राजतन्त्र फेरि फर्काउछौँ भन्नू दाहसंस्कार गरेको मान्छे फेरि बिउँझाउछु भने जस्तै हो : ज्वाला
फागुन १०, काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक तथा सांसद प्रकाश ज्वालाले राजतन्त्र फेरि फर्काउछु भन्नू मसानघाटमा दाहसंस्कार गरेको मान्छे फेरि बिउझाउछु भने जस्तै भएको बताएका छ्न ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते दिएको अभिव्यक्तिको बिषयमा ज्वालाले बुधबार संसदमा बोल्दै सरकारको जवाफ माग गरेका छन् । शाहले आफूलाई ‘श्री ५ महाराजधिराज’ भन्दै राजतन्त्र ब्युँताउने प्रस्तावसहितको विज्ञप्ति सार्वजनिक गरेका थिए ।
शाहको अभिव्यक्तिको प्रतिनिधिसभाको बुधबारको बैठकमा जसपाकी सांसद सुशीला श्रेष्ठले आलोचना गरेकी थिइन् । श्रेष्ठ बोलिसकेपछि सरकारमा रहेको राप्रपाका सांसद धवलशमशेर जबराले ज्ञानेन्द्र शाहको अभिव्यक्ति सही भएको र आलोचना हुन नहुने भन्दै आपत्ति जनाएका थिए । लगत्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र एमाले सांसद रघुजी पन्तले राप्रपाका जबराको अभिव्यक्तिप्रति आपत्ति जनाउन खोज्दा सभामुख देवराज घिमिरेबाट समय पाएका थिएनन् ।
त्यसपछि बोल्न समय पाएका एकीकृत समाजवादीका प्रमुख सचेतक ज्वालाले पूर्वराजाको अभिव्यक्तिले लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने उद्देश्यले वक्तव्यबाजी गरिरहेको बताए । ‘अहिले पनि श्री ५ महाराजधिराज हुनुहुन्छ, अहिले पनि राजतन्त्र छ ? संविधानमाथि प्रहार गर्ने, व्यवस्थामाथि हमला गर्ने उद्देश्यले जनताको बलिदानबाट आएको लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने हिसाबले जुन वक्तव्यबाजी भएको छ यसप्रति घोर आपत्ति छ । यसको निन्दा एवं भर्त्सना गर्न चाहन्छु,’ उनले भने, ‘को छ यतिबेला श्री ५ महाराजधिराज ? प्रधानमन्त्रीज्यूलाई सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु कि सरकारले यस विषयमा तुरुन्त यो संसद्लाई जवाफ दिनुपर्छ । यस्ता जे मन लाग्यो त्यो बोल्ने छुट कसैलाई पनि छैन ।’
जनताले आन्दोलनमार्फत अन्त्य गरेको राजतन्त्रलाई फर्काउन खोज्नु असम्भव भएको ज्वालाको भनाइ थियो । ‘राजतन्त्र फेरि ब्युँताउन खोज्नु मसानघाटमा दाहसंस्कार गरेर फर्किएपछि दाहसंस्कार गरेको मान्छे फेरि ब्युँताउनु भनेजस्तै हो । चिहान उधिनेर फेरि राजतन्त्र ल्याउन खोजिँदै छ,’ उनले भने, ‘यसकाविरुद्ध सबै राजनीतिक दलहरू एकताबद्ध भएर यस्ता गलत, असंवैधानिक, गैरजिम्मेवार अभिव्यक्तिको विरुद्धमा प्रतिकार गर्नुपर्छ ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाट एमालेका पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईंको नेतृत्वमा गर्न लागेको अभियानको पनि ज्वालाले आपत्ति जनाएका छन् । उनले भने, ‘मेची-महाकालीको यात्राको नौटंकी गरिँदैछ, राजतन्त्रको प्रचार गर्न ।’ संसद्मा र संसद्बाहिर व्यवस्थाका विरोधी भएको र समाजमा रहेको एकता भाँड्न खोज्नेहरू रहेको पनि उनको भनाइ थियो ।
‘गणतन्त्र, धार्मिक सद्भावका विरुद्ध, साम्प्रदायिक एकताका विरुद्धमा नेपालीलाई विभाजित गर्ने उद्देश्यले अभिव्यक्ति आइरहेका छन् । जुन व्यबहार भइरहेका छन् यी आपत्तिजनक छन्,’ उनले भने ।
#राजतन्त्र #संसद बैठक #प्रकाश ज्वाला
लेखकको सम्वन्धमा