December 10, 2024, Tuesday
२०८१ मंसिर २५, मंगलवार
आफ्नै बुहारीले गरिन सासुको दाउराले हानेर हत्या

आफ्नै बुहारीले गरिन सासुको दाउराले हानेर हत्या

असोज २१, सल्यान ।

सल्यान सिद्धकुमाखमा आफ्नै घरको भकारोमा मृत भेटिएकी महिलालाई बुहारीले हत्या गरेको पुष्टी भएको छ ।

सिद्धकुमाख गाउँपालिका ४ बार्खन निवासी ४९ वर्षिय गणेशी रोकालाई उनकै कान्छी बुहारी १८ वर्षिय शर्मीला बुढाथोकीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी प्रवक्ता ईन्सपेक्टर गोपाल श्रेष्ठका अनुसार अभियुक्त शर्मीलालाई प्रहरीले १९ असोजमा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमती पाएको छ ।

गत असोज १५ गते हराएकी भनिएकी मृतक गणेशी १८, असोजमा विहान सवा ८ बजेतीर आफ्नै घरको भुई तला स्थित धान राख्ने भकारोमा मृत फेला परेकी थिइन् । इन्सपेक्टर श्रेष्ठको टोलीले उक्त घटनालाई शुक्ष्म रुपले अनुसन्धान गर्दा आफ्नै बुहारीले हत्या गरेको पुष्टी भएको हो ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ सेरा माइती घर भएकी शर्मीलाले मृतक गणेशीका कान्छा छोरा अमर रोकासंग गएको बैशाखमा प्रेम विवाह गरेकी थिइन् । मृतकका छोरा अमर मामाको घरमा टिमुर टिप्न र छोरी विद्यालय गएको बेला १५ असोजको दिन दिउँसो खेतमा धान चुट्ने समयमा सासुवुहारीको विच घरायसी विषयमा विवाद भएको थियो ।

धान खेतबाट फर्किसकेपछि कोही नभएको अवस्थामा सासुवुहारीविच दिउँसो ३ बजेको समयमा पुनः घरको विचकोठामा विवाद भयो । यसैबिच वाहिर भान्सा नजिकै राखेको दाउरा उठाएर बुहारी शर्मीलाले सासुलाई टाउकोमा प्रहार गरेकी थिइन् । प्रहरी प्रवक्ता इन्सपेक्टर श्रेष्ठ भन्छन्, ‘दाउराले प्रहार गर्दा सासु गणेशी भुईमा लडेपछि सोही दाउराले शरिरका अन्य भागमा पटक पटक प्रहार गरी छटपटाईरहेको अवस्थामा कपडाको सलले घाँटीमा कसेर हत्या गरेको देखिन्छ ।’ शर्मीलाले सासुको मृत्यु भएको एकिन भएपछि शवलाई उक्त घरको दक्षिण तर्फ रहेको कोठामा रहेको काठको धान राख्ने भकारोभित्र लुकाई छिपाई राखेको तथा घटना लुकाउने उद्देश्यले घटना भएको कोठामा लतपतिएको रगत समेत छिपाउन लिपपोत गरेकि थिइन् । मृतक गणेशीका श्रीमान, तीन छोरा, दुई बुहारी र एक छोरी छन् ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज