सल्यानमा आफ्नै छोराले गरे आमाको हत्या
साउन २३, सल्यान ।
सल्यानमा आफ्नै छोराले लाठी प्रहारगरि आमाको हत्या गरेका छन ।
जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षकी आमा शारदा भण्डारीको आज हत्या गरेको सल्यान प्रहरीले जनाएको छ ।
सल्यान प्रहरी प्रमुख डिएसपी दामोदर केसीका अनुसार नवीन आफूलाई देउता चढेको भन्दै बिहान ४ बजे बुवाआमा सुतेको कोठामा काँप्दै प्रवेश गरेका थिए ।
विभिन्न धार्मिक तन्त्रमन्त्र जप्दै नवीनले कोठामै रहेको पैयाँको लठ्ठीले आमाको टाउको अन्धाधुन्ध प्रहार गर्दा मृत्यु भएको हो ।
नवीनले २ दिन अघिदेखि नै आफूलाई देवता चढेको भन्दै आएको उनका बाबुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
आमाको हत्या गरेका नवीनलाई बिहान ६ बजे प्रहरीले पक्राउ गरिसकेको छ ।
नवीन घरको जेठा छोरा हुन् भने उनका भाइ रोजगारीको सिलसिलामा भारत छन् । शारदाकी सुत्केरी छोरी भने आफन्तका घरमा पाहुना लाग्न गएकी थिइन ।
तीन दिन पहिले पनि शारदा नगरपालिका–१४ की ४५ वर्षीया प्रमिला गिरीको बिहान घर नजिकै मकै बारीमा घाँस काट्न गएको समयमा घाँटी रेटेर हत्या भएको थियो । हत्या आरोपित व्यक्ति नाताले जेठाजु पर्ने र ती फरार रहेको हुँदा खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
लेखकको सम्वन्धमा