March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
कांग्रेस सल्यान अधिबेशन : सन्तोष केसीले किन गरे, सभापतिमा केश बहादुर बिष्टलाई समर्थन ?

कांग्रेस सल्यान अधिबेशन : सन्तोष केसीले किन गरे, सभापतिमा केश बहादुर बिष्टलाई समर्थन ?

साउन १४, सल्यान । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत सल्यान जिल्लाको सभापति पदका आकांक्षी युवा नेता सन्तोष केसीले जिल्ला सभापतिमा केशबहादुर बिष्टलाई समर्थन गर्ने भएका छन ।

सभापति पदका आकांक्षी छत्रेश्वरी गाउँपालिका अध्यक्ष, नेका क्षेत्र नं (ख)क्षेत्रिय सभापति तथा तरुण दल जिल्ला अध्यक्ष युवा नेता सन्तोष केसीले आसन्न १४ औं अधिबेशनमा पार्टीको सल्यान जिल्ला सभापतिमा, उम्मेदवार केशबहादुर बिष्टलाई समर्थन गर्ने बताएका हुन ।

बुधबार सल्यान खलंगामा भएको पत्रकार सम्मेलनमा पत्रकारहरूले केसी पनि सभापतिको उम्मेदवार भएको भन्ने कुरा मिडियामा आएको प्रति राखेको जिज्ञासाको जवाफ दिदै नेता केसीले केन्द्रमा शेरबहादुर देउवालाई नेता मानेर जिल्लामा राजेन्द्र बहादुर शाहलाई अभिभावकत्वमा यसपटकको महाधिवेशनमा सल्यानमा केश बहादुर बिष्टलाई निर्वाचित गराएर अघि बढ्ने सहमती भएको र बिष्टले सिंगो पार्टीको जिम्मा लिएर जनप्रतिनिधिको रुपमा भुमिका नलिने कुरा भएपछि आफू ब्याक भएको बताए ।

उनले भने – “पार्टी सभापति भएर केशबहादुर दाईले नेतृत्व गर्दैगर्दा उहाँले जनप्रतिनिधि भएर कहिपनी नगएर पार्टीलाई हिजो भन्दा फरक तरिकाले चलाएर समग्रमा सल्यानका १० वटै स्थानिय तहा, २ वटै प्रदेश सभा र संघको निर्वाचनमा जिताउन सफल हुनुपर्छ भन्ने भएर उहाँले सिंगो पार्टीलाई जिम्मा लिएर पार्टी चलाउछु भन्ने कुरा उहाँको छ । उहाँको यो कुरालाई हाम्रो भित्रै आत्मदेखी समर्थन छ । उहाँको नेतृत्वमा हामी १४ औं महाधिवेशनमा जान्छौं ।”

आफू प्रदेश सभामा लड्ने चाहाना भएकाले पार्टीको जिल्ला सभापतिमा केश बहादुर बिष्टलाई जिताएर उनको नेतृत्वमा पार्टीलाई नयाँ ढंगले चलाएर जिल्लाका १० वटै स्थानीय तह, प्रदेश सभा र संघीय प्रतिनिधि सभाका निर्वाचन जित्न १४ औं अधिबेशनमा बिष्टको नेतृत्वमा जानेगरि समर्थन गरेको उनको भनाई थियो ।

त्यस्तै सभापतिको दावी बाट पछि हटेपछि उपसभापति वा महाधिवेशन प्रतिनिधि मध्ये एउटामा चुनाव लड्ने उनले बताए । उनले भने – ” पार्टी भित्र लड्ने कुरामा हाम्रो सरसल्लाह भैराछ । संभवत महाधिवेशन प्रतिनिधि वा उपसभापति मध्ये एकमा लड्छु होला । यो पनि मेरो मात्र व्यक्तिगत कुरा भएन । म सँग आवद्ध, हामीलाई विस्वास गर्ने साथीभाईहरू सँग सल्लाह गर्नुपर्ने हुन्छ । कहिकतै म बाहिर बसेर हामीले जित्ने अवस्था आउँछ भने म त्याग्न तयार छु ।”

त्यसैगरी सभापतिका अर्का आकांक्षी हालका उपसभापति निमबहादुर वलीले पनि सभापतिमा केश बहादुर बिष्टलाई समर्थन गर्ने बताएका छन । आफुपनी सभापतिको दावेदार भएपनी जिल्लामा आफ्नो समुहमा बिभाजन आएकाले आफू पछि हट वाध्य भएको उनले बताए ।

वली सल्यानमा कांग्रेसको “कोइराला – पौडेल” समुहका नेता हुन । तर जिल्लामा कोइराला पौडेल समुहका नेताहरू डिल्ली रेग्मी र गणेश चन्द लागाएतले सभापतिमा धुर्वराज पुरीलाई समर्थन गरेपछी उनले बिष्टलाई समर्थन गरेको बताइएको छ ।

सल्यानमा कांग्रेसको आगामी नेतृत्वको लागी नेताहरु ध्रुवराज पुरी, केशबहादुर बिष्ट, मान बहादुर डाँगी, एकराज डिसी, महेश मल्ल, लगाएतको अझै दावि रहेको छ ।

बिष्ट देउवा समुहका नेता हुन भने सल्यानमा उनलाई देउवा समुहका नेता पूर्व मन्त्री राजेन्द्र बहादुर शाहको समर्थन रहेको छ । यद्दपि साउन १२ गते बाट सुरु हुने भनेको कांग्रेसको स्थानिय अधिबेशन अर्काे तालिका नआउदा सम्मको लागि स्थगित भएको छ ।