February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
घाँस काट्न गएकी प्रमिलाको हत्या

घाँस काट्न गएकी प्रमिलाको हत्या

साउन २१, सल्यान ।

सल्यानको शारदा नगरपालिका–१४ की ४५ वर्षीया प्रमिला गिरी आइतबार बिहान घर नजिकै मकैबारीमा घाँस काट्न गएकी थिइन् ।

खाना खाने बेला भइसक्दा पनि उनी नफर्किएपछि करिब १० बजे श्रीमान खड्गबहादुर गिरी मकैबारीतिर गए । मकैबारीमा प्रमिला ढलिरहेको देखेपछि उनको होस उड्यो ।

प्रमिला रगताम्मे थिइन् । घाँटीमा चोट थियो । प्रमिलाको बीभत्स अवस्था देखेर खड्गबहादुरले गुहार मागे । तत्कालै उनले प्रहरीलाई फोन गरे ।

उक्त खबरपछि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खनालले बताए । उनका अनुसार प्रमिलाको घाँटी काटेर हत्या गरिएको छ ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दामोदर केसी सहितको टोली खटिएको थियो । अनुसन्धानको क्रममा प्रहरीले नजिकै हँसिया समेत फेला पारेको छ ।

घटनाको प्रकृतिअनुसार कसैले रिसिइबी साँध्नका लागि हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको प्रारम्भिक निष्कर्ष छ। उनको हत्या नजिकका व्यक्तिले नै गरेको हुनुपर्ने प्रहरी बताउँछ ।

प्रमिलाकी तीन जना छोरी छन् । दुई जनाको विवाह भइसकेको छ भने १५ वर्षीया कान्छी छोरी उनीहरूसँगै बस्छिन् ।

डिएसपी दामोदर केसीले उनको हत्याको कारण सम्पत्ति हुनसक्ने बताए।

‘अहिले यति बुझ्नुहोस् नजिकको आफन्तबाट सम्पत्तिको लालचका कारण प्रमिलाको हत्या भएको देखिन्छ,’ डिएसपी दामोदर केसीले भने, ‘प्रमिलाको हत्या गरे सम्पत्ति सबै हात पर्छ भन्ने सोँचले हत्या भएको हुनसक्छ ।’

उनको हत्या आरोपी को हुन् भन्ने डिएसपी केसीले खुलाएनन् ।

‘प्रहरीले प्रमिलाको हत्यामा संलग्न व्यक्तिको पहिचान गरिसकेको छ,’ उनले भने, ‘आरोपित व्यक्ति हाल फरार छन् र खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।’

फरार व्यक्तिको हुलिया देश भरका प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको हुँदा उम्किन नसक्ने उनले बताए ।

‘फरार व्यक्ति आसपासमै छन् र धेरै टाढा पुगेका छैनन् भन्ने हाम्रो ठहर छ,’ उनले भने, ‘उनको चौतर्फी खोजी भइरहेको छ ।’

प्रमिलाको शव पोष्टमर्टका लागि जिल्ला अस्पताल खलंगामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज