January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
उपमेयरकी बुहारीले दिईन आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणीको उजुरी

उपमेयरकी बुहारीले दिईन आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणीको उजुरी

साउन १८, बुटवल । रुपन्देहीको तिलोत्तमा-१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी (बलात्कार) गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

चौधरीले इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरीविरूद्ध जबरजस्ती करणीको उजुरी दिएकी हुन् ।

मोहनले साउन १५ गतेदेखि पटक-पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै वर्षाले कारबाहीको माग गरेकी छन् । गत साउन १४ गते राति मदिरा पिएर आएका मोहनले कुटपिट गरेको जोहेरीमा उल्लेख छ ।

 श्रीमानले घरखर्च नदिने, यातना दिने र सासू जागेश्वरी चौधरी एवम् ससुराले समेत बेवास्ता गर्दा आफ्नो बच्चाको लालनपालनमा समस्या भोगेको जाहेरीमा उल्लेख छ ।

उजुरी दिने वर्षा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीकी बुहारी हुन् । वर्षाले सासूलाई समेत झिकाएर छानबिनको माग गरेकी छन् । वर्षाका पति मोहन नवलपरासीस्थित आफन्तकोमा रहेको जानकारी आएकाले उनलाई ल्याएर थप अनुसन्धान अघि बढाउने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

परिवारका अनुसार वर्षाले दुई सन्तानसहित मोहनसँग बिहे गरेकी हुन् । आफू टुहुरी र अविवाहित भएको भन्दै झुक्याएर बिहे गरेको मोहनको परिवारको आरोप छ ।

पछि विवाहित र दुई सन्तानकी आमा भएको थाहा भएपछि उनीहरूबीच असमझदारी र बेमेल उत्पन्न भएको थियो । नवलपरासी बर्दघाट माइत भएकी वर्षाले कपिलवस्तु बांणगंगाका पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद समेत गरेकी थिइनन् ।

दुई सन्तानलाई माइत राखेर उनी कपिलवस्तुमा एक्लै बस्दै गर्दा मोहनसँग सामाजिक सञ्जालमार्फत चिनजान भएर विवाह भएको थियो । आपसी असमझदारीपछि उनीहरुबीच सम्बन्ध विच्छेद गर्ने विषयमा सहमति नजिक पुगे पनि वकिलहरूका कारण हुन नसकेको परिवारको आरोप छ ।

‘राजनीतिकरण भयो’

आफ्नो नाम समेत जोडेर वर्षाले दिएको उजुरीलाई तिलोत्तमा नगरपालिकाकी उपमेयर चौधरीले आफूविरुद्ध ‘राजनीतिकरण’ गरिएको प्रतिक्रिया दिइन् ।

‘घरमा छोरा बुहारीबीच कुनै असमझदारी, झैझगडा हुन सक्छन्, त्यसमा सासू ससुराले नै अह्राएर गरे जसरी नाम जोडेर राजनीतिकरण गरिएको छ’ उपमेयर चौधरीले भनिन्, ‘आफ्नै छोरा बुहारीमाथि हिंसा र अन्याय होस् भन्ने कुनै सासू ससुराले सोच्न सक्दैनन् तर यहाँ राजनीतिक प्रतिशोधले घटनालाई अघि बढाइएको छ ।’

आफूले यस विषयमा छुट्टै पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने चौधरीले बताइन् । इलाका प्रहरी कार्यालय मंगलापुरमा घरेलु हिंसा भयो भनेर उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गराउने प्रचलित मान्यताविपरीत त्यसो नगराई अर्को दिन इलाका प्रहरी कार्यालय बुटवलमा अर्कै आरोपमा आफ्नो नाम जोडेर उजुरी गर्नु नियोजित भएको उनको भनाइ छ ।

तिलोत्तमाको नगर सभामा उत्पन्न विवादपछि भएका घटनाक्रममा डीएसपी ठगबहादुर केसीले वडाअध्यक्षलाई पौडी पोखरीमा धकेलेका र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले उपस्थित नगर सभा सदस्यलाई हाजिर नगराई गणपुरक संख्या नपुगेको फर्जी कुरा गरेर बैठक स्थगित गरेपछि केसी र ज्ञवालीलाई एमालेले कारबाहीको माग गरेकाले त्यसको बदला लिन यो प्रकरण आएको चौधरीको आरोप छ ।

  • Online khabar.com