नेकपा त्रिवेणीमा देखिएको विवाद : जिल्ला पार्टीको असफलता कि केन्द्रिय गुटको प्रतिबिम्ब ?
मंसिर २९ , सल्यान । बिहिबार सल्यानको त्रिवेणी गाउँपालिका १, काभ्रामा रहेको जनता माद्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको चुनाव सम्पन्न भयो । चुनाव बाट नेकपा त्रिवेणीका अध्यक्ष लोकेन्द्रसिंह खड्का र नेपाली काँग्रेस पार्टीको गठबन्धन प्यानललाई पराजित गर्दै नेकपाको त्रिवेणीका सचिवले नेतृत्वको नेकपाको आधिकारिक भनिएको प्यानल विजयी भयो ।
सामान्ययाः विद्यालयको चुनाव भएपनि यस घटनालाई सल्यानको राजनिति र बिशेशतः नेकपा सल्यानको आन्तरिक राजनितिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ । एउटै पार्टीका एउटै कमिटीका अध्यक्ष र सचिवले विद्यालयको चुनावमा छुट्टाछुट्टै प्यानलको नेतृत्व गरेर चुनाव लड्ने विषय पक्कै पनि सामान्य बिषय होईन । त्यसमा पनि निकै लामो श्रींखला बाट बिकसित भएको यो घटनालाई जिल्ला पार्टीले पनि नरोक्नु, रोक्न नचाहनु र मुकदर्शक बन्नुले बिषयलाई अझै गम्भीर र रहस्यमय बनाएको छ ।
नेकपा त्रिवेणी सचिव अजय रोकाका अनुुसार विद्यालय व्यवस्थापन समितिको लागी चुनावी प्रक्रियामा आईपुग्दा सम्मको कथा लामो छ । उनका अनुसार पुरानो व्यवस्थापन समितिको समयाबधि सकिएपछि २०७६ पौष १६ गते विद्यालय व्यवस्थापन समिति गठनको लागी विद्यालयले विद्यालय प्रशासनले अभिभावक भेला बोलाएको थियो । व्यवस्थापन समितिमा पार्टीको तर्फबाट नेतृत्वदायी उपस्थिति जनाउन नेकपा त्रिवेणीको कमिटी र स्वंम अध्यक्ष र सचिवका बिचमा थुप्रै पटक छलफल भएको थियो । तर छलफलबाट साझा धारणा बन्न सकेको थिएन ।
यसैविच विद्यालय प्रशासनले दोस्रो अभिभावक भेला आयोजना गर्यो । भेलाले चुनावि प्रक्रिया बाट व्यवस्थापन समिति चयन गर्ने निर्णय गर्याे । चुनावको लागी फागुन २ गते उम्मेद्धारी दर्ता गर्ने र फागुन १० गते मतदान गर्ने मिति तोकियो । तर त्यतिवेला सम्म पनि पार्टीको तर्फबाट व्यविसमा जाने उम्मेद्धारको बिषयमा नेकपा त्रिवेणीमा सहमति हुन सकेन ।
त्यसपछि फागुन २ गते उम्मेद्धारी दर्ता गर्ने दिनमै नेकपा त्रिवेणीको बैठक बस्यो । बैठकमा नेकपा सल्यानका अध्यक्ष गोबिन्द पुन र सचिव कर्णबहादुर बुढाथोकि छहारी पनि उपस्थित थिए । बैठकमा जिल्ला अध्यक्ष र सचिवको निर्देशन थियो – ‘नेकपा त्रिवेणी गाउँपालिका अध्यक्षको तर्फबाट वा पूर्व एमालेको तर्फबाट २ जना र सचिव अथवा पूर्व माओबादीको तर्फबाट २ जना गरेर व्यविसको लागी नेकपाको तर्फबाट ४ जनाको उम्मेद्धारी दर्ता गर्ने, नेपाली कांग्रेस सँग चुनाव लड्ने, जित्ने र त्यसपछी फेरि जिल्ला पार्टीकै पहलमा व्यविस अध्यक्षको हुने भन्ने टुङ्ग्याउने ।’
बिबाद समाधानको लागी जिल्ला पार्टीको नेतृत्व तहबाट गरेको यो नै पहिलो र अन्तिम प्रयास थियो । त्यसपछि कुनै सम्पर्क, समन्वय र निर्देशन नपाएको सचिव रोका बताउछन । अध्यक्ष खड्का भने नियमित पार्टी सम्पर्कमै रहेको बताउछन । तर त्यस यता पनि बिबाद कायमै रह्यो । बिबाद घटेन, झन बढ्यो ।
सचिव रोकाका अनुसार त्यसदिन पार्टीका जिल्ला अध्यक्ष र सचिवले दिएको निर्देशन कार्यन्वयन भएको भए अहिलेको अवस्था आउने नै थिएन । तर उक्त निर्देशन त्यहि दिन अवेज्ञा गरियो । पार्टी निर्देशन विपरित पार्टीका गापा अध्यक्ष खड्काले आफ्ना २ जना र नेपाली कांग्रेसका २ जना गरेर ४ जनाको उम्मेद्धारी दर्ता गराए । सहमतिको मसी सुक्न नपाउदै पार्टी अध्यक्षले नै फरक पार्टी सँग गठबन्धन गरेर प्लानल दर्ता गरेपछि पार्टीको अस्तित्व रक्षाको लागी भएपनि आफ्नो तर्फबाट तयारी गरेका २ जना सहित स्वंय आफुले पनि उम्मेद्धारी दिएर ३ जनाको प्यानल दर्ता गराएको उनि बताउछन ।
त्यसदिन उम्मेद्धारी दर्ता नगर्दा उम्मेद्धारी दिएकाहरु स्वतः निर्वाचित हुने भएकोले पनि पार्टीबाट छलफल र निकास आउला भनेर आफुले त्यसदिन उम्मेद्धारी दिएको उनि बताउछन । तर त्यसपछि छलफल हुनुको साटो सिडिओलाई भएर चुनाव नै स्थगित भयो । पार्टी निर्देशन विपरित चुनावमा जाँदा पार्टीबाट कारवाहि हुने डरले अध्यक्ष खड्काले जिल्ला प्रशासनमा गएर निर्वाचन रोक्न लाएको रोकाको आरोप छ । तर अध्यक्ष खड्काले भने आफ्नै पार्टीको उम्मेद्धारहरु विच प्रतिस्पर्धा हुने भएकाले पार्टीलाई आघात पुग्ने ठानेर निर्वाचन रोक्न लगाएको बताउछन ।
तर बुझाई समस्या कि नियतमा ? निर्वाचन स्थागित भएपछि पूर्व एमाले बाट २ जना, पूर्व माओवादी बाट २ जना र कांग्रेस बाट २ जना राखेर सहमतिमा व्यविस गठन गर्ने सल्लाह भएको र सो सहमति अनुसार पूर्व माओवादीले २ जना सदस्यहरु नदिएकोले व्यविस गठन प्रक्रिया रोकिएको अध्यक्ष खड्का बताउछन भने सचिव रोका चाहि निर्वाचन रोकिए पछि पुनः छलफल गरेर निर्वाचनको समय तोकिएला भनेर पर्खेर बसेको तर उल्टै फागुन १८ गते अध्यक्ष खड्काले पार्टीको अनाधिकृत लेटरप्याड र छाप प्रयोग गरेर पार्टीमा सहमति भयो भनेर आफ्ना सदस्यहरु सिपारिस गरि विद्यालय प्रशासनलाई पत्र लेखेको र अवैधानिक समिति गठन गरेको बताउछन ।
उक्त समितिलाई वैधता दिन अविभावक भेला बाट अनुमोदन गर्नुपर्ने तत्कालीन सिडिओको सुझावपछि कोरोना माहामारीको समयमा बिद्यालय संचालन गर्ने बाहाना बनाएर ०७७ मंसिर १० गते अविभावक भेला गरि अभिभावकहरुलाई एजेन्डा र निर्णय विनाको माईन्युटमा उपस्थितिमा हस्तान्क्षर गराउदै पठाउदै गरेको पाईएपछि केही जालझेल हुँदैछ भन्ने ठानेर आफुहरुले अभिभावकहरुले हस्ताक्षर गरेको उपस्थिति च्याथेको सचीव रोका बताउछन ।
माईन्युट च्याथेपाछि मंसिर १७ गते जिल्ला प्रशासन कार्यालयमा छलफल भएको र सम्पूर्ण घटना बिकासक्रम बुझेपछि निर्वाचन रोकीएकै अवस्था बाट निर्वाचन अघि बढाउन सिडिओले निर्देशन गरेपछि मंसिर २५ गते जनता मावि काभ्रामा निर्वाचन भएको थियो ।
निर्वाचनबाट सचिव रोकाले नेतृत्व गरेको नेकपाको आधिकारिक भनिएको प्यानल विजयी भएको छ । पार्टीलाई अन्तरघात गरेको भन्दै २ जना गाउँकमिटी सदस्यलाई सचिव नेतृत्वको समुहले कारबाहि गरेको छ भने अध्यक्षलाई कारबाहिको लागी सिपारिस गरेको छ ।
तर पार्टीको मातहतको कमिटीमा एक बर्ष यत्रो भाडभैलो र दरार उत्पन्न हुदासम्म पनि नेकपा सल्यान भने घटनासँग अनविज्ञ जस्तो देखिन्छ । कस्को कमजोरीले पार्टीमा यस्तो समस्या आएको हो ? को सुध्रिनु पर्ने हो ? कस्ले गल्ती सच्याउनु पर्ने हो । नेकपा सल्यान मौन बसेको छ । त्रिवेणीको चित्र हेर्दा नेकपाको ओली समुहको निकट मानिने नेताहरू र नेपाली काँग्रेसको गठबन्धन बनेको छ भने नेकपाका प्रचण्ड – माधव नेपाल समुह निकट मानिने स्थानीय नेताहरूले पार्टीको छुट्टै आधिकारिक प्यानल दर्ता गरेर चुनाव लडेको स्थिति छ ।
नेकपा त्रिवेणीमा देखिएको यो विवाद पछिल्लो समय नेकपाको केन्द्रमा दुई अध्यक्ष र बरिस्ठ नेता नेपाल समुह बिच जारीरहेको शक्ति संघर्षको उपज हो वा नेकपा सल्यानको नेतृत्व असफलताको परिणाम ? प्रश्न चिन्ह खडा भएको छ ।
किनभने केन्द्रिय गुटबन्दीको श्रींखला ठान्ने हो भने त्रिवेणीको यो विवाद बिगत एक बर्षदेखी जारी रहेको पाइन्छ, जतिबेला नेकपाको केन्द्रमा दुई अध्यक्षविच अहिले जस्तो तिक्तता र दुरी बढेको थिएन । केन्द्रिय गुटको प्रतिबिम्ब होइन भने नेकपा सल्यानको नेतृत्वपंक्तिले यो विवाद किन समयमै समाधान गर्ने चासो देखएनन् ? के उनिहरू मातहतका कमिटीहरूलाई विस्वासमा लिन र नेतृत्व गर्न सक्षम छैनन ?
पार्टीका कुनै नेता तथा कमिटीको लापरबाही र असक्षमताले पार्टीमा उत्पन्न भएको दरार, मनमुटाव र कार्यकर्ताको बिभाजनको जिम्मा कस्ले लिने ? घटनाको नैतिक भागिदार को बन्ने ? कतै नेकपा त्रिवेणी विवादमा परोक्षरुपमा जिल्ला र केन्द्रका नेताहरुको उपस्थिति त छैन ? अझ मंसिर २९ गते हुने भनिएको बिजयसभालाई नेकपाका प्रचण्ड- नेपाल समुहका केन्द्रिय र जिल्लाका प्रभावशाली नेताहरूले सम्बोधन गर्नु र केपी ओली निकट देखीएका नेताहरूको उपस्थिति नहुनुले के संकेत गर्छ ?
यसरी हेर्दा नेकपा त्रिवेणीको विवाद जिल्ला पार्टीको अकर्मण्यता, अप्रत्यक्ष संलग्नता र पछिल्लो समय केन्द्रियरुपमा देखिएको गुटबन्दीको स्थानीय कनेक्सन पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि पार्टीका मातहतका कमिटीमा देखिएको यो जटिल अवस्थालाई नेकपा सल्यानका नेता कार्यकर्ताहरूको बहस र समिक्षाको बिषय बन्नुपर्छ । नत्र नेकपा सल्यानको आन्तरिक बाटो झनै कठिन, तिक्ततापुर्ण बन्ने र पतनको राजमार्ग झनै चौडा बन्ने निश्चित छ ।

















प्रतिकृया दिनुहोस्