होली खेल्ने क्रममा बाग्लुङमा दुुई समूहबीच झडप, २ जनाको मृत्यु ( सम्पुर्ण घटनाक्रम सहित )
चैत १६, बागलुङ । बल्देधुरी भन्ने स्थानमा होली खेल्ने क्रममा दुुई समूहबीच झडप हुँदा दुुई जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होली खेल्न गएको बागलुङका युवाहरुको दुुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको बागलुङका प्रहरी प्रमुख एसपी कृष्ण बहादुर पल्लीमगरले बताए । घटनामा निसीखोलाका केही युवाहरु घाइते भएका छन् ।
यस्तो छ घटना विवरण :
बल्देधुरीमा प्रत्येक वर्ष होलीका दिन त्यहाँ नाचगान हुन्छ । आइतबार पनि बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० का युवाहरुको समूह त्यहाँ होली खेल्नका लागि बल्देधुरी चौरमा पुुगेको थियो ।
यता निसिखोला गाउँपालिका–७ राजकुटका करिब २५ जना युवाहरुको समूह पनि मदिरा सेवन गरेर विभिन्न व्यक्तिहरुलाई अबिर दल्दै बडिगाड गाउँपालिका–१० दर्लिङ हुँदै बल्देधुरीतर्फ जाँदै थिए । सोही क्रममा राजकुटका युवाहरुले दर्लिङमा बन्दै गरेको भानु माविमा काम गर्ने मजदुरहरुलाई पनि कुटपिट गरे । सो समूहले दर्लिङकै केही स्थानीय युवाहरुलाई पनि कुटपिट गरेको बडिगाड गाउँपालिका-१० का वडाअध्यक्ष वीरेन्द्र बुढाले बताए ।
राजकुटका युवाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै युवाहरुलाई कुटपिट गर्न थालेपछि दर्लिङका स्थानीयहरु आक्रोशित थिए । यता, राजकुटका युवाहरुको समूह दर्लिङ गाउँ हुँदै बल्देधुरी चौरमा पुगे जहाँ दर्लिङका युवायुवतीको समूह पहिलेदेखि नै होलीका क्रममा नाचगान गरिरहेका थिए ।
राजकुटका युवाहरुको समूह बल्देधूरी पुगेपछि दर्लिङका युवा तथा युवतीहरूलाई अबिर दल्न थाले । युवतीहरूलाई सहमतिबिना अभद्र किसिमले जबरजस्ती अबिर दल्न थालेपछि त्यहाँ विवाद सुरु भयो । दुबै समूहका अधिकांश युवाहरुले मदिरासमेत सेवन गरेका थिए जसले विवादले झनै उग्ररूप लिन पुग्यो ।
राजकुटका युवाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै चेलीबेटीलाई अभद्र व्यवहार गरेको सुनेपछि दर्लिङका गाउँलेहरु भेला भएर बल्देधुरी पुगे । त्यसपछि दुबै समूहका युवा र गाउँलेबीच झडप भयो । सो झडपमा निसिखोला गाउँपालिका–७ राजकुटका युवाहरुलाई छानीछानी कुटपिट गरियो । केही युवाहरु त्यहाँबाट भागे । युवाहरुलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि राजकोटका दुईजना युवाहरु ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईलाई बल्देधुरी चौरको भीरबाट फालियो । दुवै युवाको मृत्यु भयो ।
युवाविहीन छ दर्लिङ गाउँ
अपरान्ह करिब ४ बजे दुई जनाको मृत्यु भएपछि दुबै समूहका युवाहरु तितरबितर भए । घटनाबारे प्रहरीलाई जानकारी आएपछि करिब साँझ ७ बजे स्थानीय प्रहरी घटनास्थलमा पुग्यो । घटनास्थल स्थानीय प्रहरी चौकीबाट सवारीसाधनबाट करिब ३ घण्टाको दूरीमा पर्छ भने जिल्ला सदरमुकामबाट करिब ७ घण्टाको यात्रामा पुग्न सकिन्छ । जिल्ला प्रहरी कार्यालयको टोलीपनि राति करिब ११ बजे घटनास्थल पुुगेको थियो । घटनास्थल पुगेर राती करिब १ बजे भीरबाट फालिएका युवाहरुको उद्धार गरिएको थियो, जतिबेला उनीहरुको मृत्यु भइसकेको बागलङुका एसपी कृष्ण बहादुर पल्लीमगरले बताएका छन् । उद्धारपछि युवाहरुको शव स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ ।
घटनालगत्तै बडिगाड गाउँपालिका १० दर्लिङ गाउँका युवाहरु फरार भएका छन् । घटनालगत्तै स्थानीय युवाहरु गाउँ नजिकैको जङ्गलतर्फ भागेको निसीखोला गाउँपालिका–७ का वडाध्यक्ष तेजेन्द्र विक्रम कुँवरले बताए । उनले भने, ‘हामी राति घटनास्थलमा पुग्दा गाउँ नजिकैको जङ्गलमा बत्ती बलेको देखिएको थियो । सायद दर्लिङका युवाहरुको समूह नै जङ्गलमा रहेको हुनुपर्छ ।’
बागलुङ प्रहरी प्रमुख एसपी कृष्ण बहादुर पल्लीमगरका अनुसार अहिले शवको उद्धार मात्रै गरिएको छ । यतिबेलासम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन र घटनाबारे बुझ्ने काम भइरहेको छ । घटनाको कारण के हो भन्ने प्रश्नमा एसपी मगरले भने, ‘हामी रातिमात्र यहाँ आइपुग्यौँ । राति १ शवको उद्धार गर्यौँ । घटनाबारे थप बुझ्ने काम गरिरहेका छौँ । घटनाको कारण के हो भन्ने अहिले नै भन्न सक्ने अवस्थामा छैनौँ ।’
रातोपाटी बाट साभार ।
प्रतिकृया दिनुहोस्