January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
कर्णाली उत्सव : कुडा कर्णालीका , फागुन दोस्रो साता देखि

कर्णाली उत्सव : कुडा कर्णालीका , फागुन दोस्रो साता देखि

‘कुडा कर्णालीका’ मूल नाराका साथ कर्णाली प्रदेशमा कर्णाली उत्सव हुने भएको छ ।

कर्णालीलाई बहसमार्फत देशभर चिनाउने उद्देश्यले कर्णालीमै पहिलोपटक उत्सव कार्यक्रम आयोजना हुन लागेको हो ।

कार्यक्रमको आयोजना सुर्खेतस्थित ऋति फाउन्डेसनले गर्न लागेको हो । ३ दिनसम्म सञ्चालन हुने कार्यक्रम फागुन दोस्रो साता सञ्चालन गरिने ऋति फाउन्डेसनका संस्थापक सदस्य रेशम बिष्टले बताए ।

उनका अनुसार कर्णाली प्रदेशका राजनीतिक, आर्थिक, सामाजिक, कला, साहित्य, दर्शन लगायतका विभिन्न विधामा विमर्श र बहस गरिने कार्यक्रममा कर्णालीमै रहेका, कर्णालीकै वासिन्दा, कर्णालीभन्दा बाहिर रहेका कर्णालीलाई राम्रोसँग बुझेका बौद्धिक व्यक्तित्वको सहभागिता रहने छ ।

चर्चित लेखक, साहित्यकार, बौद्धिक वर्ग तथा हजारौ साहित्यअनुरागी बिच जमघट र बहस गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

फागुन दोस्रो साता देशकै ध्यान कर्णालीमा केन्द्रित गर्ने आयोजक संस्था ऋति फाउन्डेसनका संस्थापक अध्यक्ष कमलराज लम्सालले बताए । ‘उत्सवले कर्णालीको वास्तविकताबारे बहसका साथै यहाँको सामाजिक चिन्तन, आर्थिक सम्भावनाको खोजी, पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउँछ,’ उनले भने, ‘कर्णालीबारे वास्तविकतालाई बाहिर ल्याउनुका साथै देशकै ध्यान कर्णालीमा तान्न हामिले यो उत्सवको आयोजना गर्दै छौं ।’

कर्णाली उत्सव तयारी समूहका सल्लाहकार तथा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले उत्सवले कर्णालीलाई चिनाउन थप सहयोग गर्ने बताए । लेखक माधव चौलागाईले कर्णालीप्रतिको गलत मानसिकतालाई सकरात्मक बनाउन उत्सव आवश्यक रहेको बताए ।