सल्यानमा ‘गिट्टीबालुवा’को सट्टा माटो भरेर चार करोडको ग्राभेल: स्थानीयले भत्काइदिए नाला
असार ९, सल्यान । सल्यानकाे माेख्ला-दमाचाैर हुँदै राेल्पाकाे झ्याम जाेडिने सडक खण्डमा कर्णाली प्रदेश सरकारको चार करोड बजेटमा हुन लागेको नाला सहितको ग्राभेलमा गुणस्तरहिन काम भएको भन्दै स्थानीयहरू आन्दोलित भएका छन ।
बालुवा गिट्टी हालेर ग्राभेल गर्नुपर्नेमा माटाे हालेर ग्राभेल गरेकाे भन्दै स्थानीयहरू आन्दोलित भएका हुन । कर्णाली प्रदेश सरकारकाे बजेटमा पुर्वाधार विकास कार्यालय सल्यानले नाला सहितकाे ग्राभेलकाे लागि ४ कराेडमा दुइ भाग गरेर ५ किलाेमिटरकाे ट्याण्डर गरेकाे थियाे ।
दुवै ट्याण्डर बगेश्वरी कन्ट्रसन एण्ड सप्लायर्सले पाएकाे थियाे । ८/१० महिना अगाडीबाट काम थालेकाे उक्त कम्पनीले माटाे हालेर ग्राभेल गरेकाे देखिएकाे छ ।
त्यस्तै नाला पनि कमशल खालकाे बनाएकाे देखिएकाे भन्दै स्थानीयले भत्काइदिएका छन । सामान्यतया नाला बनाउँदा ढुंगा, गिट्टी, बालुवा र सिमेन्टकाे मात्र मिलाएर राख्नुपर्नेमा भित्र ढुंगामात्रै भरेर बाहिरबाट सिमेन्ट बालुवाले पलास्टर गरेकाे भिडियो सार्वजनिक भएको छ ।
कमशल खालकाे काम गरेर बजेट झ्वाम पर्न लागेकाे भन्दै स्थानीयहरुले दुइदिन देखि आन्दाेलन गरिरहेका छन् । ‘हामीले पकटपटक काम गुणस्तर गर्न सुझाव दिइरहेका थियाैं । अहिले लास्ट चरणमा हुँदा पनि काम कमशल खालकाे देखियाे । यहि कामलाइ प्राविधिक कार्यालयले पास गरेर भुक्तानी दिने खालकाे देखिएपछि हामीले आन्दाेलन सुरु गरेका हाैं’, स्थानीय केपी शर्माले भिडियोमा भनेका छन ।
ढुंगा, गिट्टी राखेर शाेलिङ गर्नुपर्नेमा माटाे मात्रै राखेर शाेलिङ गरेकाे अर्का स्थानीय शिव कुमार शर्माले बताए । उनले भने, ‘याे सडकमा ग्राभेलकाे लागि बजेट परेकाे सुन्दा हामीहरु निकै खुसी भएका थियाैं । तर अहिले विकासकाे नाममा नक्कली काम गरेर ब्रम्ह लुट मच्याएकाे देख्दा साह्रै दुख लागेकाे छ ।’
आफुहरु विकास बिराेधी नभएकाे बताउँदै उनले भने, ‘बाटाे राम्राे बनाउँलाइ बरु बजेट कम छ भने हामी आएर श्रमदान गर्छाैं तर यसरी आँखै अगाडी नक्कली काम गरेर कराेडाै रकम कुम्लाउन दिन्नाैं ।’स्टेमेट अनुसारकाे काम नभए आफुहरुकाे आन्दाेलन जारी रहने उनकाे भनाइ छ ।
त्यस्तै बागचाैर नगरपालिका १० का वडा सदस्य समेत रहेका स्थानीय सेर बहादुर बुढाथाेकीले स्टेमेटअनुसारकाे काम नभएकाे र गर्नुपर्ने बताए । उनले आफुले ठेकेदारलाइ पटकपटक भन्दापनि सुरुबाटै काम गतिलाे नगरेकाे बताए ।
ठेकेदार र कार्यालयकाे मिलेमताे
आफुहरुले आन्दाेलन नगरेकाे भए यहि कामलाइ पास गरेर पुर्वधार विकास कार्यालय सल्यानले भुक्तानी दिने तयारी गरेकाे स्थानीयहरु बताउँछन् । सडककाे ठेक्का लिएका निर्माण व्यवसायी यज्ञ बहादुर डाँगीले सडक निर्माणकाे लागि मन्सिकाे रुपमा स्थानीय विजय केसीलाइ खटाएका थिए ।
तिनै खत्रीले प्राविधिक कार्यालयले पटकपटक अनुगमन गरेर कामलाइ पास गरेकाे प्रतिकृया दिएका छन् । उनले भने, ‘यसमा मेराे केहि गल्ती छैन् । प्राविधिक कार्यालयका कर्मचारीहरुले अहिलेसम्म धेरैपटक अनुगमन गरिसक्नु भयाे । उहाँहरुले सुरुकाे काम ठिक छ भनेर पास गरेपछि नै हामीले पछाडीतिरकाे अरु काम गरेका हाैं ।’
‘उहाँहरुले याे काम गलत भयाे भनेकाे भए हामीले उतिखेर नै सच्याउने थियाैं । तर उहाँहरुले त्यसाे भन्नु भएन् । उहाँहरुले जे भन्नु भयाे त्यहि अनुसार हामीले काम गरेका हाैं’, उनले भने । अझ एक जना सुपरभाइजर दैनिक साेहि सडकमा कार्यालयले खटाएकाे समेत उनले बताए ।
उनले याे कुरा बुधबार स्थानीयहरु आक्राेशमा आएपछि खुलाएका हुन् । उनकाे याे कुराले प्राविधिक कार्यालय र ठेकेदारकाे मिलेमताे भएकाे पुष्टि हुन्छ । तर यो कुरालाइ ठेकेदार यज्ञ बहादुर डाँगी र प्राविधिक कार्यालय सल्यानका प्रमुख विनाेद पुनले स्वीकार गरेनन् ।
स्टिमेट अनुसार नै काम गरेको छु : ठेक्केदार
ठेक्केदार डाँगीले आफुले राम्राे काम गरेकाे बताउँछन् । ‘मलाइ व्यक्तिगत रिसिबीका कारण केहि स्थानीयहरुले बिराेध गरेका हुन् । मैले स्टेमेट अनुसारकाे काम गरेकाे छु’, उनले भने । उनले नालामा ढुंगा हाल्ने र ग्राभेलमा माटाे राख्ने स्टेमेटमा लेखिएकाले त्यसाे गरेकाे बताए ।
याे नै अन्तिम काम नभएकाे बताउँदै उनले अब गिट्टी ढुंगा राखेर ग्राभेल गर्न सकिने बताए ।
यता पुर्वधार विकास कार्यालय सल्यानका प्रमुख विनाेद पुनले कागजी रुपमा काम पुरा नभएकाे र ग्राभेल पुरा गर्न अझै बाँकी रहेकाे प्रतिक्रिया दिएका छन् । ‘अहिले नै याे काम पुरा भएकाे छैन् । हामीले ठेकेदारलाइ भनेर ग्राभेल पुरा गर्ने भनेका छाैं’, उनले भने । अहिलेसम्म कुनै प्राविधिक स्टेमेट नउठेकाे र ल्याव टेस्ट नभएकाे उनले बताए ।
तर करिब ४०/५० लाख जति कामकाे स्टेमेट उठेर भुक्तानी लिइसकेकाे ठेकेदार डाँगीले बताएका छन् ।
स्थानीयकाे विराेधपछि सडक निर्माण स्थलमा पुगेका प्राविधिक कार्यालय सल्यानका इनिन्जिनियरहरुले ग्राभेल र नालीमा कमशल खालकाे काम नै भएकाेले याे काम अब पास नहुँने र भुक्तानी नहुँने बताएका छन् । उनिहरुले माटाे निकालेर ढुंगा गिट्टी राखेर साेलिङ गर्नुपर्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस्