वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धीमूलक बनाउनुपर्नेमा छत्रेश्वरीका अध्यक्ष बुढाथोकीको जोड
बैशाख १५, सल्यान ।
सल्यानमा समूदायका अगुवाहरुसंग आप्रवासको असर तथा प्रभाव संगै कामदारलाई सामाजिक वहिष्कारण र प्रभाव न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत शुक्रबार जिल्लाको छत्रेश्वरी गाउँपालिकामा अन्तरक्रिया गरिएको हो । स्वदेशमा नै रोजगारी गर्न, वैदेशिक रोजगारीमा जाने भए सही सुचना लिएर र सीप सिकेर मात्रै जानुपर्नेमा यस कार्यक्रमले मुख्यतया जोड गरेको छ ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले वैदेशिक रोजगारीलाई सुरक्षित तथा अधिकतम उपलब्धीमूलक बनाउन यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । आफुहरु स्थानीयस्तरमै रोजगारी श्रृजनामा प्रयासरत रहेपनि यसले बैदेशिक रोजगारीलाई रोक्न नसकेको बताउँदै उनले आवश्यक सीप, ज्ञान र सूचना प्राप्त गरेर मात्र विदेश जानुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा सामी कार्यक्रमका अधिकृत विष्णु अर्यालले यस परियोजनाले श्रम, रोजगार, सीप, सामाजिक सुरक्षा जस्ता क्षेत्रमा काम गरिरहेको बताउँदै प्रस्तुतीकरण गरेका थिए । वैदेशिक रोजगारमा गएका व्यक्तिको घरमा रहेका श्रीमति माथीको सामाजिक बहिस्करण, उनीहरु प्रती हेर्ने दृष्टिमा परिवर्तन ल्याउनुपर्ने कुरामा जोड दिएको थियो ।
कार्यक्रममा वैदेशिक रोजगार बोर्डबाट कल्याणकारी कोष अन्तरगत प्रदान गरिने सहायताबारे पनि अभिमुखिकरण गरिएको सामी कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता कमला शाहीले जानकारी दिइन् । उनका अनुसार यो कार्यक्रम मार्फत सुचनाको पहुँच, न्यायमा पहुँच, सिप विकास कार्यक्रम, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता सहित अन्य सेवामा सहजता प्रदान हुनेछ । वैदेशिक रोजगारीबाट सृजित समस्या ऋृण, ठगी, जेल शोषण, अलपत्र, अंगभंग, पारिवारिक बेमेल, छोड पत्र, विखण्डन, सामाजिक लाञ्छना, मानसिक तनाव, बालबच्चा र वृद्धहरूको हेरचाहमा समस्या जस्ता क्षेत्रमा पनि सामी कार्यक्रमले काम गर्ने बताइएको छ ।
वैदेशिक रोजगारीको क्रममा कतिपय व्यक्तिहरु ठगिमा पर्नेगरेको जनाउदै छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले पिडितलाई न्याय र पिडकलाई कानुनी दायरामा ल्याउनका लागि पनि विशेष ध्यान दिनुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरु, सामी कार्यक्रमका जिल्ला संयोजक विमल गौतम, स्वास्थ्य शाखा, रोजगार शाखा, सुरक्षाकर्मी, सामी कार्यक्रमका कर्मचारी लगाएतको सहभागिता थियो ।
#वैदेशिक रोजगार #छ्त्रेश्वरी गाउँपालिका सल्यान
लेखकको सम्वन्धमा