दाङमा मगर भाषाको बारेमा अभिमुखिकरण र तालिम सम्पन्न
बैशाख १३, दाङ । दाङमा मगर भाषाको बारेमा अभिमुखिकरण संगै तालिम सम्पन्न भएको छ ।
मगर भाषा तथा मगर संस्कार र संस्कृति संरक्षण एवम् सम्बर्द्धनमा टेवा पुर्याउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा अभिमुखिकरण तथा तालिम सञ्चालन गरिएको हो ।
सोमबार उद्घाटन संगै अभिमुखिकरण गरिएको थियो भने मंगलबार मगर भाषा सम्बन्धी तालिम सञ्चालन गरेर समापन गरिएको नेपाल मगर सांस्कृतिक संघका लुम्बीनी प्रदेश इन्चार्ज तथा कार्यक्रम संयोजक प्रेम विवश घर्ती मगरले जानकारी दिए ।
मगर भाषाहरु धेरै थरिका रहेको भए पनि ढुट भाषाको बारे तालिममा जानकारी दिइएको थियो । तालिममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा भाषा विज्ञ डा. विष्णु कुमार सिंजाली, मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, महासचिव टेक रामजाली मगर लगाएतले प्रशिक्षण दिएका थिए ।
तुलसिपुर उपमहानगरपालिकाको २ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा नेपाल मगर संघ तुलसीपुर नगर समितिको समन्वयमा नेपाल मगर संघ वडा समिति तुलसीपुर २ ले अभिमुखिकरण तथा तालिम सञ्चालन गरेको हो । नेपाल मगर संघ केन्द्रिय अध्यक्ष पुन मगरले आफ्नो भाषा, संस्कृति जोगाउन मगरहरूलाई जागरुक हुन आवश्यक रहेको बताए ।
आफ्नो क्षेत्र भित्रका कला, संस्कृति, भाषा र भेषभूषाको संरक्षणमा सक्दो प्रयत्न गरिने जनाउदै वडा नम्बर २ का वडा अध्यक्ष भिम बहादुर योगीले लोपोन्मुख भाषा र संस्कृति जोगाउनु राज्य संगै समुदायको पनि दायीत्व हुने बताए । उनले आफ्नो वडा भित्र आदिवासी जनजाति समुदायका रुपमा मगर समुदायको बसोबास रहेको भन्दै आफ्नो भाषा र संस्कृतिप्रति चासो बढोस् भनेर नै कार्यक्रमलाई सहयोग गरेको बताए ।
#मगर भाषा #अभिमुखिकरण #दाङ
लेखकको सम्वन्धमा