December 8, 2023, Friday
२०८० मंसिर २२, शुक्रबार
त्रिवेणी चुनाव प्रकरण : माइन्युट च्याथ्दा देखि चुनाव जित्दा सम्मको सम्पूर्ण नालिबेली

त्रिवेणी चुनाव प्रकरण : माइन्युट च्याथ्दा देखि चुनाव जित्दा सम्मको सम्पूर्ण नालिबेली

मंसिर २८, सल्यान । बिहिबार सल्यानको त्रिवेणी गाउँपालिका वडा नं १, काभ्रामा रहेको जनता माद्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको चुनाव सम्पन्न भयो । चुनाव बाट नेकपा त्रिवेणीका अध्यक्ष लोकेन्द्रसिंह खड्का र नेपाली काँग्रेस पार्टीको गठबन्धन प्यानललाई पराजित गर्दै नेकपाको त्रिवेणीका सचिव अजय रोकाले नेतृत्वको नेकपाको आधिकारिक प्यानल विजयी भयो ।

सामान्ययाः विद्यालयको चुनाव भएपनि यस घटनालाई सल्यानको राजनिति र बिशेशतः नेकपा सल्यानको आन्तरिक राजनितिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ र हेरिनुपर्छ। एउटै पार्टीका एउटै कमिटीका अध्यक्ष र सचिवले विद्यालयको चुनावमा छुट्टाछुट्टै प्यानलको नेतृत्व गरेर चुनाव लड्ने विषय पक्कै पनि सामान्य बिषय होईन । त्यसमा पनि निकै लामो श्रींखला बाट बिकसित भएको यो घटनालाई जिल्ला पार्टीले पनि नरोक्नु, रोक्न नचाहनु र मुकदर्शक बन्नुले बिषयलाई अझै गम्भीर र रहस्यमय बनाएको छ ।

आफ्नो प्यानल सहित विद्यालय व्यवस्थापन समितिमा निर्वाचित भएका नेकपा त्रिवेणीका सचिव अजय रोकाले भने पार्टीको अस्तित्व रक्षा गर्न आफै निर्वातनमा उत्रिएको बताएका छन ।

निर्वाचित भएपछि शुक्रबार नयाँ दृष्टि सँग कुरा गर्दै उनले यस्तो बताएका हुन । आफ्नै पार्टीका गाउँपालिका अध्यक्षले अन्तरघात गरेर फरक पार्टी सँग चुनावी गठबन्धन गरेर मैदानमा उत्रिएपछि पार्टीको अस्तित्व रक्षा गर्न बाध्य भएर पार्टीको आधिकारिक उम्मेद्धारको रुपमा चुनावमा होमिनु परेको उनको भनाई छ ।

यसै सन्दर्भमा बिद्यालय ब्यबस्थापन समितिको चुनावमा एउटै पार्टी बाट २ प्यानल बनाएर चुनाव लड्नुपर्ने अवस्थामा किन र कसरी आयो ? सहमतिका प्रयासहरू भए कि भएनन ? सहमतिको प्रक्रियालाई कुन चिजले बाधा गर्यो ? विवाद मिलाउन माथिल्लो कमिटी र कमिटीका नेताहरूले प्रयास गरेकी गरेनन ? निर्वाचन जिति सकेपछि अब कसरी अघि बढ्ने ? यिनै बिषयमा हामीले निर्वाचित प्यानलका प्रमुख तथा नेकपा त्रिवेणीका सचीव अजय रोका सँग कुरा गरेका छौं । प्रस्तुत छ, सचिव रोकासँगको अन्तरबार्ता :

१. सर्वप्रथमत: विव्यस निर्वाचित हुनु भएकोमा बधाई छ ।

– धन्यवाद ।

२. आफ्नै पार्टीको उम्मेदवार विरुद्ध चुनावी प्रक्रिया बाट विव्यसमा निर्वाचित हुनु भएको छ, कस्तो अनुभुती भएको छ ?

– पहिलो कुरा त जनताको अभिमत लिने कुरा, बिद्यालयको सन्दर्भमा विद्यार्थीका अभिभावकहरूको अभिमत लिने कुरा आफैमा चुनौतीपूर्ण रहन्छ । त्यसमा पनि आफ्नै पार्टीको नेतृत्व, नेकपा त्रिवेणी पार्टी अध्यक्ष लोकेन्द्रसिंह खड्का फरक पार्टी सँग अपवित्र चुनावी गठबन्धन गरेर चुनावी मैदानमा उत्रिए पछि र पार्टीको अस्तित्व रक्षा गर्न हामी आधिकारिक उम्मेदवारको रुपमा निर्वाचनमा उत्रिदाखेर अप्ठ्यारो महसुस भयो । त्यो अवस्था जटिलतापूर्ण र चुनौतीपूर्ण थियो ।

३. एउटै पार्टीका अध्यक्ष र सचीव छुट्टाछुट्टै प्यानलबाट चुनाव लड्नुपर्ने परिस्थिति कसरी बन्यो ?

– यस्तो हो । हामीले सहमतिका थुप्रै प्रयास गर्यौं । जब विद्यालयले २०७६ पौष १६ गते विद्यालय व्यवस्थापन समिति गठनको लागी अभिभावक भेला बोलाएको थियो । त्यो भन्दा पहिला नै हामिले कमिटिमा एक खालको छलफल चलायौं । विद्यालयमा पार्टीले नेतृत्व लिने गरि उपस्थिति जनाउने हेतुले अध्यक्ष र स्वंम म बसेर पनि छलफल गर्याैं । देशको ठुलो र जिम्मेवार पार्टी भएको नाताले सकभर कांग्रेस लगाएत सबैलाई मिलाएर लिनुपर्छ भनेर अधिकतम सहमतिको प्रयास पनि भयो तर हामी बिच कुरा टुङगीन सकेन ।

विपक्षी पार्टीले एकातिर आफ्नो प्रस्ताव अगाडि सार्दै गयो र हाम्रो पार्टी नेकपा त्रिवेणीका अध्यक्ष लोकेन्द्रसिंह खड्का पनि उहाँहरू सँग भित्रीखालको सहमति गरेर उतै लागेपछि छलफलहरू बाट कुरा मिल्न सकेन । त्यसपछि दोस्रो अभिभावक भेलाले निर्वाचन बाट ब्यबिस छनौटको प्रक्रिया टुङ्याउने प्रस्ताव अगाडि सार्यो । फागुन २ गते उम्मेदवारी दर्ता गर्ने र १० गते मतदान गर्ने मिति तय भयो ।

त्यसपछि पनि मैले ब्यक्तिको चाहाना जस्को जे भएपनी चुनावी मैदानमा पार्टीको साझा उम्मेद्वार बनाएर जानुपर्छ भनेर जब्बररुपमा प्रस्ताव राखे तर अध्यक्षले मान्नु भएन । त्यति मात्रै होइन मैले मैले जिल्ला पार्टीसँग पनि यो कुरा गरे । फागुन २ गतेको छलफलमा पार्टी जिल्ला अध्यक्ष गोबिन्द पुन र सचीव कर्णबहादुर बुढाथोकी पनि उपस्थित हुनुहुन्थ्यो ।

उहाँहरूको उपस्थिति रहेको बैठकमा पनि केही मत मतान्तर रहे । तर जिल्ला पार्टीले एउटा फैसला गर्यो । त्यो फैसला के भने – अहिले अध्यक्षको तर्फबाट २ सदस्य ( एक महिला, एक पुरुष ) र सचीवको तर्फबाट २ सदस्य ( एक महिला, एक पुरुष ) सिपारिस गरेर निर्वाचनमा जानुस पछि निर्वाचित भएर आएपछि को अध्यक्ष बन्ने पुनः छलफल गरेर टुङ्ग्याउला । जिल्ला पार्टीले हामीलाई दिएको आदेश यहि हो ।

तर यही आदेश अनुसार हामी उम्मेद्वारी दर्ता गर्न जाँदा पार्टीका त्रिवेणी गापा अध्यक्षको नेतृत्व र निर्देशनमा हाम्रै गाउँ कमिटीका ४ जना सदस्यहरूले काँग्रेस सँगको भित्री सहमति अनुसार उहाँहरूका २ जना र कांग्रेसका २ जना सहितको प्यानल उम्मेद्वारी दर्ता गरिसक्नु भएको रहेछ ।

त्यसरी उहाँहरूले पार्टीको, नेतृत्वको आदेश नमानेर अराजक ढंगले उम्मेद्वारी दर्ता गराए पछि त्यसको बिकल्प केही थिएन । छलफलको पाटो पनि सकिएको थियो । त्यसदिन मात्रै उम्मेद्वारी दर्ता गर्न सकिन्थ्यो । यदि त्यो दिन अरु कसैको उम्मेद्वारी नपरेमा एकलौटी रुपमा त्यो ब्यबिस गठन हुन्थ्यो । त्यसैले त्यो प्रक्रिया रोक्न पनि हामीले सिपारिस गरेर लगेका २ जना सहित म आफैले नैतिकताको आधारमा र पार्टीको अस्तित्व रक्षा गर्न तुरुन्त ३ जनाको उम्मेद्वारी दर्ता गरायौं । हाम्रो तयारी थिएन । नत्र ४ जनाकै प्यानल दर्ता गर्थ्यौं ।

त्यसपछि पार्टीमा छलफल होला । कस्लाई अघि बढाउने, कस्लाई ब्याक गराउने भन्ने छलफल र निकास पार्टीले निकाल्ला भनेर पनि मैले उम्मेद्वारी दिएको हु । तर त्यसपछि पनि जिल्ला पार्टी मुकदर्शक बन्यो । अध्यक्षको कमजोरी हो या सचीवको कमजो?कस्को के कमजोरी हो ? को सच्चिनुपर्ने हो ? पार्टीले कुनै मौखिक आदेस गरेन । न त संगठनलाई जिल्ला पार्टी हेडक्वाटर बाट त्यस्तो खालको परिपत्र आयो । यसरी निर्वाचनको प्रक्रिया अघि बढ्यो ।

४. यहाँहरूले त माइन्युट पनि च्याथ्नु भयो भन्ने सुनिन्छ, किन च्याथ्नु भएको हो ?

– कुरा यस्तो हो । जब चुनाव भिड्ने स्थिति बन्यो । प्यानलवाईज चुनाव चिन्ह बाडियो । तर त्यसरी चुनावमा जाँदा पार्टीबाट कारबाहीको भागिदार भैइन्छ भने अध्यक्षले बिबादको कारण देखाउदै सिडियो कार्यालयमा भनेर चुनाव स्थगित गर्न लगाउनु भयो र तत्कालीन सिडियोको निर्देशनमा फागुन सात गते देखि निर्वाचनका सम्पुर्ण प्रक्रिया रोकिएको सुचना निकालियो ।

त्यसपछि छलफल गरेर निर्वाचनको अर्को सुचना आउला भनेर ढुक्क भएर बस्यौं तर अध्यक्ष खड्काले पार्टीको अनाधिकृत लेटरप्याड र छाप प्रयोग गरेर ( आधिकारिक कार्यालयमै थियो । ) हाम्रो पार्टीमा सहमति भयो । यो यो मान्छे राखेर ब्यबिस गठन गर्नुहोला भने बिद्यालय प्रशासनलाई पत्र पठाउनुभएछ । पत्र अनुसार निर्वाचन प्रक्रियामै रहेको बेला फागुन १८ गते अबैध ब्यबिस गठन गरिएछ ।

हामीलाई त्यो थाहा भएपछि सिडियो कार्यालयमा मुद्दा  दियौं । तर उक्त समितिलाई बैधता दिन अभिभावक भेलाबाट अनुमोदन गर्नुपर्छ भन्ने भए पछि मंसिर १० गते षड्यन्त्रपूर्ण अभिभावक भेला बोलाईयो । भेलामा अभिभावकलाई उपस्थितिमा हस्ताक्षर गराउदै पठाउदै गरिएको रैछ । भेलामा हामी बेलुका ३ बजे पुगेका थियौं । हामीलाई पनि उपस्थितिमा हस्ताक्षर गर्न भनियो तर निर्णय केही लेखिएको थिएन ।

त्यसपछि हामीले यो अबैध समितिलाई भेला बोलाउने अधिकार छैन । पहिला भेलाको एजेन्डा र निर्णय स्पष्ट हुनुपर्छ अनि मात्र हस्ताक्षर गर्छौ भन्यौं तर साँझ ५ बजेसम्म कुनै निर्णय गरिएन । हामीलाई हस्ताक्षर गर्न मात्रै भनियो र निर्णय पछि लेख्ने भनेपछी त्यहाँ षड्यन्त्र हुदैछ भन्ने लागेर हामिले अरु अभिभावकहरूले गरेको हस्ताक्षर पनि च्याथेर ल्यायौं ।

अनि आजसम्म अरुले गल्ती गर्दा केही छलफल र निकास आएन । अब हामी आफैले गल्ती गर्नुपर्छ भनेर मेरो निर्देशनमा त्यतिखेर माइन्युट च्याथ्ने कमजोरी गरिएकै हो । त्यसपछि बिद्यालय प्रशासन र अबैध विव्यसको मिलेमतोमा प्रशासनमा मुद्दा हालियो । मंसिर १७ गते सिडिओ कार्यालयमा छलफल भयो । त्यहाँ हामीले सबै कुरा राख्यौं ।

त्यसपछि सिडिओ सापले बिगतमा निर्वाचन प्रक्रिया जहाँबाट रोकिएको थियो, त्यहीँ बाट निर्वाचन प्रक्रिया अघि बढाउने फैसला गरेपछी निर्वाचनमा गयौं ।

५. यत्रो लामो समय विवाद भएछ, यो अवधीमा विवाद मिलाउन जिल्ला पार्टी बाट कुनै प्रयास भएन ?

– फागुन २ गतेपछि यो बिचको समयमा विवाद मिलाउन जिल्ला पार्टीबाट खासै पहल भएन । खाली “मैले गापा अध्यक्षलाई मिलाएर जाने भनेको छु” भनेर आश्वासन दिने काम मात्रै भयो ।” तर यो बिबाद मिलाउन चाहेको भए जिल्ला पार्टीले मिलाउन सक्थ्यो । पार्टीले कस्लाई अघि बढाउने र कस्लाई ब्याक गर्ने भन्न सक्थ्यो । पार्टीले गरेको निर्णय र निर्देशन हामी मान्थ्यौं । तर त्यसो भएन । यो बिचमा गाउँकमिटीको चाहिँ २ वटा बैठक बसेर मिलाउने प्रयास भयो । अध्यक्ष लोकेन्द्रसिंह खड्काले गरेको गतिबिधीहरूलाई बहुमत गाउँ कमिटी सदस्यहरूले गल्ती गर्नुभएको छ र नयाँ शिराबाट छलफल गरेर जानुपर्छ भन्नू भएको थियो तर उहांले बेवास्ता गर्नुभयो ।

६. अध्यक्ष खड्काले आफू नियमित पार्टी सम्पर्कमा रहेको र बिबाद मिलाउन पार्टी बोलाएको बैठकमा नआएको भन्नू भएको छ नि । के हो ?

– मंसिर २१ गते, उहाँहरू पार्टीले बोलाएको छ भनेर जानू भएछ । तर मलाई यहाँ गाउँ कमिटीको बैठक रोकेर तपाईहरू जिल्ला पार्टी कार्यालयमा आउनुस भनेर जिल्ला अध्यक्ष र सचिवले भन्नू भएन । फोन वा लिखित परिपत्र केही आएन । हामीलाई जिल्ला पार्टीले बोलाएको छ जाऔं भनेर गापा अध्यक्षले पनि भन्नू भएन । त्यसकारण यो आरोप सँग म सहमत छैन । कुनै आधिकारिकता बिना हल्लाको भरमा जाने कुरा भएन ।

७. यहाँहरूले २ जना गाउँ कमिटी सदस्यलाई कारबाही गर्नु भएको छ, अध्यक्षलाई कारबाहिको सिपारिस गर्नु भएको छ, अब त्यो के हुन्छ ?

– कमिटीले उहाँलाई निलम्बित गरेको छ । त्यसरी पार्टीको कुनै (व्यक्ति) सदस्यले कुनै पार्टी सँग गठबन्धन गर्ने राइट ( अधिकार ) हुदैन । म अजय रोकालाई पनि त्यो अधिकार छैन । त्यसरी अरु पार्टी सँग चुनावी तालमेल गर्नुपर्यो भने कमिटीमा छलफल गर्नुपर्छ । कमिटीलाई मात्र त्यस्तो अधिकार हुन्छ । आफ्नो पार्टीको संगठनको अवस्था जनमतको अवस्था मुल्यांकन गरेर, बिश्लेसन गरेर , कारणहरूले पुष्टि गरेर मात्र तालमेल संभव हुन्छ । ब्यक्तिको इन्ट्रेस्ट (चाहाना)मा होइन ।

त्यसकारण उहाँहरू छलफल बिना मनोगत ढंगले जसरी गठबन्धन गर्ने चेष्टा गर्नु भयो । त्यो गल्ती गर्नु भएको छ । अर्को बैठक बाट उहाँहरूलाई कार्यदल बनाएर छानबिन गरेर सबै मुल्यांकन गरेर स्पष्टीकरण लिएर वा सुध्रिने अवसर दिने हुन सक्छ । त्यो प्रक्रिया बाट पुन जिम्मेवारी पाउने कुरा पनि रहला । निमोटेरै फाल्नुपर्छ भन्ने त छैन। तर कमजोरी सुधार्न केहि चेतावनी चाहिँ दिनुपर्ने र उहाँहरू गल्ती महसुस गरेर अघि बढ्ने कुरा हुन सक्छ ।

८. चुनाव जितिसक्नु भयो, अब विव्यस अध्यक्ष पनि बन्नुहोला, बिद्यालयलाई कसरी अघि बढाउनु हुन्छ ?

– चुनावमा कतिले मतदान गर्नु भयो कतिले मतदान गर्नु भएन त्यो फरक पाटो हो । पहिलो कुरा त हामीलाई बिश्वास गरेर अभिभावकहरूले ब्यबिसमा पठाउनु भएको छ । त्यसकारण म सबैको मतलाई केन्द्रीकृत गरेर सबैको भावनालाई समेटेर, सबैको सुझावहरूलाई मनन गर्दै ब्यबिसलाई अघि बढाउने छु । साथै बिद्यालयको भौतिक बिकास निर्माणदेखी, शैक्षिक स्तर राम्रो बनाउनको लागि सबै समाजसेवी, बुद्धिजीवी, राजनीतिक दल सबैको परामर्श द्वारा अघि बढ्ने छु ।

त्यस्तै म पार्टी कमिटीमा पनि छलफल गर्छु । २ जना मनोनीत गर्ने कुरा छ । त्यसमा पनि पार्टी कमिटी, विपक्ष र प्रतिस्पर्धी सँग राय सल्लाह लिएर विव्यसलाई पुर्णता दिनेछु । यो बिद्यालय नमुना बिद्यालय बन्ने प्रक्रियामा पनि छ । त्यसैले पनि सबैको प्रतिनिधित्व र अपनत्व गराएर अघि बढ्न तयार छु ।