June 23, 2025, Monday
२०८२ असार ९, सोमबार
दार्मा गाउँपालिका सल्यानको आठौं गाउँ सभा सम्पन्न, गाउँ प्रहरी ऐन सहित ५ वटा ऐन पारित

दार्मा गाउँपालिका सल्यानको आठौं गाउँ सभा सम्पन्न, गाउँ प्रहरी ऐन सहित ५ वटा ऐन पारित

फागुन ०१, सल्यान । दार्मा गाउँपालिका सल्यानको आठौं गाउँ सभा सम्पन्न भएको छ । माघ ३० गते शुक्रबार गाउँपालिकाको आठौं गाउँ सभा सम्पन्न भएको हो ।

सभामा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गत असारमा सम्पन्न सातौं गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेको र गाउँपालिका उपाध्यक्ष टीका शर्मा, ओलीले प्रस्तुत गरेको बजेट संशोधन प्रस्ताव पनि सभाले पारित गरेको बताइएको छ ।

सभामा उपाध्यक्ष शर्माले राजश्व समीक्षा प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी गाउँपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउन आवश्यक पर्ने गाउँ प्रहरी ऐन बमोजिम गाउँ प्रहरीको दरबन्दी समेत सभाले स्वीकृत गरेको बताइएको छ ।

सभाले दार्मा गाउँपालिकाको शिक्षा ऐन, २०७७, दार्मा गाउँपालिकाको गाउँ प्रहरी ऐन, २०७७, दार्मा गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७७ र दार्मा गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७ र र्दार्मा गाउँपालिकाका प्रशासकीय कार्यविधि (नियमित गर्ने ऐन), २०७७ गरी विभिन्न पाँच ओटा ऐनहरू पनि पारित गरेको छ ।

त्यस्तै यस आर्थिक वर्षका लागि तय गरिएको ‘रोकौं महामारी, उठाऔं पूर्वाधार : बढाऔं उत्पादन, बनौं स्वरोजगार’ भन्ने नारालाई सार्थक बनाउन गाउँसभाले थप दिशा निर्देशन गरेको अध्यक्ष निमबहादुर केसी ‘अरुण’ले बताउनु भयो ।

सो अवसरमा लामो समय स्वास्थ्य क्षेत्रमा सेवा गरी अनिवार्य अवकाश प्राप्त सि अ हे व नवराज शर्मा लाई प्रसंशा पत्र प्रदान गरिएको र हीरालाल केसी/विनोदबाबु केसी निर्मित दर्माली घाउटा र उज्यालो दार्मा गीत पनि प्रदर्शन गरिएको बताइएको छ ।