January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
सल्यानको छत्रेश्वरीमा एकै वर्ष ८१२ घरधुरीमा शुद्ध पानी पुर्याउने लक्ष्य

सल्यानको छत्रेश्वरीमा एकै वर्ष ८१२ घरधुरीमा शुद्ध पानी पुर्याउने लक्ष्य

कार्तिक १४, सल्यान ।

उपभोक्ताको घरघरमा सुरक्षित खानेपानीको पहुँच पुर्याउन सल्यानको छत्रेश्वरी गाउँपालिकामा यस वर्ष ‘सुस्वा’ परियोजना अन्तर्गत ६ वटा खानेपानी योजनाको काम सुरु भएको छ ।

चालु आर्थिक वर्षमा २०८०।०८१ मा छत्रेश्वरी गाउँपालिकामा ६ वटा खानेपानी योजना र ४ वटा सौचालय निर्माणका योजना सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । यस वर्ष ६ वटा वडाका ८१२ घरधुरीमा सुद्ध, सफा र स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिए । गाउँपालिकाको वास प्लान अनुसार यस वर्ष प्राथमिकिकरणमा परेका ५ वटा खानेपानी योजनाको पुनःनिर्माण, मर्मत र एउटा नयाँ लिफ्ट प्रणालीको योजना सम्पन्न गर्नेगरी प्रक्रिया अगाडी बढिसकेको उनको भनाई छ ।

छत्रेश्वरी गाउँपालिकाले नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन यूनियनसंगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) योजना अन्तर्गत खानेपानी तथा सरसफाई क्षेत्रको समस्या समाधान गर्न योजना तथा कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाको वास ईकाईका अनुसार छत्रेश्वरीको वडा नम्बर १ मा दुधेलीगैरा खानेपानी योजना, वडा नम्बर २ मा पाङ्ग्रेखोला दमाचौर खानेपानी योजना, वडा नम्बर ३ मा बिउरेखोला दारिमज्यूला खानेपानी योजना, वडा नम्बर ४ मा ढुंगेखानी हाँरिचौर खानेपानी योजना र वडा नम्बर ६ मा छहरेखोला पानीखोला खानेपानी योजनाको मर्मत एवम् पुनःनिर्माणको काम हुने छ भने वडा नम्बर ५ मा ढोरलाचौर लिफ्ट खानेपानीको नयाँ योजना सम्पन्न हुनेछ ।

यस्तै ३ वटा सामुदायीक विद्यालय र एउटा सामुदायीक भवनमा वास सहितको सौचालय निर्माण हुने पनि गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । उनका अनुसार जानकी मावि वडा नम्बर ३, लक्ष्मी मावि वडा नम्बर ४, सामुदायीक भवन गरिपारे वडा नम्बर ५ र नवदुर्गा आवि वडा नम्बर ७ मा वास सौचालय निर्माण हुनेछ । लैंगीक समता, अपांगता तथा सामाजिक समावेशीकरणमैत्री संरचना निर्माण हुने संयोजक केसीले जानकारी दिए ।

३० चरणमा योजना सम्पन्न हुने जानकारी दिदै उनले यस वर्ष ८१२ घरधुरीमा एक घर, एक धारा पुर्याइने र पानी सुद्धिकरणका लागि प्रत्येक योजनामा ‘ईनलाईन क्लोरिनेशन’ राखिने उल्लेख गरे । सबै योजनाको उपभोक्ता समिति गठन भइसकेको छ भने समितिका पदाधिकारीहरुलाई अभिमुखिरण, योजना सञ्चालन हुने ६ वटै वडामा वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको केसीले जनाए । उपभोक्ता समितिलाई सरसफाई र स्वच्छता, लैंगीक समता, अपांगता तथा सामाजिक समावेशीकरण, घरबारी व्यवस्थापन, वालवालिकाको सरसफाई व्यवस्थापन लगाएतका विषयमा अभिमुखिकरण गरिएको छत्रेश्वरीको वास ईकाईले जनाएको छ ।

यस वर्ष सञ्चालन हुने केही योजनाको सर्वे, डिजाईनको काम सम्पन्न भइसकेको र केही योजनाहरुमा सर्वेको काम भइरहेको प्राविधिक सहजकर्ता गम्भीरजंग चन्दले जानकारी दिए । योजना सञ्चालनका लागि कति बजेट आवश्यक पर्छ भन्ने यकिन गर्नका लागि लागत अनुमान तयार भइरहेको पनि उनले जनाए । उनका अनुसार यहि मंसिर महिना सम्ममा सम्पूर्ण योजनाको लागत अनुमान तयार भैसक्ने छ भने एउटा वास सौचालय निर्माणका लागि करिव १० लाख रकम खर्च हुने छ ।

खानेपानी योजनाहरुलाई पारदर्शी, दिगो बनाउन गाउँपालिकाको वास समितिबाट हुने अनुगमनलाई प्रभावकारी बनाइने गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । उनले वडा तथा वस्ती स्तरबाट पनि अनुगमन, योजनामा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । पालिकाको र सुस्वाको संयुक्त लगानीमा छत्रेश्वरीका नागरिकलाई शुद्ध खानेपानी, घरआँगन सफा, वातावरण संरक्षणका क्षेत्रमा देखिने गरी काम गर्ने गाउँपालिकाले जनाएको छ । वास प्लान अनुसार आगामी वर्ष फेरी अन्य स्थानका योजनाहरु सञ्चालन हुने बताइएको छ ।