सल्यानको छत्रेश्वरी गाउँपालिका ३ कोर्बाङमा अवस्थित खड्गदेवि मन्दिरमा भित्र्याइयो फूलपाती
आज बडा दशैंको सातौँ दिन सल्यानको छत्रेश्वरी गाउँपालिका ३ कोर्बाङमा अवस्थित खड्गदेवि मन्दिरमा बाजागाजाका साथ फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज उक्त मन्दिरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।
यसरी भित्र्याइन्छ फूलपाती
आश्विन शुक्ल सप्तमीका दिन विहान मन्दिरबाट ब्रतालुहरु चोखो भएर कसैलाई नछोइ खाली खुट्टा हिँड्दै अशोकको फूल र बेलको बोटलाई निम्तो दिदै नदिमा गएर नुहाउने गर्दछन् । नुहाएपछि नदिबाट देउता उठाउने गरिन्छ ।
देउता उठाइसकेपछि फूलपाती मन्दिरमा नभित्र्याएसम्म कसैसँग पनि छुनु र बोल्न पाइँदैन । यतिसम्म कि पशुपन्छीलाई पनि छुन दिन नहुने परम्परा छ ।
नुहाइसकेपछि झोली बनाइन्छ, त्यस झोलीमा विहान निम्तो दिएको बेलको फूल, बेल पत्रसंगै विभिन्न जातका फलफूल टिपेर आफ्नो झोलीमा हालिन्छ । फलफूल हालेको झोली भुइँमा बिसाउन पनि नहुने परम्परा छ ।
यसरी टिपेर ल्याएका फलफूल बीच बाटोमा बाजागाजा सहित मन्दिरबाट पण्डित, मुलपुजारी र अन्य मानिस हरु लिन आउँछन् । विभिन्न पूजा विधि गरेर मन्दिरमा फूलपाती भित्र्याइन्छ ।
आज भित्र्याएको फूलपाती दशमीको दिनमा बाजागबजाका साथ विसर्जन गरिन्छ ।
प्रतिकृया दिनुहोस्