December 16, 2025, Tuesday
२०८२ पुष १, मंगलवार
सल्यानको कालिमाटी गाउँपालिका उपाध्यक्ष सहित १० जना विरुद्ध मुद्दा दायर

सल्यानको कालिमाटी गाउँपालिका उपाध्यक्ष सहित १० जना विरुद्ध मुद्दा दायर

पौष २७, सल्यान । सल्यानको कालिमाटी गाउँपालिका उपाध्यक्ष लगाएत १० जना विरुद्ध विषेश अदालत काठमाडौमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

जिल्लाको कालिमाटी गाउँपालिकाको कार्यालयका तत्कालीन योजना अनुगमन तथा मूल्याङ्‍कन समितिका संयोजक एवंम कालिमाटी गाउँपालिका उपाध्यक्ष सनसिल्ता डि.सी., तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

कालिमाटी गाउँपालिका वडा नं. ७ स्थित आ.व. २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत घुइयावारी (रिङरोड योजना) मुल सडक विस्तार नाला सुधार तथा ग्रावेल योजनामा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्री, इन्जिनियर टेक बहादुर के.सी. र योजना शाखा प्रमुख जयराम घर्तीले  जिल्ला योजनामा निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई पेश भएको झुट्टा बिल भरपाई स्वीकृत गरी भुक्तानीको लागि आदेश दिएको, कामदार तथा रोजगार उपभोक्ता समिति र प्राविधिकहरुको मिलिमतोमा झुट्टा बिल भरपाई, गलत कार्य सम्पन्न प्रतिवेदनकै आधारमा नभए नगरेको काममा समेत भए गरेको भनी झुट्टा बिल भरपाईसमेतका आधारमा अन्तिम भुक्तानीको लागि टिप्पणी पेश गरी बढी भुक्तानी दिने कार्य गरेको हुनाले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) वमोजिम कसुर भएकोले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्री, इन्जिनियर टेक बहादुर के.सी. र योजना शाखा प्रमुख जयराम घर्तीलाई रु.५,६५,३०९।८५ (पाँच लाख पैसठ्ठी हजार तीन सय नौ रुपैया पचासी पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय एवं बिगो बमोजिम जरिवाना गरी बिगो रकमसमेत सोही ऐनको दफा ८(१) बमोजिम निजहरुबाट असुल उपर हुन समेत मागदाबी लिइएको प्रवक्ता श्याम प्रसाद भण्डारीले हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।