अध्यक्ष पदमा चुनाव हारेपछी कमल थापाले लगाए पूर्व राजा शाहलाई यस्तो आरोप
मंसिर १९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। लिङ्देनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका हुन्।
राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।
अध्यक्षमा पराजित भएपछि ट्वीट गर्दै अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने बताएका छन्। ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना,’ थापाले भनेका छन्।
उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप पनि लगाएका छन्। ‘प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्।
उनले ट्वीटमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो भनेका छन्। तर उनले मेन्सन गरेको ट्वीटर ह्यान्डल पूर्वराजाले चलाउँछन् या चलाउँदैनन् भन्ने यकिन भने छैन।
‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले भनेका छन्, ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’
त्यस्तै अध्यक्षमा कमल थापाले चुनाव हारे पनि पदाधिकारीमा भने थापापक्षका अधिकांश उम्मेदवार विजयी भएको निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए।
केही बेरअघि घोषणा भएको निर्वाचनको परिणाममा अध्यक्षमा हारे पनि उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधरकै अधिकांश उम्मेदवार विजयी भएका छन्।
राप्रपामा चार उपाध्यक्षमध्ये तीन जना कमल थापा समूहका विजयी भए। दुबै प्यानलमा समेटिएका विक्रम पाण्डे सर्वाधिक २५२१ मत पाए। थापा प्यानलबाटै उठेका बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान उपाध्यक्षमा विजयी भए। तामाङले १९४४ मत ल्याउँदा प्रधानले १८१४ मत ल्याएर विजयी भए।
महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १५८९ भोट ल्याएर विजयी भइन्।
यस्तै तीन महामन्त्रीको प्रतिस्पर्धामा लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भए। बाँकी दुई जना कमल थापा समूहका विजयी भए। थापा पक्षका भुवन पाठक १७०५ भोट ल्याएर विजयी हुँदा महिला महामन्त्रीतर्फ थापा समूहकै कुन्तीकुमारी शाही विजयी भइन्।
उनले २००८ मत ल्याइन्। महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर पराजित भइन्।
राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो। सात सह-महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।
राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ६५ जनाले मतदान गरेका थिए। ४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५१४ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ।
प्रतिकृया दिनुहोस्