March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
सल्यानमा विप्लव नेकपाको सम्पर्क कार्यालय स्थापना (तस्बिरहरू)

सल्यानमा विप्लव नेकपाको सम्पर्क कार्यालय स्थापना (तस्बिरहरू)

मंसिर ८, सल्यान । सल्यानमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सम्पर्क कार्यालय स्थापना भएको छ । बिहिवार सदरमुकाम खलंगाको डाँडागाउँमा पार्टीले कार्यालय स्थापना गरेको हो ।

पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सबिन पोखरेलले पार्टीको झण्डा फहराएर कार्यालय उद्घाटन गरेका हुन । मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर सल्यानमा सम्पर्क कार्यालय स्थापना गरिएको जिल्ला सेक्रेटरी नारायण चन्दले बताए ।

कार्यालय स्थापना पश्चात् पार्टी पुनर्गठन दिवसको अवसरमा पार्टी नेताकार्यकर्ता, अधिकारकर्मी, कानुन व्यवसायी, बुद्धिजीवी तथा पत्रकारका बीच चियापान तथा शुभकामना आदानप्रदान समेत गरेको छ ।

चियापान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा सल्यान इन्चार्ज सबिन पोखरेलले अहिलेको संसदीय व्यवस्थाले जनताको जिवनस्तरमा उठाउन नसक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने र शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद प्राप्त गर्न जनमत संग्रह गर्नुपर्ने बताए । जनमतसंग्रह नै नेपालको अहिलेको सबैभन्दा अग्रगामी एजेन्डा भएको उनले दावी गरे ।

मोहन वैद्य नेतृत्वको नेकपा – माओवादी बाट सम्बन्धविच्छेद गरेर विप्लवको नेतृत्वमा २०७१ मंसिर ८ गते नेकपा (माओवादी) गठन गरेको दिनलाई पार्टीले पुनर्गठन दिवसको रुपमा मनाउने गरेको छ ।

विप्लव नेतृत्वको नेकपालाई हिंसात्मक गतिविधि गतेको भन्दै तत्कालीन केपी सरकारले २०७५ फागुन २८ देखि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध पछि भुमिगत भएको नेकपा २०७७ फागुन २१ गते सरकार सँग ३ वुदे सहमति गरेर खुल्ला राजनीतिमा आएको छ ।