक ढिक्का एजेण्डा । एजेण्डामा विमति कसैको छैन । तर नागरिकमा लैजाने तरिका भने फरक फरक छन् । यही फरकपनलाई एक ठाउँमा ल्याउन नै महाधिबेशन आवश्यक छ ।

राप्रपाले बैकल्पिक शक्ति निर्माणका लागि एकता गरेको थियो । बैकल्पिक शक्ति बन्ने अग्नीपरीक्षा शुरु हुँदैछ । आगमी कार्तिकमा महाधिबेशन, फागुनमा स्थानीय तहको निर्वाचन र त्यसपछि आम निर्वाचन । ती तीन कार्यभारमा राप्रपा खरो उत्रिन सक्यो भने बैकल्पिक शक्ति बन्नसक्छ । नेता पदकालागि लड्ने तर एजेण्डाका लागि नलड्ने हो भने विनाश बाहेक अरु छैन ।

पार्टीका जिम्मेवार पदमा पुग्न जो कोही राजनीतिज्ञको आश हुन्छ । तर त्यसका लागि एजेण्डा बोक्ने अरवी घोडा बन्नुपर्छ । कुनै नेताप्रति आक्रोश पोख्नलाई मात्र मिडियामा नेता बनेर हुँदैन ।

आफ्नै पार्टीका अध्यक्षबिरुद्ध मिडियामा आगो ओकल्ने प्रचलन राप्रपामा भित्रिन थालेको छ । पार्टीका नेता विरुद्ध आगो ओकल्दा नेपालका धेरै पार्टीहरु धरापमा परेका छन् । यही नियतिले नेकपा फ्ट्यो, माओवादी फुट्यो, एमाले डिलमा छ भने कांग्रेस चिरै चिराको महाचिरामा छ । कतिपय साथीहरुले राप्रपालाई पनि यही घानमा हाल्ने प्रयत्न गर्दैछन्, त्यो सफल हुँदैन ।

राप्रपा कमजोर हुनेवितिकै दशर्काैदेखि उठाउँदै आएका एजेण्डा कांग्रेस र एमालेको कहचरीमा पुग्नेछन् । ति एजेण्डा राप्रपाका होइन, कांग्रेस, एमालेका हुनेछन् । त्यतिबेला राप्रपाले हार्नेछ । यो हारको जिम्मा कसले लिने ? कसैको ब्यक्तिगत स्वार्थका लागि हाम्रा एजेण्डा विवारिसे बनाउन लाखौ कार्यकर्ताले दिने छैनन् ।

आगमी निर्वाचनमा राप्रपा कसरी जाने ? अहिलेदेखि नै ब्यापक छलफल र बहस हुन जरुरी छ । नेताको विरोधभन्दा हाम्रो शक्तिध्यान एजेण्डा र निर्वाचनमा हुनुपर्दछ । कम्यूनिष्टहरु यतिबेला एजेण्डाविहीन बनेका छन् भने कांग्रेससँग अब्बल एजेण्डा छैनन् । दलहरुसँग प्रतिस्पर्धा गर्न र नागरिकमा जान यतिबेला सहत छ । कांग्रेस र एमालेकोभन्दा हाम्रो संगठनहरु केही कमजोर छन् । त्यसलाई मजबुत बनाउनु राप्रपा नेता कार्यकर्ताको प्रमुख कार्यभार हो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज