दार्मा गाउँपालिका अध्यक्ष ‘अरुण’ द्वारा ओली समुहका स्थानीय नेताहरूलाई ज्यान मार्ने धम्की
माघ १८, सल्यान । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) सल्यानको केपी ओली समुहले सल्यानको दार्मा गाउँपालिका अध्यक्ष तथा ‘प्रचण्ड – माधव’ समुहका कर्णाली प्रदेश कमिटी सदस्य नेता, निम बहादुर केसी ‘अरुण’ले आफ्नो समुहका दार्मा गाउँ कमिटी सचीव दिपक रोकाय र वडा नं ३ का वडा कमिटी अध्यक्ष देव बहादुर रोकायलाई घरमै आएर जीउज्यान मार्ने धम्की दिएको भन्दै घटना प्रति ध्यानाकर्षण भएको बताएको छ ।
आइतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनले घटना प्रति ध्यानाकर्षण भएको बताएका हुन ।
“देश अहिले गंभीर मोडमा गुर्जिरहेको छ । नेपाली जनताको “समृद्ध नेपाल सुखी नेपाली” को सपनालाई साकार गर्न सम्माननिय प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्व सरकार निर्भीक ढंगले अगाडि बढिरहेको सन्दर्भमा कम्युनिस्ट पार्टी भित्रैका केही पदका लोभी, अराजक र अस्थिरतावादी झुन्डले कम्युनिस्ट अान्दोलन र देशलाई नै कमजोर बनाउन षड्यन्त्र गरिरहेको यहाँहरु सबैलाई सर्वविदितै छ । यतिबेला सम्पूर्ण नेपाली जनता देशमा स्थिरता र राष्ट्रिय स्वाभिमानको पक्षमा व्यापक धुर्विकरण भइरहेको यो बेला सल्यानमा हामी जुटिरहेका छौँ ।”
बिज्ञप्तिमा भनिएको छ – “यसै शिलशिलामा सल्यानको दार्मा गाउँपालिकामा यही मिति २०७७/१०/१५ गते दार्मा गाउँ कमिटीको भेलाबाट नेतृत्व चयन भएका गाउँ कमिटी सचिव क. दिपक रोकाय र ३ नं. वडा अध्यक्ष देव बहादुर रोकायलाई जंगली र उदण्ड मानसिकताबाट ग्रसित दार्मा गापा अध्यक्ष निम बहादुर केसी अरुणले उहाँ कमरेडहरुको घरमै गएर जिउज्यान लिने सम्मको धाकधम्कि दिएको घटनाप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ ।”
त्यस्तै, देशको स्वाभिमान र जनताको समृद्धिको चाहनामा धुर्विकृत आफ्ना कार्यकर्ताहरूको राजनैतिक स्वतन्त्रता कुण्ठित गर्नेगरी यस्ता अराजनीतिक धाकधम्कि र असन्तुलित व्यवहार नगर्न चेतावनी दिदै सम्बन्धित व्यक्तिलाई अाउँदा दिनहरूमा कुनै क्षति/दुर्घटना भएमा त्यसको सम्पूर्ण जिम्मा गापा अध्यक्ष निम बहादुर केसी अरुण नै जिम्मेवार हुनुपर्ने बिज्ञप्तिमा भनिएको छ ।
आफ्ना नेताकार्यकर्ताहरूको जिउ ज्यान सुरक्षाको प्रत्याभूति गराउन पनि विज्ञप्ति मार्फत जिल्ला प्रशासन समक्ष सार्वजनिक अपिल गरिएको छ ।
त्यस्तै ओली समुहका दार्मा गाउँ कमिटी सचीव रोकायले पनि आफुहरू घरमै बसिरहेको बेला आएर अध्यक्ष अरुण आएर तपाईहरूलाई लास्ट वार्निङ हो भन्दै आफुहरू ‘मर्न र मार्न तयार रहेको बताएको नयाँ दृष्टिलाई बताए ।
फेसबुकमा आलोचना गर्नेलाई प्रहरीमा मुद्दा
त्यस्तै, दार्मा गाँउपालिकाका कार्यालय प्रमुख, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्काले गाउँपालिका विरुद्ध सामाजिक संजालमा आलोचना गर्नेलाई प्रहरीमा उजुरी गरेका छन ।
कार्यालय प्रमुख खड्काको फेसबुक पोष्टमा कमेन्ट गर्ने दार्मा गाउँपालिका ६ का नवीन केसी विरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएका हुन ।
दार्मा सरकारको क्रियाकलाप, अनुदान वितरणका प्रक्रिया र कर्मचारी व्यवस्थापनकोे सम्वन्धमा सामाजिक सन्चालनमा लेखेको कारण निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले दुईजना स्थानीयको विरुद्ध विरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएका हुन । एकजना सँग मेलमिलाप भईसकेको तर एक जना सँगको मुद्दाभने चलिरहेको छ ।
खड्का प्राविधिक समूहका कर्मचारी हुन् । उनी प्राविधिक सहायक (ना.सु.) बाट कर्मचारी समायोजना हुँदा तहगत समायोजनमा अधिकृत स्तर छैठौं तहमा समायोजन भई हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । गाउँपालिकामा राजपत्रांकित तृतीय श्रेणीको संघीय कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था रहेको भए तापनि व्यवहारिक रुपमा धेरै स्थानीय तहमा निमित्त बाटै काम काज चलिरहेको छ ।
सामाजिक सन्जालमा उनको बारेमा चरित्र हत्या हुने वा व्यक्तिगत गाली गलौज नभई गाउँपालिकाको कार्य सन्चालन प्रक्रियाका बारेमा लेखेको मुद्दाका प्रतिवादी बताउँछन् । गाउँपालिकाको कार्यशैली र समग्र नेतृत्वको आलोचना गर्दा यसरी मुद्दा नै खेप्नु पर्ने अवस्था लोकतन्त्र र वाक स्वतन्त्रताको विरुद्ध भएको जानकार हरु बताउँछन् ।
#अरुण #दार्मा गापा
प्रतिकृया दिनुहोस्