‘अचार’ बेचेरै महिनामा दुई लाख कमाउन सकिने, सल्यानका ५ महिला बने उदाहरण
मंसिर २५, सल्यान । सल्यानका ५ महिला उद्यमीहरूले अचार बेचेरै महिनामा दुई लाख रुपैयाँ आम्दानी कमाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन ।
बिगत ३ बर्षदेखी जिल्लाको शारदा नगरपालिका २ खंलगामा ‘भुवनेश्वरी अचार तथा फलफुल प्रशोधन उद्योग संचालनमा ल्याएका उनिहरूले अचार बेचेरै महिनामा दुई लाख रुपैयाँ आम्दानी कमाउने गरेका छन ।
स्थानीयस्तरमा प्राप्त हुने फलफुलका तथा उपभोग्य वस्तुहरुको प्रशोधन सहित विभिन्न प्रकारका अचार र जुसहरु उत्पादन गरी उनीहरूले आय आर्जनमा वृद्धि गरेका हुन ।
महिलाहरू घरको काममा मात्रै ब्यस्त हुनुपर्छ । उनिहरूले अन्य काम गर्न सक्दैनन भन्ने मान्यतालाई उनिहरूले चुनौती दिएका छन । विशेषत: गृहनी महिलाले केही गर्न सक्तैनन् भन्ने समाजको सोचाइलाई परिवर्तन गर्न सामुहिक रुपमा अचार तथा फलफुल प्रशोधन उद्योग सञ्चालन गरिएको उद्योग संचालक समितिकी अध्यक्ष सुनहरी राई श्रेष्ठले बताइन ।
उनले भनिन – ‘स्थानीय स्तरमै उपलब्ध स्रोत साधनको प्रयोग गर्दै अचार, मसला तथा फलफुलको जुस बनाइरहेका छौं ।’ उद्योगबाट मनग्य आम्दानी भइरहेको बताउदै उनले अचार उद्योगले ५ जना महिला लाई समेत आत्मनिर्भर बनाएको बताईन । “अहिले हामी ५ जना गृहीणी महिलाले मात्र काम गरिरहेका छौँ, आगामी दिनमा आवश्यकता अनुसार रोजगारीको अवसर पनि बढाउदै लगिने छ, उनले भनिन ।
स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरु टिमुर, अदुवा, हलेदो, अकबरी, मेथीदाना, आपँ, कागती, काँक्रो, खुर्सानी लगाएतको अचार सहित मसलाहरु तथा फलफुलको जुसहहरू उद्योग बाट उत्पादन भइरहेको उद्योग संचालक समिति सचिव विमला राई रावतले जानकारी दिइन ।
सल्यानमा उत्पादित अचार तथा मसला सल्यानको चिनोको रुपमा धेरै जनाले लिने गरेको सचीव रावतको अनुभव रहेको छ । उनले भनिन् – “सुरुमा ५ जना महिलाको सामुहिक १ लाख लगानी रहेको थियो । अचार, मसला तथा फलफुल व्यवसायबाट उत्पादन तथा विक्रिबाट मासिक रु. २ लाख सम्म आम्दानी हुदै आएको छ, भने मासिक रु. चालिस हजार नाफा हुने गरेको छ ।”
अहिले कहि कतैबाट अनुदान सहयोग नपाएको उनको भनाई छ । अनुदान प्राप्त गरे यस उद्योग लाई अझै उत्पादनमा वृद्धि गर्न सकिने उद्योग संचालक सदस्य निता राईले बताईन । सल्यानमा उत्पादित अचार तथा मसला स्थानीय बजार सहित दाङ , बुवल ,सुर्खेत , नेपालगन्ज , काठमाण्डू सम्म पुग्ने गरेको छ ।
सल्यानका ५ महिलाले बिगत ३ बर्षदेखी अचार तथा फलफुल प्रशोधन उद्योग संचालनमा ल्याएका हुन । जिल्लाको शारदा नगरपालिका २ खंलगामा ‘उनिहरुले भुवनेश्वरी अचार तथा फलफुल प्रशोधन उद्योग नाममा दर्ता गरी उद्योग संचालनमा ल्याएका थिए । उद्योगले विगत तिन वर्ष देखि अचार तथा मसला उत्पादन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्