May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
पत्रकार सम्मेलन गर्दै गुलावजंगले भनेः न्याय चाहियो पत्रकारहरु मलाइ न्याय दिनुहोस्

पत्रकार सम्मेलन गर्दै गुलावजंगले भनेः न्याय चाहियो पत्रकारहरु मलाइ न्याय दिनुहोस्

असार २०, सुर्खेत।

पार्टीको एक जिल्ला नेतृसँगको टिकटकले विवादमा परेका कर्णाली एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले आफू अन्यायमा परेको गुनासो गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले पत्रकारसँग आफू न्याय माग्न आएको बताए ।

शाहले प्रविधिको दुरुपयोग गरेर आफ्नो बदनाम गर्न खोजिएको दाबी पत्रकार सम्मेलनमा गरेका थिए। यद्यपि, उनले कसैमाथि सिधा दोषारोपण गरेनन् ।

शाहले भने, ‘त्यो भिडियो हेर्दा मलाई इमोसनलेस भएर सुतेको देखाइएको छ । मेरो शरीर छैन, आँखा छैन, जुँगा पनि ठूलाठूला बनाइएको छ । मायाप्रितिको गीत बजाउँदा मेरो थोरै मात्र पनि गतिविधि भएको भए, मेरो सहभागीता भएको भए, आरोप लगाउन सकिन्थ्यो । यदि त्यो यथार्थ भएको भए मैले पनि केही रियाक्ट गर्थेँ होला नि त ।’

पत्रकारले उनलाई तपाईंविरुद्ध कसैले षडयन्त्र गरेको आशंका छ ? भनि सोध्दा शाहले कसैमाथि बिना आधार दोषारोपण नगर्ने बताए । उनले भने, ‘म कसैलाई दोष लगाउन आएको होइन । अनुमानको भरमा कसैलाई दोष दिएँ भने त्यो अर्को अपराध हुन्छ । तर, यस्तो भिडियो आउनुहुँदैनथ्यो । यस्तो कुराले समाजमा धेरै नकारात्मक असर गर्छ ।’

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा शाहले स्पष्ट जवाफ दिएनन् । ‘अहिले ममाथि अन्याय भएकाले तपाईंहरु समक्ष न्याय माग्न आएको छु । यो पहिलो खुड्किलो हो । त्यसपछि अरु कुराहरु आउँछन् ।’