June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
बैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस

बैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस

१५ बैशाख,काठमाडौ।
निर्वाचन आयोगले पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।

आयोगमा भएको पत्रकार सम्मेलनमा आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न वैशाख २८ देखि ३० गतेसम्म विद्यालयको उपयोग गर्नुपर्ने भएकाले, विद्यार्थीको भौतिक उपस्थिति नगराउन तथा मतदानस्थल तथा मतदान केन्द्र तोकिएका, वडा र स्वास्थ्य चौकीका भवन र भौतिक संरचना मतदानका लागि उपयोग गर्न २८ देखि ३० गतेसम्म उपलब्ध गराउन सङ्घीय मन्त्रालयमर्फत पालिकालाई लेखेर पठाउने पनि निर्णय गरेको छ ।

यस्तै, आजसम्म ७२ जिल्लाका १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ भइसकेको र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ । आयोगले जगेडासहित यो वर्ष एक करोड ९४ लाख थान मतपत्र छाप्दैछ । यस्तै, आजसम्म प्रविष्ट भएको तथ्याङ्कअनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको पनि आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिनुभयो ।