सल्यानको छत्रेश्वरीमा बृहत योग शिविर सुरु : स्वस्थ नागरिक बनाउने उदेश्य
जेठ १७, सल्यान ।
रोग लाग्नै नदिने र लागिहालेमा पनि निको गराउनका लागि भन्दै सल्यानमा बृहत योग शिविर सुरु भएको छ ।
मेरो स्वास्थ्य, मेरो जिम्मेवारी भन्ने नारा सहित सल्यानको भोटेचौरमा योग शिविर सुरु भएको हो । शिविरको बुधबार उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले योगका माध्यमबाट स्वस्थ बन्न सकिने भएकाले नियमित योग गर्नुपर्नेमा जोड दिए । उनले पालिकाका सबै वडामा योग जागरण ल्याउनका लागि आगामी दिनमा योजना बनाएर अघि बढ्ने बताए ।
एक हप्ता सम्म चल्ने योग शिविरमा हरेक दिन योग, योगाभ्यास, प्राणायाम, आयुर्वेद र संस्कारको बारेमा प्रशिक्षित गरिने छत्रेश्वरी गाउँपालिका आयुर्वेद शाखाका प्रमुख कविराज निरीक्षक गणेश रावलले जानकारी दिए । उनका अनुसार विहान ४:३० बजेदेखी ६:३० बजेसम्म योग कक्षा संचालन हुनेछ ।
बुधबार योग शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले शारीरिक एवम मानसिक स्वास्थ्यका लागि सबैलाइ योग अभ्यासमा प्रेरित गर्नुपर्ने बताइन् । यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत केशरी देवी भट्टराईले मानव जिवनका लागि योग र आयुर्वेद बिज्ञानको महत्व रहेको बताइन ।
शिविरमा पतन्जली योग समिती नेपालका युवा अध्यक्ष लोकनाथ खनाल मुख्य प्रशिक्षकको रुपमा रहेका छन् । उनले योगले स्वास्थ्य, सुन्दरता, आनन्द र प्रसन्नता प्राप्त हुने भन्दै सरल जीवनयापनका लागि आग्रह गरे ।
कार्यक्रममा पतन्जली योग समिती दांगका अध्यक्ष केत नारायण आचार्य , समितिका सल्यान अध्यक्ष प्रेम कुमार आचार्य, समितिकै शारदा नगरपालिका अध्यक्ष कमल अधिकारी लगायतको पनि सहभागिता थियो ।
शिविरमा खानपान, सरसफाइ, आनीबानीको विषयमा पनि सहभागीलाई प्रशिक्षण दिइने आयुर्वेद शाखाले जनाएको छ । सुरुको दिन शिविरमा ५० जना बढिको उपस्थिति थियो ।
लेखकको सम्वन्धमा