July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार
कर्णालीमा सत्ता परिवर्तनको संकेत, मुख्य न्यायाधिवक्ता खनालले दिए राजीनामा

कर्णालीमा सत्ता परिवर्तनको संकेत, मुख्य न्यायाधिवक्ता खनालले दिए राजीनामा

कार्तिक ११, सुर्खेत । कर्णाली प्रदेशको राजनीतिक माहौल यतिबेला तरङ्गित बनेको छ । प्रदेश सरकार फेरबदलको चर्चादेखि लिएर सत्तारुढ गठबन्धन नै संकटमा पर्नेसम्मका आँकलन भइरहेको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको भन्दै अब आफूले मुख्यमन्त्री पद पाउनुपर्ने अडान लिएको छ । माओवादी केन्द्रले भने केन्द्रीय गठबन्धनको निर्देशनअनुसार नै अघि बढ्ने अडान लिएको छ ।

योसँगै नेकपा एकीकृत समाजवादीका तीन जना मन्त्री सरकारबाट बाहिरिने समय पनि नजिकिएको छ । प्रदेशसभा सदस्य पद गुमाएका उनीहरू यो अवस्थामा संविधानतः ६ महिनासम्म मात्र सरकारमा सामेल रहन पाउँछन् । यही बीचमा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले राजीनामा दिएका छन् । प्रदेशको राजनीतिक ‘जुहारी’कै बीचमा उनको राजीनामालाई लिएर विभिन्न टिका–टिप्पणी भएका छन् ।

कार्तिक १५ मा सरकार परिवर्तन हुने चर्चा चलिरहेको समयमा त्यसअघि नै उनको एक्कासि राजीनामा आउनुलाई कतिपयले राजनीतिक ‘इफेक्ट’ का रूपमा बुझेका छन् । खनाल भने ‘उहाँहरूको’ सहजताका लागि आफूले पद छाडेको बताउँछन् । तर उनले ‘उहाँहरू’ भनेर कसलाई लक्षित गरेको हो भन्नेचाहिँ खुलाएनन् । उनले काम गर्ने वातावरण सहज नभएको पनि बताए । ‘मलाई उहाँहरूले आवश्यक ठानेर नै बोलाउनु भएको होला १ मलाई कुनै पार्टीले सिफारिस गरेको पनि होइन,’ उनले भने, ‘म काठमाडौँमा थिएँ, आफ्नै ठाउँमा भनेर आइयो । यो पोलिटिक्स उथल–पुथल हुने, चेन्जिङका कुराहरू पनि आइराख्ने हुँदा दिगोजस्तो लागेन ।’

आज छाडे पनि, भोलि छाडे पनि छाड्नै पर्ने हुनाले अनुकूल समयमा आफूले पद छाडिदिएको उनको भनाइ छ । उनले काम गर्ने ‘इनरजेटिभ’ व्यक्तिहरूलाई कर्णालीमा वातावरण नै नभएको बताए । ‘आफ्नो स्वाभिमानलाई जोगाएर काम गर्न गाह्रो छ, केही गर्न खोज्यो भने उहाँहरूलाई राजनीति कसरी सल्टाउने, पद कसरी जोगाउने भन्ने छ,’ उनले भने, ‘मलाई पदका लागि मरिहत्ते गरेर समय खेर फाल्नुभन्दा छाड्नु नै ठिक लागेर राजीनामा दिएको हो ।’

उनले आफू प्रगतिशील विचार राख्ने मान्छे भएको पनि बताए । कानुनी रूपमा आफूसँग सोध्नुपर्ने, सल्लाह गर्ने कुरामा समेत कसैले वास्ता नगरेको उनको भनाइ छ । उनले अगाडि भने, ‘त्यसैले म त्यहाँ बस्नुको कुनै औचित्य छैन नि ।’

आफूले यो कार्यकालमा केही महत्त्वपूर्ण काम गरेको उनको दाबी छ । यद्यपि त्यसको श्रेय व्यक्तिगत रूपमा आफूलाई मात्र नजाने उनले बताए । उनले भने, ‘उहाँहरूको पार्टीको पछि, व्यक्तिको पछिपछि लागेर भनेबमोजिम गरेको भए हुन्थ्यो होला, मचाहिँ त्यस्तो खालको मान्छे होइन ।’

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज