क्षणिक लोकप्रियताका लागि चिल्ला कुरा गर्दिन: गुलाबजंग शाह
सल्यान, ६ फागुन । एमाले कर्णाली प्रदेशका अध्यक्ष तथा सल्यानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गुलाबजंग शाहले आफूले झुटो आश्वासन नदिने बताउनुभएको छ । चुनावी अभियानको क्रममा त्रिवेणि गाउँपालिका, वडा नम्बर ३ को छेत्रेबाँजमा मतदातासंगको अन्तरक्रियामा बोल्दै उहाँले आफू प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको रूपमा मात्र नभई जनविश्वास कायम राख्ने हिसाबले अघि बढेको बताउनुभयो ।
अहिले मत माग्दै घरदैलोमा हिँडिरहेको उल्लेख गर्दै उहाँले केही समयपछि स्थानीय तहको निर्वाचन र त्यसपछि प्रदेश सभाको निर्वाचन आउने स्मरण गराउनुभयो । “म पार्टीको कर्णाली प्रदेश अध्यक्ष भएको नाताले भोलि फेरि आफ्ना उम्मेदवारहरूलाई लिएर यही गाउँ, यही टोलमा मत माग्न आउनुपर्नेछ,” उहाँले भन्नुभयो, “त्यसैले आज म यहाँ कुनै झुटो आश्वासन दिन, असम्भव सपना देखाउन वा क्षणिक लोकप्रियताका लागि चिल्ला कुरा गर्न आएको होइन।”

उहाँले आफूले जनतासामु सच्चा कुरा मात्र राख्ने बताउँदै जे गर्न सक्छु त्यो दृढताका साथ भन्ने र जे गर्न सकिदैन त्यो वाचा नगर्ने धारणा व्यक्त गर्नुभयो । “राजनीति विश्वासको विषय हो, त्यो विश्वास इमान्दारिता बिना सम्भव हुँदैन,” उहाँले भन्नुभयो । नवयुवाहरुको चाहनालाइ समेत सम्बोधन गर्दै सबै वर्गका मानिसको विश्वास आवश्यक रहेको भन्दै शाहले नागरिकको विश्वासलाई कहिल्यै धोका नदिने प्रतिज्ञा गर्नुभयो ।
आज नै वडा नम्बर ६ को लुहाम कोसपिपल, वडा नम्बर ४ को पुतली दरबारमा पनि शाहले भेटघाट गर्नुभएको छ । यहाँको निर्वाचन अभियानमा प्रदेश कमिटी सदस्य बुद्धि केसी, जिल्ला कमिटी सदस्य डिल्ली केसी, एमाले नेता लोकेन्द्र खड्का, पालिका कमिटी अध्यक्ष डिल्लिराज खड्का लगायतको सहभागिता थियो ।
#गुलावजङ्ग शाह #सल्यान एमाले











प्रतिकृया दिनुहोस्