March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित : ज्वाला

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित : ज्वाला

 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दाबी गरेका छन् ।

आफ्नो पार्टीसहित ८ दलहरुको साझा उम्मेदवारको रुपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित सुनिश्चित भइसकेको तर्क प्रमुख सचेतक ज्वालाको छ ।

राष्ट्रपतिमा शनिबार पौडेलले उम्मेदवारी दिएपछि उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपतिको निर्वाचनसँगै ८ दल एकताबद्ध भएको उल्लेख गर्दै नेकपा एमाले भने एक्लिएको बताए ।

उनले आठ दलहरुबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माण अभियानसम्म जारी रहने बताए ।
प्रमुख सचेतक ज्वालाले ८ राजनीतिक दलहरुबीचको एकता र संकल्पले मुलुकको राजनीतिकमा स्थिरता ल्याउने र समृद्धिको अभियानलाई तीव्रता दिन सकिने बताए ।

उनले भने, ‘आठ दलले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने, समर्थन गर्ने निष्कर्ष हामीले हिजो निकाल्यौं । त्यसैअनुसार आज उम्मेदवारी दर्ता भएको छ । त्यो निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारले जित्ने पनि निश्चित छ ।’

प्रमुख सचेतक ज्वालाले राजनीतिक दलहरु जति धेरै एकताबद्ध भयो, उति मुलुकमा राजनीतिक स्थिरता आउने भएकाले पनि आफूहरु नयाँ शिराबाट अघि बढ्न थालेको बताए ।