April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
छत्रेश्वरीमा वृक्षारोपण अभियान जारी : जीविकोपार्जनमा टेवा पुर्याउने लक्ष्य

छत्रेश्वरीमा वृक्षारोपण अभियान जारी : जीविकोपार्जनमा टेवा पुर्याउने लक्ष्य

साउन १७, सल्यान ।

समुदायलाई जीविकोपार्जनमा टेवा पुर्याउने लक्ष्य सहित सल्यानको छत्रेश्वरी गाउँपालिकामा वृक्षारोपण अभियानलाई तिब्रता दिइएको छ ।

गाउँपालिकाभित्र रहेका सामुदायीक वनको खाली क्षेत्रमा आर्थिक लाभ दिने विरुवा रोप्ने अभियान जारी छ । आम्दानी दिने जातका ११ हजार विरुवा रोप्ने उद्देश्य रहेको छत्रेश्वरी गाउँपालिकामा हाल सम्म १० हजार चार सय विरुवा रोपिसकिएको सब डिभिजन वन कार्यालय लान्तीले जानकारी दिएको छ । यस क्रममा बुधबार छत्रेश्वरी, ६ स्थित इन्द्र सामुदायीक वन समूहको चैवाङज्यूला झिंगाचौरमा एक हजार आठ सय विरुवा रोपिएको छ ।

छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले ओखर, तेजपात, टिमुर र देवदार सल्लाका विरुवा रोपेर वृक्षारोपण कार्यको प्रारम्भ गर्दै वन संरक्षणमा सबैको हातेमालो आवश्यक रहेको बताए । वन जोगाउन स्थानीय उपभोक्ताको उल्लेखिय भुमिका हुने भन्दै उनले वृक्षारोपणमा स्थानीयहको उत्साहजनक सहभागिताको प्रसंशा गरे । भोटेचौर स्थित गाउँपालिकाको परिसर तथा अन्य खाली जमिनमा वृक्षारोपणका लागि आफुहरुले काम गर्ने अध्यक्ष बुढाथोकीले बताए ।

वृक्षारोपण कार्यक्रममा १०५ जना भन्दा बढी उपभोक्ताहरु सहभागि भएका थिए । एक हजार देवदार सल्ला, २०० टिमुर, ४०० तेजपात र २०० ओखरका विरुवा रोपिएको सब डिभिजन वन कार्यालय लान्तीका प्राविधिक वन रक्षक देव बहादुर केसीले जानकारी दिए । रोपिएका विरुवाको व्यवस्थापन गंगा रोजिन एण्ड टरपेनटाइनले गरेको हो । यो साउन महिनाभरी छत्रेश्वरी गाउँपालिकाभरी ११ हजार विरुवा रोप्ने लक्ष्य रहेकोमा सामुदायीक वनबाट त्यो भन्दा पनि धेरै विरुवाको माग भएकाले वृक्षारोपणको संख्या ११ हजारबाट पनि बढ्ने उनको भनाई छ । अब छत्रेश्वरी २ को तिनछहरा सामुदायीक वन र वडा नम्बर ६ को इन्द्रेणी सामुदायीक वनमा पनि वृक्षारोपण कार्यक्रम रहेको केसीले जानकारी दिए । उनका अनुसार गाउँपालिका र वन कार्यालयले विरुवा व्यवस्थापनका लागि पहल गरिरहेका छन् ।

वृक्षारोपण कार्यक्रममा बोल्दै छत्रेश्वरी ६ का वडा अध्यक्ष टिकाराम बुढा, वडा सदस्यहरु खड्गनाथ गोगी, सागर नेपाली, गंगा रोजिनका कमल सिंह कवर, उपभोक्ता सुरेन्द्रनाथ योगी लगाएतले बोल्दै रोपिएका विरुवा हुर्काउनमा सबैले ध्यान दिनुपर्ने बताएका थिए ।

डिभिजन वन कार्यालय सल्यानले जिल्लाभर वृक्षारोपण अभियान सञ्चालन गरिरहेको छ । विभिन्न समूह, कार्यालय, कृषकहरुलाई वनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानले पनि आवश्यक विरुवा उपलब्ध गराइरहेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज