February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
कैलालीमा विभत्स हत्या: रुखमा बाँधेर टाउको अलग पारिएको अवस्थामा शल फेला

कैलालीमा विभत्स हत्या: रुखमा बाँधेर टाउको अलग पारिएको अवस्थामा शल फेला

कैलाली । शुक्रबार साँझ करिब ७ बजे घरबाट निस्किएका जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव नजिकैको अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा उनको भेटियो ।

शनिबार दिउँसो करिब ३ बजे उनको हत्या भएको आफन्तहरूले जानकारी पाएका थिए । घटनास्थलमा करिब ४ बजे प्रहरीको टोली आइपुग्यो ।

‘रुखमा बाँधेर नग्न बनाउँदै घाँटी रेटेर हत्या गरेको देखियो’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने, ‘लगाएका लुगा खोलेर त्यही लुगाले रुखमा बाँधेर विभत्स ढंग घाटी रेटेर हत्या गरेको देखिएको छ ।’

घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ‘हामी अनुसन्धान गरिरहेका छौँ केही आधारहरू भेटिएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘केही समयमै हामीले घटनाको तथ्यसहित दोषी पक्राउ गर्छौं ।’

स्थानीयका अनुसार मृतक दासका बुबा, आमा र दाइ भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउने जाने गर्दै आएका थिए । करिब ३ हप्ता अगाडि उनी भारतबाट फर्किएका थिए । यहाँ उनका श्रीमती, छोरी र भाउजूसहित बस्दै आएका थिए ।

शंकास्पद अडिओ भेटियो

दासको विभत्स हत्या गरिएको भोलिपल्ट प्रहरीले घटनासँग सम्बन्धित व्यक्ति हुन सक्ने एउटा टेलिफोन संवादको अडिओ फेला पारेको छ । उक्त अडिओ संदिघ्ध अपराधीले कसैको टाउको र शरीर अलग गरिदिएको बताएका छन् ।

टेलिफोन सम्वादमा ‘मनोज’ भनिएका व्यक्तिले बोलेका छन्, ‘मैले त्यो मान्छेलाई उडाइदिएको छु । एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ । घाँटी अलग छ र शरीर अलग छ ।’

संवादमा अर्को पक्षले सोध्छन्, ‘को मान्छे ?’

उताबाट जवाफ आउँछ, ‘जसको भए पनि यति कुरा बुझ । म कहाँ पुगिसकेँ, कहाँ पुगिसकेँ ।’

संदिग्ध व्यक्तिले आफू भारतमा रहेको बताएका छन् ।

‘म बैंगलोरका लागि हिँडिसकेँ । रुपैडियामा छौं दाइ हामी ।’ उनले भनेका छन् ।

यस अडिओमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतककी पत्नीको मोबाइलबाट अडिओ बरामद भएको हो । उनलाई कसैले मोबाइलमा पठाइदिएको हुन सक्ने अनुमान छ । फोनमा कुरा गर्ने व्यक्तिको आवाज सुन्दा लागूऔषध सेवन गरेका हुन् कि भन्ने आशंका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

नेपालप्रेस बाट साभार ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज