कार्य सम्पादन मूल्यांकनमा सल्यानका १० पालिका मध्ये शारदा नगरपालिका उत्कृष्ट – बागचौर पुछारमा
फागुन ०८, सल्यान । कार्य सम्पादन मूल्यांकनमा सल्यानका १० पालिका मध्ये शारदा नगरपालिका उत्कृष्ट ठहर भएको छ । बागचौर नगरपालिका भने पुछारमा छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकका आधारमा गरेको मूल्यांकनमा शारदा नगरपालिका ६२.९२ प्रतिशत अंकसहित जिल्लामा उत्कृष्ट ठहर भएको हो । दोस्रो स्थानमा कालिमाटी गाउँपालिका (५१.८६%) र तेस्रोमा त्रिबेणि गाउँपालिका (५१.०८%) छन् ।
त्यसपछि क्रमश : दार्मा गाउँपालिका (५०.६८%), कुमाख गाउँपालिका (४९.०३%), छत्रेश्वरी गाउँपालिका (४८.७१%), शिद्दकुमाख गाउँपालिका (४६.५३%), कपुरकोट गाउँपालिका (४६.२२%) बनगाड कुपिण्डे नगरपालिका गाउँपालिका (४५.१०%) र बागचौर नगरपालिका ३९.०३%) छन् ।
संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकहरुको आधारमा प्रदेश र स्थानीय सरकारको मूल्यांकन गर्दछ । एक सय अंकभारमा सबैभन्दा बढी अंक ल्याउने सर्वोत्कृष्ट ठहरिन्छ ।
कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट ठहरिएका पालिकाहरुका लागि आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान प्रदान गर्न सरकार समक्ष सिफारिस गर्दछ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा नेपाल सरकारले आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस्