नेकपा रुकुम पश्चिमको पार्टी सचिवमा भाष्कर सी निर्वाचित
रुकुम (पश्चिम) । नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम)काे तेस्रो पूर्ण बैठकले कमरेड भाष्कर सीलाई जिल्ला सचिवमा निर्वाचित गरेको छ ।
जिल्ला सचिव कमरेड चन्द्र सी पार्टीको नवाैं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकाेले कमरेड भाष्करलाई नयाँ जिल्ला सचिव निर्वाचित गरेको नेकपा रुकुम (पश्चिम)ले बताएको छ ।
जिल्लाकाे आठबीसकाेट नगरपालिकाकाे राडीबजारमा बसेकाे तेस्रो पूर्ण बैठकमा पार्टीका केन्द्रीय सदस्य कमरेड सविन सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड भीम सी, जिल्ला सल्लाहकार समितिका संयाेजक कमरेड सार्थक सी, कमरेड छलाङ सी, अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य कमरेड हरि पुन लगायतहरुकाे बिशेष उपस्थिति रहेको थियो ।
बैठकलाई सम्बाेधन गर्दै पार्टीका केन्द्रीय सदस्य कमरेड सविन सीले दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे हालै सम्पन्न कथित निर्वाचनबाट राष्ट्रघात गर्न पुँजिवादका नयाँ दलालहरु निर्वाचित भएको बताउनु भयो । केन्द्रीय सदस्य कमरेड सविन सीले भन्नू भयो, ‘जनताद्वारा खारेज गरिएको निर्वाचनबाट शंख, घण्ट बजाउदै साम्राज्यवादका नयाँ एजेण्टहरु देखा परेका छन्।’ कथित निर्वाचनबाट आएका विदेशीका पुराना र नयाँ दलालहरुले देश जनताको लागि विकास गर्ने नभएर राष्ट्रघातका श्रृङखला मात्रै थाेपर्ने उहाँको भनाई थियो ।
बैठकमा सम्बाेधन गर्दै पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड भीम सीले नेपालका अधिकांश जनताले वैज्ञानिक समाजवाद चाहेको बताउनु भयो । कमरेड भीम सीले हालै सम्पन्न दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे कथित निर्वाचनमा नेपालकाे इतिहासमै सबैभन्दा कम जनता सहभागी भएको तथ्यबाट नेपालमा वैज्ञानिक समाजवाद अपरिहार्य हुन आएको प्रमाणित भएको बताउनुभयो ।
जिल्लाकाे बैठकले कमरेड भाष्कर सीलाई सचिवमा निर्वाचित गर्नुका साथै जिल्लाभरि पार्टीको संगनात्मक अभियान चलाउने निर्णय गरेको छ। अभियानमा पार्टीका सेल समिति निर्माण, जनवर्गीय संगठन निर्माण गरिनुका साथै जनतासंग दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे असफलता र नेपालमा वैज्ञानिक समाजवादकाे अपरिहार्यताबारे व्यापक अन्तरक्रिया गरिने छ। नवनिर्वाचित जिल्ला सचिव भाष्कर सीकाे नेतृत्वमा पार्टीले साे अभियान संचालन गर्नेछ ।
जिल्लाकाे बैठक पछि बैठकमा उपस्थित अतिथिहरुले नवनिर्वाचित सचिव कमरेड भाष्कर सीलाई बधाई तथा कार्यसफलताको शुभकामना दिनु भएको थियो भने केन्द्रीय सदस्य तथा निवर्तमान सचिव कमरेड चन्द्र सीले कम्युनिस्ट अन्तर्राष्ट्रियकाे हँसिया हथाैडा अंकित झण्डा हस्तान्तरण गर्नु भएको थियो ।
बैठकमा दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे हालै मंचन गरिएको कथित निर्वाचनलाई सशक्त रुपले खारेज गर्न देशभरिकै नमुना भुमिका निभाउनु भएका कमरेडहरु हरि पुन, राकेश र महेशलाई बधाई दिएर अभिनन्दन गरिएको थियो । बैठकको संचालन निवर्तमान जिल्ला सचिव कमरेड चन्द्र सीले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्