April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार
सामाजिक संजालमा लागेका आरोपबारे दार्मा गाउँपालिका अध्यक्ष केसीले दिए जवाफ

सामाजिक संजालमा लागेका आरोपबारे दार्मा गाउँपालिका अध्यक्ष केसीले दिए जवाफ

माघ १४, सल्यान । आफुले नेतृत्व गरेको गाउँपालिका विरुद्ध दार्माका नेकपा युवा नेता गणेशमान सिंहले लगाएका आरोप बारे दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी अरुणले जवाफ दिएका छन । सामाजिक संजालमा आरोप लगाउने नेता गणेशमान सिंहको नामै नलिएर उनले केही व्यक्तिहरूद्वारा फैलाइएका भ्रम र आलोचनाका बिषयमा भन्दै एकमुष्ट जवाफ दिएका हुन ।

जवाफमा उनले आरोप लगाउने व्यक्ति जनताबाट बहिस्कृत र तिरस्कृत भएको र उनिहरूले कपोलकल्पित आरोपहरु बनाएर भ्रम सिर्जना गरेका बताएका छन । त्यसको कुनै तुक, प्रमाण र अर्थ नभएको र गलत उदेश्यले गलत अफवाह फैलाउने धृष्टता मात्र गरिएको उनले दावी गरेका छन ।

यस्तो छ अध्यक्ष केसीको जवाफ :

हाम्रा शुभ चिन्तक मित्र एबं मिडियाहरुले दार्माकाबारे केही व्यक्तिहरूद्वारा फैलाइएका भ्रम र आलोचनाका सम्वन्धमा चिन्ता र जिज्ञासा राख्नु भएको छ, केही प्रश्नहरु पठाउनु भएको छ, यसबारे सार्वजानिक जवाफ माग्नु भएको छ, उहाँहरुको चासो, चिन्ता र सद्भावको सम्मान गर्दै सबैका चासो, चिन्ता र प्रश्नलाई सबैका लागि म एकमुष्ठ सार्वजानिक जवाफ दिन चाहान्छु:-

१) पहिलो कुरा, सामाजिक सञ्जालमा व्यापक आलोचना
भइरहेको भन्ने कुरा नै गलत हो, एकाध व्यक्तिले नितान्त कपोलकल्पित आरोपहरु बनाएर भ्रम सिर्जना गरेका मात्र हुन्। त्यसको कुनै तुक,प्रमाण र अर्थ छैन। गलत उद्येश्यले गलत अफवाह फैलाउने धृष्टता मात्र गरिएको छ।

दोस्रो कुरा, आलोचना कस्ताे मान्छेबाट भइरहेको छ भन्ने कुरा हो, आम जनता र सचेत नागरिकको तहबाट हैन, जनताबाट बहिष्कृत, समाजबाट तिरस्कृत र विगतमा आफूले भ्रष्टाचार गरे/गराएर खाइपाई आएका केही मुठ्ठीभरहरुले त्यसको स्वाद लिन नपाएर, भ्रष्टाचार गर्न नपाएर गरिएको झोंक र छटपटिको अभिव्यक्ति मात्र हो। अरूलाई पनि आफू जस्तै भ्रष्ट देख्ने मनोदशा बाहेक अरु केही होइन। मलाई एउटा मात्र जनता वा सचेत नागरिकको उदाहरण दिनुस्, कसले भनेकाे छ दार्मामा भ्रष्टाचार भयाे, जनविरोधी काम भयाे या जनतालाई दुःख दिइयो भनेर ?

तेस्रो कुरा, यदि भ्रष्टाचार नै भएको भए,जसले दार्मामा भ्रष्टाचार भयाे भन्नुहुन्छ, उहाँहरूले नै यो तीन बर्षको अवधिमा अख्तियारमा दर्जनौं मुद्दा दिएर अनावश्यक दुःख दिइरहनु भएको छ,अख्तियारले स्थलगत अध्ययन गर्यो, छानबिन गर्यो, सबै नियम अनुसार नै भएको बतायो, अहिले पनि मुद्दा दिइरहनु भएकै छ, अझै प्रत्येक योजनामा अख्तियारमा मुद्धा दिने भनेर सार्वजानिक अभिव्यक्ति दिइरहनु भएको छ, त्यसको छानबिन,फैसला र कारबाही गर्ने निकायले यसकाे सही निर्क्यौल गर्ला, यदि जनताकाे पैसामा अनियमितता र भ्रष्टाचार गरेको भए, गर्नेहरू कारवाही पर्लान्, जेल जालान्। तर सामाजिक सञ्जाल र अमूक व्यक्ति त न्यायाधीश हैन नि, कसैले पनि कानुनलाई हातमा लिएर कुनै पनि व्यक्ति वा संस्थाको सार्वजानिक बेइज्जत गर्न छुट त अवश्य दिएको छैन।

चौथो कुरा, काम गर्दा केही गल्तीहरू हुनसक्छन्, काम गर्दै, गल्तीबाट पाठ सिक्दै हामी अघि बढ्ने हो, नियतवश र योजनाबद्ध रूपमा पो गल्ती गर्ने होइन। काम नगर्नेको एउटै गल्ती हुन्छ कि यसले काम गर्न सकेन तर काम गर्नेका हजार गल्ती हुन सक्छन्। जानी जानी गल्ती गर्नु हुँदैन, गल्ती दोहोर्याउनु हुँदैन, गल्तीहरूबाट शिक्षा लिएर अघि बढ्नु पर्छ। जनता र सचेत नागरिकको तहबाट आउने रचनात्मक सुझाव र तथ्यपूर्ण आलोचनालाई हामीले निसंकोच ग्रहण गर्नुपर्छ र सच्याउनुपर्छ, आबश्यक परेमा जनतासित माफी पनि माग्नुपर्छ।

२ ) सामाजिक सञ्जालमा केही व्यक्तिहरूद्वारा लगाइएका सबै आरोपहरु तथ्यहीन, पूर्वाग्रही, कपोलकल्पित र अर्थहीन छन्। यी सब बनिबनाउ हुन्। बाँकी जाे जसले सामाजिक सञ्जालमा रचनात्मक सुझाव र आलोचना गर्नु भएको छ, उहाँहरुलाई हार्दिक धन्यवाद छ र त्यसलाई ग्रहण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

मैंले भनें काम गर्ने क्रममा केही स्वभाविक कमी कमजोरी जरुर हुन्छन्। शतप्रतिशत सही वा खराब वस्तु वा व्यक्ति यो दुनियाँमा पाउन सकिँदैन। बिकास निर्माण, दैनिक प्रशासन लगायत नियमित कामकाज नियम अनुसार नै भएको छ। नियम कानुन भन्दा बाहिर गएर गरेको एउटा मात्र प्रमाण पेश गर्न म सम्बन्धित आरोप लगाउने महोदयलाई अनुरोध गर्दछु। लेख्न त जे पनि सकिन्छ, आरोप लगाउन त जति पनि सकिन्छ, मुख्य कुरा त्यो तथ्य र प्रमाणका आधारमा हुनुपर्यो। सही र सत्य हुनुपर्यो। धमिलो पानीमा माछा मार्ने बदनियतले गरिएका तथ्यहीन आलोचनाको जवाफ खोजेर/दिएर समय खर्च गर्नुभन्दा आफ्नो जिम्मेवारी पूरा गर्नु बुद्धिमानी हुन्छ।

३) बितेको ३ वर्षमा हामीले पुर्वाधार विकास,आर्थिक तथा मानव संसाधन विकासमा ३ दसकमा हुन नसकेका काम भएको सगर्व सप्रमाण सातौं गाउँसभाबाट पारित गरेर लिपिबद्ध गरेका छौ, त्यहाँबाट तपाईंहरूले विस्तृत जानकारी लिन सक्नुहुनेछ।
भावी दिनमा हामी दार्मा विद्युतीकरण, पालिका सडक संजालको स्तरीकरण, पालिका अस्पताल निर्माण, खानेपानी तथा सरसफाई,विशेष शैक्षिक सुधार, दूध पकेट क्षेत्र, कृषि उत्पादन पकेट क्षेत्रको विकास लगायतको अभियानमा केन्द्रीत छौ।

४) सीमित स्रोत,साधन र बजेट तथा असीमित आवश्यकता बीचको अन्तरद्वन्द्वको चपेटामा हामी छौँ, तैपनि दीगो एबं तीब्र विकासका लागि हामी भगीरथ प्रयत्नमा छौं, दशकौंदेखि पछि पारिएको दार्मा र सल्यानलाई माथि उठाउन सबैले सकारात्मक योगदान गरौं।

यस्तो थियो गणेशमान सिंहले लगाएको आरोप

सरकारी कुखुरा फार्म, कृषि फार्म भन्दै लाखौं रकम हिनामिना गर्ने, विद्यालयहरुका भवन निर्माणमा टेन्डर भन्दै कमिशनको खेल खेल्ने, पालिकाका युवाहरुलाई रोजगारीमा नराख्ने तर बाहिरकालाई पैसा झारी झारी नियुक्त गर्ने ।

पालिका बाहिरका लाई कार्यक्रम दिने नाममा करोडौं करोडको चलखेल गर्ने, हरेक सडकमा डोजर कमिशन, कोरोना महामारीमा अरु पालिकाले बिल सहित अार्थिक विवरण सार्वजनिक गर्दा अाफ्नो सार्वजनिक गर्ने त कता हो कता बरु चामल देखि तरकारी, सिरानी देखि माक्र्स सम्ममा चरम भ्रष्टाचार गर्ने।

रंगशाला भन्दै करोडौँ रकम झ्वाम पार्ने, डिपिअार गर्ने भन्दै हरेक योजनामा ४५% रकम पाउने शर्तमा कसैलाई थाहै नदिई सम्झौता गर्ने, लिफ्ट पानीका योजनाहरुमा ठेकेदारसँग जंगल जंगलमा गई कमिशन बुझ्ने ।

पर्यटकीय स्थल निर्माण भन्दै लाखौं रकम कुम्ल्याउने, गित गाउने र नाचगान गर्ने खेलोमा करोड रकम फजुल खर्च, टिएडिए, भत्ता र इन्धन खर्चको त कुरा नगरम, अब हुँदा हुँदा वडाका सार्वजनिक जग्गामा पनि यस्तो चलखेल !!!

वा ! जनयुद्धको खलपात्र कमसेकम अाफ्ना सहयोद्दा ति शहिदहरुको सरम त राख । दार्मा भ्रष्टहरुको रजाइँबाट अब छिट्टै मुक्त हुँदै छ ! हुनेछ ! त्यो नांगो दार्मा सरकारको वादशाहलाई अहिले अलि अलि कलो खानेहरुले गरेको जयजयकारमा भुल्न दिउँ, बाँकी सम्पूर्ण दर्माली नयाँ दार्माको सपना देख्दै गरौँ ! सबैमा हाम्रो अपिल ।

अब छिट्टै हाम्रो भेट नयाँ दार्मा निमार्णको अभियानमा दार्मा मैदानमा !